संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान जारी गर्न ऐतिहासिक दोस्रो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेम्वाङलाई लोकतन्त्रको साँचो अनुयायीको रूपमा स्मरण गरे।
प्रधानमन्त्री ओलीले दोस्रो संविधानसभा सफल बनाउन र संविधान जारी गर्न नेम्वाङले पदीय मात्र होइन, वैचारिक रूपमा पनि अतुलनीय योगदान गरेको उल्लेख गर्दै, नेम्वाङको यो योगदान देशले सधैं सम्झिरहने बताए। उनले भने, “नेम्वाङ योग्य कानुनविद्, संविधानविद् र लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो। उहाँको निधनले परिवार र पार्टीलाई मात्र होइन, देशले एक जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ।”
आरके समूह सर्वोच्चमा, केसी र घले विपक्षी
प्रधानमन्त्री ओलीले नेम्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्दै, यस्ता प्रतिष्ठानहरू नेताहरूका विचार, आदर्श, र आचरणअनुसार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले नेम्वाङले देखाएका आदर्श र उद्देश्यलाई साकार पार्ने प्रतिबद्धता जनाउँदै श्रद्धाञ्जली व्यक्त गरे।