अमेरिकामा नेपथ्यको सो हेर्न १८ घण्टाको ड्राइभ,बन्यो क्रिकेट पछि नेपाली जोड्ने थलो
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ सेप्टेम्बर सात तारिख साँझ नेपथ्यमा घाम डुब्दै थियो। यता ह्यारिसबर्गमा भने मान्छेहरू नेपथ्यकै पर्खाइमा थिए। नेपालको चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्यलाई प्रत्यक्ष हेर्न उनीहरू लाइन लाग्दै थिए।
दि फोरम अडिटरिमय आफैमा ऐतिहासिक भवन हो। त्यहाँ अर्को इतिहास कोरिँदै थियो। ह्यारिसबर्षमा नेपाली र नेपाली भाषी भुटानी समुदायमा आयोजना हुँदै आएको कुनै पनि सांङ्गितिक कार्यक्रममा सर्वाधिक दर्शक उपस्थितिको।
ठ्याक्कै तथ्याङ्क छैन तर ह्यारिसबर्ग आसपास गरी ५० हजार भन्दा धेरै नेपाली भाषा बोल्नेहरूको बसोबास छ । त्यसमा नेपाली भाषी भुटानीहरूको बाहुल्यता छ।
ह्यारिसबर्गमा हुने कार्यक्रममा प्रायशः आयोजकहरू दर्शक कुरी रहेका हुन्छन्। तर नेपथ्यका लागि भने दर्शकहरू साँढे दुई घण्टा अगाडि देखि लाइनमा थिए। लामबद्ध मान्छेहरू आश्चर्यजनक रूपमा निकै लामो दुरीबाट ड्राइभ गरेर आएको भेटिन्थे। तीनै दर्शकको लाइनमा भिआइपी तर्फको सबै भन्दा अगाडि एक जना मेडिकल डाक्टर सन्तोष नेपाल पनि थिए। जो काठमाडौँका हुन र अहिले युपीएमसी अस्पताल ह्यारिसबर्गमा कार्यरत छन्। सन् २००४ मा पाल्पामा नेपथ्यको सो प्रत्यक्ष हेरेका डा. सन्तोष दोस्रो पटक सो अवसरका लागि उत्साहित थिए र दुई घण्टा लाइनमा उभिए।
लाइनमा यस्ता व्यक्ति थिए जो पहिलो पटक नेपथ्यको नजिक पुग्दै थिए। केहीले अमेरिकामा नै दोस्रो पटक नेपथ्यको कार्यक्रममा उपस्थित हुँदै गरेको बताइरहेका थिए। रोचक कुरा १८ घण्टा सम्म ड्राइभर गरेका मान्छेहरू लाइनमा भेटिएका थिए।
मिनेस्टोटा, न्यु योर्क, भर्मण, मेरिल्यान्ड, नर्थ क्यारोलाइना, भर्जिनिया, ओहायो लगायतका राज्यबाट पनि दर्शकहरू ह्यारिसबर्गमा ओइरिएका थिए। टिकट मूल्य पनि ७० देखि ९० अमेरिकी डलर तोकिएको थियो।
सुरक्षाकर्मीहरूको व्यस्तता पनि बढेकै थियो। महिला र पुरुष दुई लाइनमा बनाएर उनीहरू चेकजाँच पछि भित्र पठाउँदै थिए। आयोजनलाई टिकट निरीक्षण गर्न भ्याइन भ्याइ थियो। दर्शक लाइनमा नै थिए, घडीले आठ बजायो, मुख्य गायक अमृत गुरुङ सहित नेपथ्यको टोली स्टेज चढ्यो।
दशकौँ अमेरिका बसेकाहरूलाई नेपथ्यले समयको महत्त्व सम्झायो, भनेकै समयमा कार्यक्रम शुरु भयो।
गायक अमृत आफ्नो ट्रेडमार्क पोसाकमा थिए। निलो जिन्स पाइन्ट र ज्याकेट। यस पटक उनले आकाशे रङको टी सर्ट लगाएका थिए।
सुरुवात देखि नै दर्शकहरू झुम्दै थिए। अमृत गुरुङ आफ्नै शैलीमा दर्शकलाई रोमाञ्चित बनाउँदै गए। भरिभराउ हलमा हरेक दर्शकले प्रत्येक गीतमा प्रतिक्रिया दिइरहेका हुन्थे।
एउटा गीत गाए पछि अर्को गीत शुरु गर्नु अगाडि गायक अमृत दर्शकलाई सन्देश मूलक अपिल गरिरहेका हुन्थे। उनी बेला बेलामा दर्शकलाई नेपालका गाउँघर तिर पुर्याउथे। हिमालको कुरा गर्थे, पढ्न नपाएकाहरूलाई पढाउनु है धर्म हुन्छ भन्थे। नेपालमा भ्रष्ट्राचार बढिरहेको मा पनि उनको चिन्ता र आक्रोश थियो।
अमृतले आफ्ना नयाँ पुराना दुवै थरिका गीत गाए। तीन दशक देखि नेपाली सङ्गीतमा एक छत्र राज गर्दै आएको जोमसोमे बजारमा… छेक्यो छेक्यो … भेडाको उन जस्तो … सबै गीत उनले गाए, अरू पनि गाए। अमृतका हरेक गीतमा नयाँ र पुरानो पुस्ता समान रूपमा रोमाञ्चित देखिन्थे।
नेपालको झन्डा बोकेर आएका दर्शक प्रशस्त भेटिन्थे। अमेरिकामा क्रिकेट पछि दर्शकलाई जोडेको थियो भने त्यो नेपथ्य नै थियो।
दर्शकहरूले बल्ल वाम अप भएको ठान्दै थिए। घडीले दश बजायो। दर्शकलाई लागेको थियो बल्ल त मज्जा आइरहेको छ। तर समय भनेको समय नै हो फेरि नेपथ्यले अर्को सन्देश दियो। सबै दर्शकलाई अभिनन्द गर्दै गायक अमृत सहित उनका टिमका सदस्य नेपथ्य तर्फ लाग्यो।
कलाकारले स्टेज छोड्दा पनि दर्शकहरूले आफ्नो सिट छोडेका थिएनन्। सुरक्षाकर्मीले अब सकियो बाहिर जानुस् भन्नु परेको थियो।
ह्यारिसबर्ष नेपाली, नेपाली भाषी भुटानी समुदायमा हुने कार्यक्रम पछि झैँ झगडा हुने भन्दै आयोजक धेरै नै चिन्तित हुन्छन्। तर यस पटक आयोजकले त्यो तनाव लिन परेन।
यसै बिच नेपाली भाषी भुटानी समुदायको चर्चित साङ्गीतिक ब्यान्ड ‘युफोरिया’का संस्थापक ह्यारिसबर्ग निवासी रत्न गुरुङले नेपथ्यको कार्यक्रमलाई ऐतिहासिकको संज्ञा दिए।
‘म आफै सङ्गीतकर्मी हुँ मेरा लागि पनि यो दुर्लभ क्षण हो’ श्रीमती सहित कार्यक्रम हेर्न आएका रत्नले भने।
यसै गरी चलचित्र निर्माता तथा कार्यक्रम व्यवस्थापक ह्यारिसबर्ग निवासी पर्शु अधिकारीले कार्यक्रममा दर्शकको उपस्थिति ह्यारिसबर्गकै रेकर्ड ब्रेक भएको बताए।
‘हामी लामो समय देखि ह्यारिसबर्गमा कार्यक्रम गर्दै आएका छौ यसरी यो संख्यामा दर्शक आएको यो पहिलो हो।’ समाज टाइम्स सँग अधिकारीले भने।
हलको क्षमता १८ सयको रहेको थियो। स्थानीय आयोजक एसएन इन्टरनेन्टमेन्टका अनुसार १५ सय भन्दा बढी टिकट बिक्री भएको थियो।
अधिकारीले हलका कारण अझै धेरै दर्शक अटाउन नसकेको धारणा राखे। उनले नेपथ्यका लागि दि फोरम अडिटरियम उपयुक्त नभएको पनि बताए।
‘टिकट महँगो हुँदा हुँदै पनि मान्छे टाढा टाढाबाट पनि आए तर जुन ठाउँमा कार्यक्रम गरियो त्यो नेपथ्यका लागि सुहाउने हल थिए।’ अधिकारीले भने, दि फोरम अडिटरिमय भनेको कुर्चीमा बसेर नारायण गोपाल शैलीका गीतहरू सुन्ने ठाउँ हो, नेपथ्यमा आउने दर्शक गाउँदै नाच्न खोज्छन्।’