अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग नेपाल पराजित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेलेको अभ्यास खेलमा हार बेहोरेको छ। श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई ५ विकेटले पराजित गर्दै खेल जितेको हो।
नेपालले दिएको १६० रनको लक्ष्य पछ्याउँदै श्रीलंका डेभलपमेन्ट टिमले २६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। यसअघि नेपालले पहिलो ब्याटिंग गर्दै ४० ओभरमा १५९ रन बनाएर अल आउट भएको थियो।
यस खेलमा नेपालका लागि सोमपाल कामीले कप्तानी गरेका थिए।
नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीको लागि श्रीलंकामा अभ्यास खेल खेल्न गएको थियो। तर, यस अघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल मौसमका कारण रद्ध भएका थिए।
नेपालले श्रीलंकामा अभ्यास गर्न १९ सदस्यीय टोली पठाएको छ, जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी, र सन्दीप लामिछाने रहेका छन्।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ।