बंगलादेशमा हसिनाविरुद्ध अहिलेसम्म ९४ मुद्दा दर्ता
काठमाडौँ। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता गरिएको छ। यससँगै उनका विरुद्धका मुद्दाको संख्या ९४ पुगेको छ।
बंगलादेशी मिडियाहरूका अनुसार, यी मुद्दाहरू मध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूका परिवारले दायर गरेका हुन्।
सबैभन्दा पछिल्लो घटनामा, जुलाई १९ मा ढाकामा एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ जनाविरुद्ध बुधबार मुद्दा दर्ता गरिएको हो।
यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिर लगायतका पार्टीका नेताहरू र कार्यकर्ताहरूलाई पनि आरोपी बनाइएको छ।
देशमा विद्यार्थी आन्दोलन र विरोध प्रदर्शन चर्किएपछि सुरक्षा चुनौतिका कारण हसिनाले अगस्त ५ मा पदबाट राजीनामा दिएकी थिइन्।
उनी अहिले भारतमा आश्रय लिइरहेकी छन्।