सिकार खेल्न ढोरपाटनको टेण्डर खुल्यो
काठमाडौं। यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षणले टेण्डर खुलाएको छ। आगामी असोजदेखि सुरू हुने सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्न चाहने सिकारीका लागि टेण्डर खुलाएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, पहिलो सिजनका लागि १२ वटा नाउर, आठ वटा झारल र ११ वटा बँदेल सिकार गर्नको लागि टेण्डर खुलाइएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए।
टेण्डरको म्याद १५ दिनको रहनेछ र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि सिकार सुरू हुने उनको भनाइ छ।
सिकार महँगो र साहसिक हुने हुँदा धेरैजसो विदेशी सिकारीहरू ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउने गरेका छन्। टेण्डर प्राप्त गर्ने संस्थाले नेपाली र विदेशी सिकारीलाई ढोरपाटन ल्याउने जिम्मा हुनेछ, प्रमुख कँडेलले बताए।
ढोरपाटनमा प्रत्येक वर्षको पहिलो सिजन असोज–मङ्सिर र दोस्रो सिजन फागुन–वैशाखमा सिकार याम सुरु हुन्छ। गत वर्ष सिकार आरक्षणबाट रु चार करोड ४८ लाख १५ हजारको राजस्व सङ्कलन भएको थियो।
सिकार आरक्षण क्षेत्र बागलुङ, पूर्वी रुकुम र म्याग्दी गरी तीन जिल्लामा फैलिएको छ। यसलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ, र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरिएको छ।
यो आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छ, जसमध्ये नाउर, झारल, थार र हिमाली भालु रहेका छन्। साथै, यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरा लगायत एक सय ६४ प्रजातिका चरा पाइन्छन्।
-फाइल तस्वीर