नेकपा एमालेले तेस्रो चरणको कार्यक्रम तय गर्दै
काठमाडौं। नेकपा एमालेले आगामी चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएर तेस्रो चरणको कार्यक्रममाथि छलफल थालेको छ। केन्द्रीय कार्यालय र सचिवालयबाट पारित तेस्रो चरणको प्रस्ताव पोलिटब्यूरोमा पेश गरिएको छ। महासचिव शंकर पोखरेलले मंगलबार च्यासलस्थित केन्द्रीय मुख्यालयमा सुरु भएको पोलिटब्यूरो बैठकमा ३३ पृष्ठ लामो वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन्।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणः वार्षिक कार्ययोजना’ शीर्षकको यो प्रस्ताव ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’को अनुभवमा आधारित छ। प्रस्तावमा आगामी चुनाव ०८४ मा एमालेलाई पहिलो र बलियो शक्ति बनाउने उद्देश्य राखिएको छ।
प्रस्तावमा आगामी वर्ष १० लाख पार्टी सदस्य बनाउनका लागि सदस्यता अभियानलाई प्राथमिकता दिइएको छ। सदस्यता वितरणका क्रममा ३३ प्रतिशत महिलाको लक्ष्य पूरा गर्न र नयाँ सदस्यलाई पार्टीको विचारबाट प्रशिक्षित गर्न प्रस्ताव गरिएको छ।
नियमित अधिवेशन र भूमिकाविहीनलाई जिम्मेवारी दिने बारेमा पनि प्रस्ताव गरिएको छ। पार्टीको मूल्यांकन प्रणाली, संस्थागत निर्णय, प्रशिक्षित कार्यकर्ता निर्माण, सरकार र जनप्रतिनिधिको परिचालन, प्रचार व्यवस्थापन, र नयाँ कार्य क्षेत्रको खोजी लगायतका प्रस्ताव राखिएका छन्।
पार्टीको कोष बलियो बनाउने र प्रभावकारी परिचालनका लागि योजना बनाइएको छ। यसैगरी, पार्टी नेतृत्व र कार्यकर्ताको जीवनशैलीमा सुधार ल्याउने र सरल जीवनशैलीलाई प्रोत्साहन गर्ने प्रस्ताव पनि गरिएको छ।
प्रस्तावमा ७५ औं हिरक महोत्सवका बाँकी काम पूरा गर्ने र पार्टी कार्यालय भवन निर्माण गर्ने योजनाबारे पनि उल्लेख गरिएको छ।