एमालेले पनि अबदेखि चुनावी गठबन्धन नगर्ने
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेका छन्। मंगलबारदेखि सुरु भएको एमाले पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससित सरकारमा सहकार्य भए पनि आगामी चुनावमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्।
ओलीले पार्टीले एकल बहुमत ल्याउने लक्ष्यसहित ‘मिसन ०८४’ को घोषणा गरेको उल्लेख गर्दै, सोहीअनुसार कार्ययोजना बनाउन निर्देशन दिए। उनले भने, “अहिले कांग्रेससित सत्ता सहकार्य भए पनि आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर प्रमुख राष्ट्रिय शक्ति बन्नेछ।”
सोमबार मात्र कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको थियो। कांग्रेसले आफ्नो संगठनलाई सुदृढ गर्दै एक्लै बहुमत ल्याउन सक्षम पार्टीका रूपमा पुनःस्थापित हुने उद्देश्य लिएको छ।
एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले एमालेको ‘मिसन ०८४’ को उद्देश्य एकल बहुमत ल्याउने रहेको बताए। उनले भने, “कांग्रेससित सत्ता सहकार्य भए पनि निर्वाचनमा आ–आफ्नो नीति लिएर प्रतिस्पर्धा गर्नेछौं।”
गत आमनिर्वाचनमा कांग्रेस, माओवादी, एस र जसपाबीच गठबन्धन भएको थियो भने एमाले, राप्रपाबीच केही स्थानमा सहकार्य भएको थियो। तर, आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एक्लाएक्लै लड्ने घोषणा गरेका छन्।
बैठकमा ओलीले गठबन्धन सरकार ०८४ को आमनिर्वाचनसम्म तलमाथि नहुने र कांग्रेस–एमालेबीचको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताए। उनले प्रतिपक्ष माओवादीका नेताहरूले गठबन्धनप्रति प्रश्न उठाइरहेको उल्लेख गर्दै सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको तर सरकार सचेततापूर्वक काम गरिरहेको बताए।
ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसद्भित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै त्यसको प्रतिवाद गर्न आवश्यक रहेको बताए। दाहालले आफूमाथि लगाएको आरोप कुण्ठाग्रस्त भएको उनले बताए।
बैठकमा मुलुकमा अराजकता फैलाउने प्रयास भइरहेको र त्यसको कारणबारे पनि छलफल भएको थियो। बैठकमा महासचिव शंकर पोखरेलले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण कार्ययोजना’ प्रस्तुत गरेका छन्। पोलिटब्युरो सदस्यहरूले सुझाव दिएपछि कार्ययोजना पारित गरिने छ।