एनसेलको लाइसेन्स नवीकरणमाथि प्रभु साहको आपत्ति
काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एनसेलको लाइसेन्स नवीकरणको निर्णयमा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एनसेलसँग के कनेक्शन छ भनेर प्रश्न गरेका छन्।
साहले उक्त निर्णयलाई कानूनविपरीत बताउँदै सरकारको निर्णयमा असन्तोष प्रकट गरे। उनले भने, “कानूनविपरीत एनसेलको लाइसेन्स नवीकरण गरिएको छ। करदाता कार्यालयले तोकेको राजस्व नलिईकन सरकारले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गर्यो। यही भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले किस्ताबन्दीमा राजस्व लिनेगरि लाइसेन्स नवीकरण गर्ने निर्णय गर्यो। यो पहिलो होइन, यो तेस्रोपटक किस्ताबन्दीमा नवीकरण गर्ने निर्णय गरिएको छ।”
साहले एनसेलको नवीकरणले अरबौं रुपैयाँको राजस्व हिनामिना गरिरहेको आरोप लगाए। उनले प्रश्न उठाए, “के आधारमा र कुन कानूनअन्तर्गत रहेर यो नवीकरण गरियो? प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्शन छ? हामी जान्न चाहन्छौं। ठूलाबडाहरुलाई एउटा कानून लाग्ने अनि सानालाई अर्को कानून लाग्ने हुन्छ? आम जनताले आफ्नो व्यवसायिक फर्मलाई नवीकरण गर्नुपर्दा के उसले राजस्व छुट पाउँछ? सानाले त नवीकरण गर्दा ढिला भए जरिवाना तिर्नुपर्छ। यो प्रवृत्तिले राजस्व संकलनभन्दा पनि व्यक्ति मोटाउने कुरा हामीले हेरिरहेका छौं।”
उनले एनसेलले अरबौं रुपैयाँ राजस्व रोक्का राखेको र सरकारलाई नबुझाएको पनि स्मरण गराए। “यदि त्यो पैसा उठेन भने वा ती विदेशी लगानीकर्ता भाग्यो भने राजस्व कसले दिने? प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ कि पर्दैन? अहिलेका मन्त्रिपरिषद्का मौजुदा मन्त्रीहरू यसको जमानत बस्नुपर्छ कि पर्दैन?” साहले प्रश्न गरे।