युवावर्ष मोती पुरस्कार केदार श्रेष्ठलाई अर्पण
काठमाडौं। १५९ औं मोती जयन्तीको अवसरमा २०८१ को ‘युवावर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार र रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिएको छ। यो पुरस्कार ४० हजार रुपैयाँ र सम्मानपत्रसहित प्रा.डा. माधवप्रसाद पोखरेलको हातबाट श्रेष्ठलाई प्रदान गरिएको हो।
नेपाली भाषा, कला, साहित्य, र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएका श्रेष्ठलाई यो पुरस्कार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार प्रदान गरिएको हो। धादिङका श्रेष्ठलाई बालसाहित्य र रङ्गमञ्चमा गरेको योगदानको मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार ग्रहणपछि, केदार श्रेष्ठले भावनात्मक र विचारमूलक मन्तव्य व्यक्त गरे। उनले नेपाली बालबालिका र बालसाहित्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै परम्परागत सोचलाई परिमार्जन गर्दै ‘सानालाई आदर, ठूलालाई माया’ भन्ने मूल्यलाई जोड दिएका छन्।
रङ्गमञ्चको विषयमा टिप्पणी गर्दै, श्रेष्ठले रंगमञ्चलाई नाटकको मात्र नभई समग्र साहित्यमा दृश्य साहित्यको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रश्न उठाए, “रङ्गमञ्चलाई नाटकको मात्र नभई समग्र साहित्यमा दृश्य साहित्यको रुपमा किन हाम्रा मागजहरुमा स्थापित भएका छैनन्?” उनले यो विषयमा साहित्यकर्मी र रंगकर्मीहरूको उत्तरदायित्व र भूमिका समेत स्पष्ट गर्नुपर्नेमा जोड दिए।
केदार श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक र चलचित्र लेखन र निर्देशनमा सक्रिय छन्। उनी समकालीन कला र साहित्य क्षेत्रमा प्रतिबद्ध युवा रङ्गकर्मी र चलचित्रकर्मीको रूपमा परिचित छन्।
कार्यक्रममा, राष्ट्रिय युवा सेवा कोषका सचिव डा. विष्णुबहादुर भण्डारीले केदार श्रेष्ठको योगदान र पुरस्कारको महत्त्व बारे चर्चा गरेका थिए। प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले मोतीराम भट्टको योगदान र युवावर्ष मोती पुरस्कारको गरिमा बारे बोलेका थिए। समारोहका सभापति नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्माले मोतीजयन्ती परम्परालाई ७० वर्षदेखि निरन्तरता दिइरहेको उल्लेख गरे।
यो पुरस्कार, नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिन्छ र यो मोतीराम भट्टको सम्झनामा विं.सं. २०४२ मा स्थापना गरिएको हो। ४० वर्ष ननाघेका युवा सर्जकलाई प्रदान गरिने यो पुरस्कार सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो।
मोती जयन्ती र कुशे औंसीको अवसरमा आयोजित लेखनाथ साहित्य सदनको कार्यक्रममा दिवंगत लेखक र साहित्यकारहरूको पनि सम्झना गरिएको थियो। साथै, मोतीराम भट्टले थालनी गरेको समस्यापूर्ति कविता लेखनलाई निरन्तरता दिँदै कवि गोष्ठि समेत गरिएको थियो।