टानको नतिजाले प्रचण्ड उत्साहित
काठमाडाैं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन्। माओवादी केन्द्रका निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन्।
पाण्डेले ५८० मत प्राप्त गरी विजयी भएकोमा सापकोटाले ४८० मत प्राप्त गरे। कांग्रेससँग असन्तुष्ट खेमाले पाण्डेलाई समर्थन गरेका थिए।
पाण्डेको जितसँगै टानको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत प्राप्त गरे।
प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी भएका छन्। अर्का प्रत्यासी दावा लामा (तामाङ)ले ५१० मत प्राप्त गरे।
द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत प्राप्त गरे।
महासचिव पदमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। उनले अर्का उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीलाई ५६ मत अन्तरले हराए। शेर्पाले ५५० मत प्राप्त गरे भने सुवेदीले ४९४ मत प्राप्त गरे।
सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन्।
महिला सदस्यमा पवित्रा तामाङ र खुला सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, विनोद कुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा, र राजु गुरुङ विजयी भएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सागर पाण्डे र अन्य विजयी सदस्यहरूलाई बधाई दिएका छन्। प्रचण्डले सामाजिक सञ्जालमा पोष्ट गर्दै भने, “तपाईंहरूको अथक मेहनत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ दिएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।”