आइसीसीको अध्यक्षमा जय शाह निर्विरोध
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन् । शाह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव हुन् । आइसीसीको अध्यक्ष भएसँगै अब शाहले बीसीसीआइको सचिवको जिम्मेवारी त्याग्ने छन् ।
अक्टोबर २०१९ देखि बीसीसीआईको जिम्मेवारीमा रहेका शाहले डिसेम्बर १, २०२४ देखि आईसीसी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। वर्तमान अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर 30 मा समाप्त हुने छ । अध्यक्ष पदका लागि मंगलबार २७ अगस्ट सम्म उम्मेदवारी दर्ताको समय थियो । अध्यक्ष पदमा शाहको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
आईसीसीको अध्यक्षमा निर्वाचित भएपछि जय शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अझै बढाउने इच्छा व्यक्त गरेका छन् । आईसीसीको विज्ञप्तिमा शाहले आईसीसीको अध्यक्ष पदमा निर्वाचित हुन पाउँदा अभिभूत भएको बताए । म आईसीसी टोली र हाम्रा सदस्य राष्ट्रहरूसँग विश्वव्यापी क्रिकेटलाई अगाडि बढाउनका लागि काम गर्न प्रतिबद्ध छु। हामी एक महत्वपूर्ण मोडमा उभिएका छौं जहाँ बहुविध ढाँचाहरूको सह-अस्तित्वलाई सन्तुलनमा राख्न, नयाँ प्रविधिको प्रयोग गर्न र नयाँ विश्वव्यापी बजारहरूमा हाम्रा प्रमुख कार्यक्रमहरू परिचय गराउन धेरै महत्त्वपूर्ण भएको छ। हाम्रो लक्ष्य क्रिकेटलाई अझ लोकप्रिय बनाउने हो।
उनले भने, ‘हामीले धेरै कुरा सिकेका छौं, तर विश्वभर क्रिकेटलाई बढी रुचाउनका लागि हामीले थप सोच्नुपर्छ । लस एन्जलस ओलम्पिक २०२८ मा क्रिकेटको समावेशले क्रिकेट बढ्दै गएको देखाउँछ। मलाई विश्वास छ कि यसले खेललाई अभूतपूर्व तरिकाले अगाडि बढाउनेछ ।
जय शाह आईसीसी अध्यक्ष हुने पाँचौं भारतीय बनेका छन् । उनीभन्दा अघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहर रहेका थिए ।