चौथो साथी कप टी-२० क्रिकेट शनिवार देखि
बाल्टिमोर, अमेरिका/ चौथो साथी कप टी-२० क्रिकेट शनिवार देखि मेरिल्यान्डको बाल्टिमोरमा शुरु हुँदै छ।
साथी बाल्टिमोरको आयोजनामा हुने प्रतियोगिता सोमबार सम्म चल्ने छ।
साथी बाल्टिमोरका अध्यक्ष प्रवीण खड्काका अनुसार यस पटक प्रतियोगितामा १२ टिमले भाग लिने छन्। सहभागी टिमलाई चार समूहमा विभाजन गरी खेलाइने छ। समूह चरणका खेल लिगका आधारमा खेलाइने छ।
हरेक समूहका शीर्ष टिम सेमिफाइनलमा पुग्ने छन्। अध्यक्ष खड्काका अनुसार समूह चरणमा १२ खेल हुने छन्।
अध्यक्ष खड्काले यस पटकको प्रतियोगिता राष्ट्रिय क्रिकेट टिमको सम्मानमा हुने बताए। ‘हामी कुनै न कुनै कारण प्रतियोगिता आयोजना गर्दै आएका छौ, यस पटक राष्ट्रिय क्रिकेट टिमको सम्मानमा प्रतियोगिता गर्दै छौ।’ खड्काले भने, ‘गत वर्ष हामीले पूर्व कप्तान पारस खड्काको सम्मानमा प्रतियोगिता आयोजना गरेका थियौ।’
उनले बाल्टिमोरमा क्रिकेटको लोकप्रियता झल्काउन पनि प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए। ‘बाल्टिमोर क्रिकेट काउन्टीमा क्रिकेट मैदान बन्दै छ यसले क्रिकेटको लोकप्रियता प्रस्टाउँछ।’ समाज टाइम्स सँगको कुराकानीमा खड्काले भने।
उनले युवाहरूलाई जोड्न पनि प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए। ‘आठ टिमबाट शुरु गरेको प्रतियोगितामा १२ टिम पुगेको छ, गत वर्षको च्याम्पियन ह्यारिसबर्ग अहिले आफ्नो उपाधि रक्षा गर्न आइरहेको छ।’ खड्काले भने।
प्रतियोगिताको विजेताले ६ हजार र उप विजेताले तीन हजार डलर नगद पुरस्कार पाउने छन्।