अमेरिकामा नेपाली भाषी भुटानी समुदायमा नयाँ खेलकुद क्लब हिमालयन हक्स एफसी घोषणा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायमा नयाँ खेलकुद क्लब हिमालयन हक्स एफसी घोषणा गरिएको छ।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा बिहीबार एक कार्यक्रमका बिच हिमालयन हक्स एफसी घोषणा गरिएको हो।
भुटानी समुदायका पुराना चर्चित फुटबल खेलाडी मक्कर गुरुङको प्रमुख आतिथ्ययतामा डिस्काको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा हिमालयन हक्सको आकर्षक लोगो सार्वजनिक गरियो।
बेलायतबाट अमेरिका भ्रमणमा आएका मक्कर गुरुङ सहित सङ्गीतकर्मी तथा पुराना खेलाडी रत्न गुरुङ, भुट्निज कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला,भेट्रान फुटबलर केबी गुरुङले संयुक्त रूपमा हिमालयन हक्सको लोगोको अनावरण गरे।
कार्यक्रममा जनाइए अनुसार क्लबको कप्तानमा वीरेन गुरुङ रहेका छन्। वीरन गुरुङ र हरि लिम्बुको अग्रसरतामा ह्यारिसबर्गमा रहेका अन्य युवाहरूको संलग्नतामा क्लब स्थापना गरिएको जनाइएको छ। टिमको उप कप्तानमा दिल मगर रहेका छन्। हरि टिम कोअडिनेटर छन्।
क्लबको लोगो पनि कप्तान वीरेनले नै सृजना गरेका हुन्। उनले भुटानी गाउँ ठाउँ, हिमाल, नेपालको क्याम्पको स्मृति र अमेरिकाको वर्तमानलाई जोडेर लोगो डिजाइन गरिएको बताए।
‘हामीले हाम्रो अतीत पनि बिर्सनु हुँदैन, त्यो ठाउँबाट यो ठाउँमा आएका छौ, त्यसलाई रिफ्रेस लिएर अगाडि बढ्नु पर्छ भनेर लोगो डिजाइन गरेका हौ।’ लोगो डिजाइनबारे वीरेनले प्रस्टाए।
टिम कोअडिनेटर हरिका अनुसार क्लबले फुटबल बाहेक अन्य क्षेत्रमा पनि कार्य गर्ने छ।
‘खेलकुद मार्फत हाम्रा युवा र अभिभावकहरूका लागि थप स्रोतसाधनका मञ्च बन्न, हाम्रो समुदायलाई खुसी राख्न र उनीहरूलाई आवश्यक पर्ने सहयोगको विभिन्न स्तरहरू प्राप्त गर्न मद्दत गर्न हामीले क्लब स्थापना गरेका हौ।’ क्लब घोषणा कार्यक्रम सञ्चालन समेत गरेका टिम कोअडिनेटर हरि लिम्बुले भने।
खेलकुद मार्फत हाम्रा युवाहरूलाई शारीरिक र मानसिक रूपमा सक्रिय राख्ने, सामुदायिक गतिविधिहरूमा समर्थन र स्वयंसेवकको लागि तयार राख्न पनि क्लब स्थापना गरिएको जनाइएको छ।
यस्तै सामुदायिक कोष सङ्कलन कार्यक्रम, युवा जागरूकता गतिविधि, समुदायका युवा र अभिभावकहरूलाई स्थानीय रूपमा उपलब्ध विभिन्न स्रोतहरूसँग जोड्न मद्दत गर्ने लक्ष्य पनि क्लबले राखेको छ।
यस्तै नागरिकता, इएसएल कक्षा, ड्राइभिङ कक्षा र डियुआइ काउन्सिलसङ सहजकर्ताको रुपमा काम गर्ने तथा बहु-सामुदायिक सांस्कृतिक कार्यक्रमहरूको समयमा समुदायलाई मद्दत गर्ने उद्देश्य पनि क्लबको राखिएको छ।
ह्यारिसबर्गमा रहेको नेपाली भाषी भुटानी समुदायमा नयाँ खेलकुद क्लब आएकोमा समाजका अगुवाले खुसी व्यक्त गरेका छन्। साथै उनीहरूले निरन्तरताका लागि पनि जोड दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथि मगर गुरुङले क्लबको प्रगतिको शुभ कामना दिए। यस्तै डिस्काका प्रशिक्षक रन राईले क्लबलाई सहयोग गर्न तयार रहेको भन्दै शुभ कामना दिए।
एसियन रिफ्युज युनाइटेडका सह-कार्यकारी निर्देशक/सीईओ रविन गुरुङले क्लब सँग आफूहरू सहकार्य गर्न तयार रहेको बताए।
यस्तै भुटनीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले समुदायमा नयाँ क्लब आउनु सुखद भएको भन्दै त्यसको निरन्तरतामा जोड दिए। उनले बीसीएचको प्रयासमा पेन्सिल्भेनियामा नै पहिलो क्रिकेट पिच ह्यारिसबर्गमा बनाउन सफल भएको, भलिबल कोर्ट पनि बनाइएको भन्दै अब फुटबल मैदान बनाउनु पर्नेमा जोड दिए।
यस्तै भेट्रान्स फुटबलर केबी गुरुङ, मित्र घले,टिका गुरुङले क्लब स्थापनामा खुसी व्यक्त गर्दै शुभ कामना दिए।
यसै गरी सङ्गीतकर्मी तथा भेट्रान्स फुटबल खेलाडी रत्न गुरुङले ह्यारिसबर्गमा समुदायका लागि फुटबलको मैदान अत्यावश्यक रहेको बताए। उनले क्लब स्थापना भन्दा पनि निरन्तरतामा जोड दिए।
फ्लामिङ्गो ब्यान्डका म्यानेजर तथा सङ्गीतकर्मी गणेश गुरुङ क्लबलाई क्लब स्थापनामा खुसी व्यक्त गर्दै शुभ कामना दिए। उनले आफूहरू क्लबलाई सहयोग गर्न तयार रहेको बताए।
यसै गरी व्यवसायी प्रकाश गुरुङ र नर्स राजन गुरुङ ले पनि क्लबलाई आवश्यक परेमा आफू सहयोग गर्न तयार रहेको बताए।
यसै बिच हिमालयन हक्सले आफ्नो पहिलो खेल ओहायोमा हुने डिस्का कपमा खेल्ने भएको छ।