प्रधानमन्त्री ओली सेप्टेम्बर अन्तिममा अमेरिका आउने
पेन्सिल्भेनिया, अमेरिका/ प्रधानमन्त्री केपी शर्मा ओली सेप्टेम्बर अन्तिममा अमेरिका आउने भएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिकाको न्यु योर्क आउन लागेका हुन्।
‘प्रधानमन्त्री ज्यू सेप्टेम्बर २१ तारिख साँझ न्यु योर्क आइपुग्नु हुन्छ र सेप्टेम्बर २७ तारिख नेपाल फर्कनु हुन्छ, २४ तारिखमा क्विन्समा समुदायका लागि सार्वजनिक कार्यक्रम तय भएको छ।’ प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले समाज टाइम्स सँग भने।
प्रवासी नेपाली मञ्च प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमाले निकट संस्था हो।
संयुक्त राष्ट्र सङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले यस पटक महासभामा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने भन्ने रहेको तर त्यसको औपचारिक निर्णय हुन बाँकी नै रहेको बताए।
‘अहिले सम्मको अवस्थामा प्रधानमन्त्री नै आउनु हुन्छ भन्ने छ तर आधिकारिक निर्णय भएको छैन।’ समाज टाइम्स सँग थापाले भने।