अमेरिकामा हिन्दुहरूको बृहत् कार र्याली : झन्डा सहित दर्जनौँ कार पेन्सिल्भेनियाको सडकमा निस्किए
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा हिन्दुहरूले कार र्याली गरेका छन्।
हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचारसी) द्वारा आयोजित प्रथम वैदिक दीक्षान्त समारोहको पहिलो दिन शुक्रवार ह्यारिसबर्गमा कलश यात्रा सहित कार र्याली गरिएको हो।
ह्यारिसबर्गको डेरी स्ट्रिट नजिक रहेको श्रीलक्ष्मी नारायण हरहरि धाम (हिन्दु मन्दिर) बाट शुरु भएको र्याली स्वतारा र लोअर प्याप्सन टाउसिपका विभिन्न सडक हुँदै पुन मन्दिरमा आएर समापन भएको थियो।
कार र्याली शुरु हुनु अगाडि कलश यात्रा सहित मन्दिर परिक्रमा गरिएको थियो। श्रीलक्ष्मी नारायण हरहरि धाम, ह्यारिसबर्गका मठादीपति स्वामी श्री चक्र पाडी प्रपन्न सहित गुरु-पुरोहितहरुको टोलीले स्बास्ती बाचन गर्नुका साथै मन्त्रोच्चारण गरेका थिए।
कार र्याली सडकमा निस्कँदा प्रहरीले स्कटिङ गरेका थिए। अमेरिका र ओएचआरसीको झन्डा फरफराएका गाडीहरू ट्राफिक लाइटमा रातो बत्ती बल्दा पनि नरोकिईकन अगाडि बढेका थिए। सो समय र्यालीका लागि रेड लाइटमा रोक्नु पर्ने नियम निलम्बन गरिएको थियो।
र्याली जारी रहँदा सडकका इन्टरसेक्सनमा प्रहरीले अन्य सवारी साधन रोकेका थिए।
ओएचआरसी मिडिया संयोजक सीएम निरौलाले ह्यारिसबर्गमा हिन्दुहरूले कलश यात्रा सहित कार र्याली निकालिएको पहिलो पटक भएको बताए।
‘हामीले बोलीचालीको भाषामा यसलाई कार र्याली भनेका हौ, खासमा यो हिन्दुहरूको परम्परागत रथ यात्रा हो।’ निरौलाले भने।
श्रीलक्ष्मी नारायण हरहरि धाम, ह्यारिसबर्गका मठादीपति स्वामी श्री चक्र पाडी प्रपन्न र्याली भव्य सफल भएको भन्दै खुसी प्रकट गरे। उनले उत्कृष्ट सुरक्षा प्रदान गरेको भन्दै स्थानीय सरकार र पुलिस प्रशासनको प्रशंसा व्यस्त गरे।
यस्तै ग्लोबल भुटनीज हिन्दु अर्गनाइजेशन (जिबीएचओ) अध्यक्ष नारद अधिकारी, ह्यारिसबर्ग भुटनीज कम्युनिटी, (बीसीएच) अध्यक्ष तिलक निरौला, श्रीवैष्णव परिषद्, ह्यारिसबर्ग अध्यक्ष टीका ढुङ्गानाले र्याली आयोजना गरेकोमा ओएचआरसीलाई धन्यवाद दिए।
हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचारसी)का अध्यक्ष प्रेम खनालले आफ्नो परम्परा जोगाउन र्यालीको आयोजना गरिएको बताए।
‘हामीले हाम्रो संस्कृति नहराओस् भनेर र्याली आयोजना गरेका हौ, यो सुरुवात हो, अब निरन्तर हुन्छ।’ अध्यक्ष खनालले भने।
चार दिने वैदिक दीक्षान्त समारोह सोमबार रक्षा वन्दनको दिन सकिने छ। शनिवार र आइतबार पनि मन्दिर परिषदमा वैदिक दीक्षान्त समारोहका विभिन्न कार्यक्रम हुने छन्।
यसै बिच श्रीलक्ष्मी नारायण हरहरि धाम, ह्यारिसबर्गका मठादीपति स्वामी श्री चक्र पाडी प्रपन्नका अनुसार सोमबार बिहान सात देखि ११ बजे सम्म मन्दिर परिषरमा रक्षा वन्दन हुने छ।