कोरियामा हुने १४औँ संस्करणको आइओएफटिसी तेक्वान्दोको तयारी अन्तिम चरणमा
पेन्सिल्भेनिया,अमेरिका/ दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४ औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।
कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने प्रतियोगिता अगस्ट २४ मा हुँदैछ।
गैर आवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाका पूर्व अध्यक्षका, अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री राजु क्षेत्री सोलमा हुने १४ औँ आइओएफटिसीको संयोजकको भूमिकामा छन्। उनले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन पनि प्रतियोगिताका लागि अमेरिकाको पोर्टल्याण्डबाट कोरिया पुग्दैछन्।
यस प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिकोलगायतका राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा सात सयभन्दा बढी खेलाडीले भाग लिने छन्।
आइओएफटिसीको १४ औँ संसकरणमा सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुन । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ। सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेलगरिएको छ।
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप (आइओएफटिसी) को आयोजना गर्दै आएको छ।
आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।