एउटा अपिल ह्यारिसबर्गको नाममा
गण्डकीपुत्र
संयुक्त राज्य अमेरिका अविकसित र विकासोन्मुख देशका नागरिकको मात्र होइन विकसित देशका नागरिकहरूको पनि आकर्षणको केन्द्र बन्दै आएको छ । अमेरिकामा बसोबास गरिरहेका कैयौँ मानिसहरूको भिडमा नेपाली जातीको बसोबास पनि उल्लेखनीय रूपमा रहेको छ । नेपाल, भारत, भुटान र म्यानमारबाट अमेरिकामा बसोबास गर्ने नेपालीहरू रहन सहन, भेष भूषा, धर्म र भाषाका माध्यमले एक भए पनि यो जाती एक भएर अगाडि बडेको कमै मात्र पाइन्छ । नेपाली भाषी अमेरिकन नागरिक र आवासीय परिचय पत्र लिएर बसेका नेपालीहरू बिच समन्वय गर्ने हो भने नेपाली जातीको भाषा र संस्कृति लाई अमेरिकामा स्थापित गर्न ठुलै बल पुग्ने थियो ।
नेपाली जातीको अमेरिका आवागमन कहिले र कसरी भयो एकिन नभए पनि केही तथ्यहरू यस प्रकारका छन् ।
१. सन १९१० मा भक्ति राईले नेपालबाट पहिलो अमेरिका यात्रा गरेका थिए । उनी व्यापारिक सिलसिलामा अमेरिका भ्रमण गरी फर्किएका थिए । त्यसपछि सन् १९२० मा तेज बहादुर कंसकार आएर न्यु योर्कमा व्यवसाय गरेर बसेका थिए । दोस्रो विश्व युद्ध पछि मात्र अमेरिकाले नेपाली र अन्य देशका नेपाली आप्रवासीलाई स्वीकार गर्न थालेको देखिन्छ । सन् १९४६ बाट अनौपचारिक कूटनीतिक सम्बन्ध बनाएको अमेरिकाले नेपालसँग २५ अप्रिल १९४७ देखि औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गर्यो ।
सन् १९६० मा राजा महेन्द्रले रानी रत्ना सहित अमेरिकाको राजकीय भ्रमण गरेका थिए । त्यस बेला उनले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्नुका साथै न्यु योर्क, लस एन्जलस र सान फ्रान्सिस्कोको भ्रमण गरेका थिए ! राजा महेन्द्रको दोस्रो भ्रमण सिकार यात्रा र राष्ट्रपति लिण्डन वि जोन्ससङ्ग भेटघाट गर्न अलास्कामा भएको थियो ।
२. भुटानबाट पहिलो पटक भुटानमै जन्मिएका नेपाली त्शेरिङ पेन्जोर विद्यार्थीको रूपमा सन् १९७२ मा अमेरिका आएका थिए । उनका बाबु आमा दुवै नेपाली थिए त्यस्तै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल राजनैतिक शरण लिन सन् १९८४ मा अमेरिका आएका थिए । नेपालमा रहेका भुटानी शरणार्थीको व्यवस्थापन गर्न संयुक्त राष्ट्र संघ उच्चायुक्तको कार्यालयले सन् २००७ बाट काम सुरु गरेपछि सन् २००८ मा पहिलो पटक दुई सय नेपाली भाषी शरणार्थीहरू लाई अमेरिका ल्याएर न्यु योर्क, टेक्सस र क्यालिफोर्नियामा व्यवस्थापन गर्ने काम गरेको थियो । लगभग साठी हजार भुटानी शरणार्थीको व्यवस्थापनको जिम्मा पाएको अमेरिका आउने भुटानी शरणार्थीमा अधिकांश नेपाली भाषीहरू नै थिए । जो अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका छन् । भुटानी नेपाली अहिले पनि फाट्टफुट्ट आउने क्रम जारी नै छ ।
३. बर्मा जहाँ नेपाली जातीको बसोबास उल्लेखनीय रूपमा छ । जसलाई अहिले म्यानमार भनिन्छ । त्यो भूमिबाट अमेरिका आउने पहिलो नेपाली हरि प्रसाद शर्मा थिए । उनी सन् १९७३ मा आयोवा विश्वविद्यालयमा अध्ययन गर्न आएका थिए । पछि उनी न्यु योर्कमा इन्जिनियरको काम गर्दै यतै बसे र अरू बर्मेली नेपालीलाई अमेरिका प्रवेश गराउने पुल बने । यिनी म्यानमारको रङ्गुनमा नेपाली बाबु आमाबाट जन्मिएका थिए ।
४. भारतबाट पहिलो पटक अमेरिका आएका व्यक्ति थिए भानु कुमार शर्मा । उनी सन् १९६९ मा दार्जिलिङबाट विद्यार्थीको रूपमा आएर यतै बसेका थिए । उनका बाबु आमा नेपालबाट कामको खोजीमा दार्जिलिङ गएका थिए । यही नै विभिन्न देशका नेपाली भाषी अमेरिका आएर बस्ने पहिलो पुस्ता थियो।
यसपछिका दिनमा विभिन्न मुलुकबाट अमेरिका प्रवेश गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रूपमा भए पनि कुन देशबाट कति सङ्ख्यामा नेपाली जाती प्रवेश गर्यो तथ्याङ्क छैन । तर पनि अमेरिकाका विभिन्न शहरमा विविध धार्मिक , साहित्यिक र सांस्कृतिक कार्यमा यो जाती सक्रिय भएर क्रियाशील छ । यति भएर पनि नेपालीले अपेक्षाकृत सफलता आर्जन गर्न विविध कारणले सकिरहेको छैन।
यही परिप्रेक्ष्य अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा भई रहेका विविध गतिविधिको बारेमा केही कुरा वर्णन गर्नु यो लेखको उद्देश्य पनि हो । यदि ग्रेटर ह्यारिसबर्गको कुरा गर्ने हो भने आधिकारिक तथ्याङ्क नभए पनि पैँतिस देखि चालीस हजारको आसपासमा नेपाली जातीको बसोबास यहाँ भएको अनुमान गरिन्छ । यहाँ विभिन्न जात जाती नेपालीहरूको मिश्रित बसोबास छ । बाहुन, क्षेत्री, राई, मगर, गुरुङ, लिम्बू, कामी दमाई यहाँका नेपाली जातीका बासिन्दा हुन ।
यी जातीका आफ्नै सांस्कृतिक आस्था, मूल्य र मान्यताहरू छन् । कोही हिन्दु , कोही बौद्ध र कोही अरू धर्मका अनुयायीहरू छन् । ह्यारिसबर्गमा दुई वटा हिन्दु मन्दिरहरू छन् भने तामाङ धेदुङ संघ, संयुक्त गुरुङ समाज अमेरिका लगायतका संस्थाहरू पनि क्रियाशील छन् । यहाँ केही नेपाली डान्स सेन्टर , तेक्वान्दो र कराते प्रशिक्षण स्कुल , नेपालीहरूले सञ्चालन गरेका ग्रोसरी स्टोर , रेस्टुरेन्ट, कपडा र सुन चाँदीका पसलहरू पनि छन् । यहाँका युवाहरू मिलेर क्रिकेट टिम र फुटबलको टिम बनाएर विभिन्न ठाउँमा हुने प्रतियोगितामा भाग लिने गरेका छन् ।
यस्ता टिमहरू यहाँ ५/७ वटा भएको बताइन्छ । हिन्दु धर्म तथा सांस्कृतिक संगठनले बालबालिकाहरूलाई नेपाली कक्षा सञ्चालन गरेर पठनपाठन गराइ रहेको छ । भुटानी समाज ह्यारिसबर्ग र एन आर एन ए जस्ता संस्थाहरूले यहाँ बसोबास गरिरहेका नेपाली जातीको विभिन्न प्रकारले सहयोग गरिरहेका छन् भने कृयमाड फाउन्डेसनले संस्कृति संरक्षण, स्वास्थ्य सेवा लगायत सामाजिक काम गर्दै आएको छ ।
भानु जयन्ती, लक्ष्मी जयन्ती, लेखनाथ जयन्ती जस्ता विशेष साहित्यिक पर्व र अरू समयमा पनि त्रिवेणी साहित्य मञ्चले ह्यारिसबर्गमा साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै साहित्यिक स्रष्टा र सामाजिक क्षेत्रमा योगदान गरेका विशेष व्यक्तिहरूलाई सम्मान गर्ने गरेको छ । अर्को विश्व भुटानी साहित्यिक संगठनले विश्व शिक्षा कार्यक्रम अन्तर्गत अनलाइन नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ । यसले विभिन्न समयमा अलगअलग ठाउँमा साहित्यिक गतिविधि गरिरहेको छ । यही संस्थाले सन् २०२२ मा ह्यारिसबर्गमा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान, सिक्किमका पूर्व मुख्य मन्त्री एवम् साहित्यकार पवन चाम्लिङ, नेपालबाट प्रा. डा. गोविन्दराज भट्टराई, कृष्ण धरावासी, दार्जिलिङकी बिन्दिया सुब्बा र सिक्किमबाटै कविता लामा सहितको उपस्थितिमा भव्य कार्यक्रम गरेको थियो।
हाल ह्यारिसबर्गमा लेखनमा निरन्तर कलम चलाइरहेका कवि साहित्यकारहरूमा क्रमशः भक्त घिमिरे, देवी दाहाल दागाने, केशव वैरागी माइलो, प्रेम घिमिरे, नवीन भट्टराई, नारद सुदामा आचार्य, पातलो अन्तरे, परमा अधिकारी कान्छो, अवी अधिकारी, बल न्यौपाने, सी एम निरौला, वसुधा रिजाल, जे एन दाहाल, शेखर कोइराला, आभास रिखाम, भरत तिम्सिना, बिकु दादा, दधि फुयाँल, धनपति सिवाकोटी, दिपेश चापागाईँ, गुरु सुवेदी, होम बजगाईँ, इन्दु श्री चौहान, जय सिवाकोटी, कैलाश धिताल, खगेन्द्र ठाकुर घिमिरे, सुमन योञ्जन, नारद सुवेदी,ओमराज भट्टराई, शम्भु आचार्य, प्रेम खनाल, सिवाकोटी लीला, टीका रिजाल, उमेश निरौला, अर्जुन आत्रेय गेलाल, मोहन भण्डारी, ललिता बजगाईँ, गण्डकीपुत्र लगायत छन् । यस क्षेत्रमा महिला लेखकहरू न्यून या नगण्य रूपमा देखिन्छन् । यहाँबाट विभिन्न विद्याका पुस्तकहरू बेला बेला प्रकाशित भै रहेका छन् । यहाँबाट कविता, गजल, हाइकु, बाछिटा, मुक्तक, कथा, निबन्ध, उपन्यास जस्ता साहित्यिक कृति केही फुटकर र केही सङ्ग्रहका रूपमा प्रकाशित छन् ।
यस क्षेत्रमा विभिन्न विषयमा पिएचडी गर्ने विद्धानहरूको सङ्ख्या उल्लेखनीय रूपमा छ भने अनलाइन सञ्चार र युट्युब अनलाइन मिडियाको प्रसारण हुने काम पनि भै रहेको छ । विभिन्न नामका अशक्त र वृद्ध अवस्थाका मानिसहरूको हेरचाह केन्द्र नेपालीहरूले ह्यारिसबर्गमा चलाई रहेका छन् ।
संस्कृत साहित्यका विद्वानहरू, कर्मकाण्डी पण्डितहरू, लामा र बौद्ध धर्मका गुरुहरू, विभिन्न भजन र कीर्तन समूहहरू नेपाली जातीको कला, साहित्य र संस्कृतिको संरक्षण र संवर्द्धनमा लागिपरेका छन् । भागवत, कृष्ण चरित्र, श्रीराम चरित्र, बिष्णु पुराण, शिव पुराण जस्ता पौराणिक कथा वाचनको अनुष्ठान गरेर, विभिन्न समयमा मानव धर्म सेवा समाज जस्ता संस्थाले प्रवचनको कार्यक्रम गरेर, तामाङ्हरुले ल्होसारको आयोजना गरेर , राईहरूले उँधौली – उभौलीमा चण्डी नाचको आयोजना गरेर गुरुङहरूले रोधी घर चलाएर पनि भाषा र संस्कृतिको संरक्षणमा योगदान गरिहरेका छन् ।
गीत गजल लेखेर रेकर्ड गरी सार्वजनिक गर्नेहरूमा बालकृष्ण न्यौपाने , पूर्ण धमला, जीतेन्द्र गिरी , पातलो अन्तरे , कुमार सिवाकोटी, शेखर कोइराला, केशव बैरागी माइलो, अमल थुलुङ, तुङ्ग नाथ उपाध्याय, नारद सुदामा आचार्य, अगम गुरुङ, पुष्पा गिरीहरू ह्यारिसबर्गमा छन् । त्यस्तै यहाँ स्थापित देखि गायन क्षेत्रमा संघर्ष गरिरहेका नवोदित गायक गायिकाहरू पनि निरन्तर गायनको अभ्यासमा लागिपरेका छन् ।
स्थापित गायक महेश थुलुङ, बालकृष्ण न्यौपाने देखि सोनम गुरुङ, रोमना गुरुङ, कुन्ती गुरुङ, सरिता सुनुवार, रोनन सुब्बा, कान्छीमाया ढुङ्गेल, गोविन्द अधिकारी टीका लामिछाने, गुञ्जन उपाध्याय र अन्तरा उपाध्याय सक्रिय छन् । विभिन्न कार्यक्रममा छन्द कविता गाएर सहभागिता जनाउनेमा वसुधा रिजाल , इन्दु श्री चौहान , सुधा खतिवडा र सविना भट्टराईहरू उस्तै सक्रिय छन् । यी सबै नेपाली भाषाको उन्नयन र संरक्षणमा लागेको मान्न सकिन्छ।
यति ठुलो नेपाली जातीको समूह ह्यारिसबर्गमा भएर पनि ह्यारिसबर्गमा एकताबद्ध काम हुन सकेको छैन । मानसिक सङ्कीर्णता , याँ को र त्यहाँ को भन्ने अर्थ न बर्थको सोच, धर्म, संस्कृति र साहित्य साझा विषय हुन भन्ने कुराको ज्ञान नहुनु , आफू बाहेक अरूलाई गन्दै नगन्नु , नेता हुने लालसा दिमागमा सवार हुनु , एकले अर्काको प्रयत्न र प्रयासलाई महत्त्व नदिनु , अन्ध विश्वास व्याप्त हुनु , जातीय विभेद कायम रहनु , अरूका कृति नपढ्नु यिनै कारणहरू सिङ्गो नेपाली जातीलाई यो ठाउँमा कमजोर बनाउने कारणहरू हुन । यस प्रकारका चिन्तन र सोच नमिल्काए सम्म नेपाली जातीको उन्नति र प्रगति असम्भव छ । निष्कर्षमा के भन्न सकिन्छ भने स्वजातिय पहिचान , भाषा , साहित्य र संस्कृतिलाई संरक्षण गर्ने हो भने माथि उल्लेख गरिएका समाजका सबै तह र तप्का एकताबद्ध हुनै पर्छ । आ-आफ्नो इतिहासको रक्षा गर्दै आगाडि बढौँ ।
नोट :- सन्दर्भ सामग्री र व्यक्तिहरू :- अनलाइन पत्र पत्रीका , गीतकार एवम् गायक बालकृष्ण न्यौपाने , गजलकार पातलो अन्तरे , गायिका कुन्ती गुरुङ , हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन कि उपाध्यक्ष वसुधा रिजाल सङ्गको संवाद ।
गण्डकीपुत्र
झोराहाट – २ मोरङ
हाल :- अमेरिका
र यो पनि…