अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली शान्त थोकरको अबको लक्ष्य ‘च्याम्पियनसिप’
न्यु योर्क,अमेरिका/ १७ वर्ष अगाडि, कराते प्रशिक्षक शान्त थोकरले एउटा चुनौती स्वीकार गरेका थिए। त्यो थियो, अमेरिकाको न्यु योर्क शहरमा कराते स्कुल खोल्ने।
उनको त्यो आँट प्रति कतिले जिब्रो पनि टोकेका थिए, त्यति बेला । तर पनि हिम्मत हारेनन् र क्विन्सको ज्याक्सन हाइटमा स्कुल स्थापना गरेरै छोडे। अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली बनेका शान्तले अब फेरि अर्को आँट गर्न लागेका छन्। त्यो हो, अब देखि न्यु योर्कमा हरेक वर्ष करातेको खुल्ला प्रतियोगिता आयोजना गराउने।
‘आइएमए न्यु योर्क कराते च्याम्पियनसिप-२०२४’ डिसेम्बर ८ तारिख आइतबार आयोजना गर्ने घोषणा गरेका छन्। आइएमए निहोन कराते डो युएसएको आयोजनामा च्याम्पियनसिप हुने छ।
‘निकै लामो पर्खाइ पछि यस पटक हामीले प्रतियोगिता आयोजना सुरु गर्ने भयौ।’ आइएमए निहोन कराते डो युएसएका संस्थापक तथा प्रमुख प्रशिक्षक शान्त थोकरले समाज टाइम्स सँग भने।
‘खासमा हामीले पहिले देखि नै प्रतियोगिता आयोजना गरे सोच बनाएका हौ, तर समय पाउनै गाह्रो, हरेक हप्ता न्यु योर्क कुनै न कुनै प्रतियोगिता भइनै रहने, साथीहरू सँग जुधाउन पनि भएन, तर कोभिड पछि परिस्थिति केही फेरियो र यो पटक हामीले समय जुरायौ।’ उत्साहित शान्तले भने,’अब हरेक वर्ष डिसेम्बर ८ तारिख हाम्रो प्रतियोगिता हुन्छ।
कोभिड पछि केही स्कुल बन्द भएको र केही प्रतियोगिता स्थगित भएकाले आफूहरूले डेट पाएको उनले प्रस्टाए।
आफूले आयोजना गर्ने प्रतियोगितामा विश्वभरिबाट नै भाग लिन पाउने पनि शान्तले बताए। ‘यो खुल्ला हो, जो कोहीले पनि भाग लिन पाउँछन, हामी सबैलाई स्वागत गर्छौ।’
उनले प्रतियोगितामा तीन सय भन्दा बढी खेलाडी सहभागी नगराउने जनाए। ‘हामी धेरै भिड भन्दा पनि स्तरीय प्रतियोगिता आयोजना गर्ने भन्नेमा हौ।’ उनले भने।
प्रतियोगितामा एक सय ३२ स्वर्ण, एक सय ३२ रजत र दुई सय ६४ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने छ। यसै गरी ग्राण्ड च्याम्पियनसिपमा तीन वटा ट्रफी रहने छ। १४ सय डलर नगद पुरस्कार पनि राखिएको छ।
समुदाय सँग अपिल
प्रमुख प्रशिक्षक शान्तले यो प्रतियोगिता आफूको मात्र नभएर नेपाली समुदायकै प्रतिष्ठा जोडिने भएकाले सफल पार्न अपिल गरेका छन्।
‘अमेरिकामा १७ वर्ष देखि करातेमा लागि रहेको छु, आज सम्म मैले करातेका लागि कसै सँग पनि सहयोग मागेको छैन, तर यस पटक यो प्रतियोगिता मेरो मात्र होइन नेपाली समुदायकै प्रतिष्ठा जोडिएको विषय हो।’ प्रमुख प्रशिक्षक शान्त थोकरले भने,’ प्रायोजकको रूपमा, स्वयम सेवकको रूपमा जुन रूपमा पनि सहयोग गर्न म अपिल गर्दछु।’
डन बन्न हिँडेका थोकर बने ‘डान‘
चालिसको दशक अघिको नेपाली गाउँले समाजमा युवाहरूको अनौठो सोख हुन्थ्यो । आफू बलियो कसरी हुने । अर्थात् गाउँ टोलमा डन कसरी बन्ने । मनोरञ्जनका साधन भनेकै समय समयमा लाग्ने हाट बजार, मेला पर्दथे । मेलामा जाँदा ओल्लो गाउँ र पल्लो गाउँ बिचमा झैँ झगडा हुनु सामान्य । त्यस्ता झगडामा कुन गाउँले जित्यो त्यसमा पनि कुन केटाले खतरा कुट्यो त्यो त्यस क्षेत्रकै चर्चित व्यक्ति । अहिलेको परिभाषामा “डन” ।
दोलखाको भेडपुका १५ बर्षे ठिटो शान्त थोकरलाई पनि त्यस्तै डन बन्ने हुटहुटी जाग्यो । कसरी बलियो बन्ने ? गाउँमा पुलिस आर्मीमा जागिर खाने धेरै थिए । उनीहरू छुट्टीमा आउँदा हुस्…. हा… हु…..को आवाज निकाल्दै कसरत गर्दथे । शान्त थोकरले चासो दिए, उनीहरूले कराते खेलेका रहेछन् ।
काका धनबहादुर र भीम लामा व्याल्कवेल्ट। उनीहरू गाउँमा आउँदा करातेका बारेमा गफ गर्थे । दुई चार वटा किक पनि देखाउँथे । किकले शान्ता थोकरलाई आकर्षित बनायो । ओहो बजार गएको बेलामा पनि यस्तै किक हानियो भने त दुई चार जना त्यसै ढालिन्छ, गम्दै उनी पनि कराते किक हान्न सिक्न थाले । डोरी टाँगेर कसले माथि हान्ने भन्ने साथीहरू बिचमा होडबाजी नै ।
जे सोचेर शान्त थोकरले कराते सिक्न शुरु गरेका थिए, त्यसको प्रयोग उनलाई गर्न परेन । तर कराते शुरु गर्दा जुन कुरा उनले सोचेका पनि थिएनन् त्यो अहिले भोग्दै छन् । शान्त थोकर डन होइन डानको सिडी चढ्दै गए । उनले अमेरिकामा छैटौँ डान हासिल गरे। यो सँगै उनको नाम अगाडि सिहान थपियो। “सिहान शान्त थोकर” । यो करातेमा सम्मानित पद हो । प्राध्यापक भने जस्तै गुरुको पनि गुरु ।
अमेरिकामा कराते स्कुल संचालन गर्ने पहिलो नेपाली शान्त थोकरले उपाधि त्यति सजिलै पाएका होइन । त्यसका लागि उनले तीन दशक खर्चिएका छन् । चरिकोट स्थित कालिङचोक माविबाट २०४२ सालमा एसएलसी परीक्षा दिए पछि उच्चशिक्षाका लागि शान्त हानिए काठमाडौँ । भीम लामा प्रहरी तालिम केन्द्रमा कराते प्रशिक्षक थिए । उनकै सिफारिसमा शान्त पशुपति वनकाली लागे, जहाँ मानबहादुर तामाङले डोजो सञ्चालन गरेका थिए ।
दोलखा हुँदा शान्तलाई कराते भन्ने थाहा थियो । काठमाडौँ आए पछि कुन कराते भन्ने प्रश्न तेर्सियो। सितोरियो र क्योकिसिन मात्र राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको थियो । वनकालीमा वादोरियो सिकाइन्थ्यो । उनी वन काली नै लागे । “गाउँमा हुँदा पनि सेल्फ डिफेन्सका लागि भनेर करातेमा लगाव बढेको हो, सितोरियो सेमीकन्ट्याक्ट थियो, त्यति धेरै चर्चामा पनि थिएन, मलाइ फुलकन्टयाक्ट मन पर्ने, त्यसैले वादोरियोमा जाने निर्णय गरे।” कराते रोजाइका बारेमा थोकरले प्रस्टाए।
“गाउँमा आफू बलियो हुनका लागि सिकियो, जात्रा जाँदा बलियो हुने भन्ने हुन्थ्यो, तर जब कराते पढ्दै गए त्यस्तो होइन, कराते भनेको हा… हु … गर्ने होइन अनुशासन हुन्छ भन्ने थाहा भयो।”
६ वर्ष जतिको प्रशिक्षण पछि उनले ब्याल्कबेल्ट पाए । वादोरियो कराते पनि परिषद्मा दर्ता भयो । शान्त आफै पनि कराते प्रशिक्षक बने । २०४९ सालमा पहिलो पटक वादोरियोको राष्ट्रिय प्रतियोगिता आयोजना भयो । दुई सय जनाले भाग लिएका थिए । सबैलाई खुला तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो । शान्तले स्वर्ण पदक जिते । जीवनको पहिलो ठुलो स्वर्ण । गणेश खड्का, मणि लामा लगायतलाई हराएका थिए।
त्यो स्वर्ण पछि शान्तले वादोरियो सँगको साइनो तोडे, सोतोकानमा लागे । पेम्वा तामाङ प्रमुख प्रशिक्षक थिए । जापानमा सिकेर आएका थिए पेम्वाले कराते । “पेम्वा गुरुबाट नयाँ कुरा सिक्न पाइन्छ भन्ने लायो, उनले जापानमा सिकेको राम्रो सिकाउँछन् भन्ने लाग्यो।” उनले भने।
वादोरियोमा व्याल्कबेल्ट लिएका शान्तले सातोकानमा शून्यबाटै शुरु गरे । “नयाँ“ कराते भएकाले मैले फेरी शुरुबाट नै सिक्नु पर्ने भयो, ६ महिनामा ग्रिन र एक वर्षमा ब्राउनवेल्ट लिए, एक पटक कराते सिकिसकेको भएर अप्ठेरो भएन।”
सातोकान सिकेको एक वर्षमा २०५१ सालमा राष्ट्रिय प्रतियोगिता भयो । त्यसमा पनि खुल्ला तौलमा उनले स्वर्ण पदक जिते । “ग्रिन बेल्ट लिए पनि म आफै जुनियर प्रशिक्षक पनि थिए त्यसले पनि मलाइ खेल्न सजिलो भयो ।”
सन् २००० मा काठमाडौँमा नै भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सोतोकान च्याम्पियनसिपमा शान्तले दोहोरो स्वर्ण जिते । उनले एकल र टिम स्पर्धामा स्वर्ण पाएका थिए । दुई पटक विश्व च्याम्पियनसिप खेल्ने क्रममा उनले काश्य पदक हात पारे । सन् २००५ मा अमेरिकाको लसभेगासमा भएको विश्व च्याम्पियनसिपमा ३५ वर्ष उमेर माथि काता कुमुते दुबैमा कास्य पदक जितेका थिए ।
सन् २००७ देखि अमेरिका बस्दै आएका शान्तले नेपालमा सोतोकानको प्रमुख प्रशिक्षक, नेपाल सोतोकान संघको महासचिव, कराते महासंघको सदस्य, रेफ्री कमिटी र टेक्निकल कमिटी सदस्यको जिम्मेवारी पुरा गरेका थिए । अमेरिकामा करातेका नेपाली रेफ्री र प्रशिक्षक दर्जनौँ छन् तर अमेरिकी कराते निकायमा दर्ता गराएर कराते स्कुल सञ्चालन गर्ने शान्त पहिलो हुन् । सन् २००८ न्यु योर्कमा पहिलो पटक कराते स्कुल खोलेका शान्तले त्यो स्कुल उनकै चेलालाई बेचेर उडसाइडमा आइएमए निहोन कराते डो खोले। अहिले त्यसको शाखा फरेष्टहिलमा पनि विस्तार गरेका छन्।
शान्तले पहिलो देखि तेस्रो सम्म डान जापानमा लिए । त्यस पछि अमेरिकाको कोलोराडोमा मुख्यालय रहेको इन्टरनेश्नल मार्शआर्ट एसोसिएसन (आएइमए) बाट उनले डान ग्रेडिङ गर्दै आएका छन् । चौथो डान सन् २००५ पाएका शान्तले पाँचौँ डानका लागि सन् २०१३ सम्म कुर्नु परेको थियो ।
सन् २०१६ मा अमेरिकाको कोलोराडोमा छैटौँ डान पाए। उनी काता र कुमुते दुवै तर्फ अमेरिकी कराते राष्ट्रिय रेफ्री लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली पनि हुने। सन् २०१३ शान्तले सो सफलता पाएका थिए। प्यान अमेरिकन कराते महासंघमा रेफरी ए लाइसेन्स धारक पहिलो नेपाली पनि हुन।
आइएएममा २५ बर्षे इतिहासमा छैटौँ डान पाउने उनी छैटौँ व्यक्ति हुन् । मार्शल आर्टमा छैटौँ डान लिनका लागि थेसिस नै बुझाउनु पर्छ । करातेका बारेमा आफ्नो अनुभव, अबको सम्भावना सबै पक्षलाई समेट्नु पर्दछ ।