दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता
काठमाडौँ/ राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थाले पछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरे सँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोट प्राप्त भएको छ ।
विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समय देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।
यसै बिच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पुरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।
दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए सँगै यही साउन २९ गते ए एफ सी च्याजेन्ज लिग छनौटको प्ले अप अन्तर्गत भुटानको पारो एएफसी र नेपालको चर्चब्वाईज युनाईटेड बिच खेल हुने भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिए पछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनु पर्ने विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बराइन बिचको छनौट खेल बराइनमा भएको थियो भने जेष्ठ २४ गते युएई सँगको खेल साउदीमा भएको थियो ।
लामो समय देखि अखिल नेपाल फुटबल संघले संरक्षण गर्दै आएको खेल मैदान प्रति एएफसीले प्रश्न उठाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले २०८० चैत्र देखि परिषद् आफैले रंगशालाको खेलमैदान संरक्षण र मर्मतको जिम्मा लिने निर्णय गरेका थिए।
मैदानले एएसफसीबाट पुन मान्यता पाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए। उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अव कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

















