अमेरिकामा सम्पन्न पहिलो इसका ओपन कराते च्याम्पियनसिपको उपाधि डिस्का टिमलाई
कोलम्बस,ओहायो/ अमेरिकाको ओहायो राज्यको कोलम्बसमा सम्पन्न प्रथम इसका ओपन कराते च्याम्पियनसिपको उपाधि ड्रुक इन्टरनेश्नल कराते एसोसिएसन (डिस्का) टिमले जितेको छ।
इन्टरनेसनल सितोरियो कराते एसोसिएसन (इसका) आयोजनामा अगस्ट तीन तारिख शनिवार सम्पन्न च्याम्पियनसिपमा डिस्का टिमले २५ स्वर्ण सहित च्याम्पियन भएको हो।
कोलम्बसको नर्थल्यान्ड हाई स्कुलमा भएको च्याम्पियनसिपमा बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायो १९ स्वर्ण सहित दोस्रो र इन्टर्नेशनल सितोरियो कराते एसोसिएसन, कोलम्बस ओहायो ११ स्वर्ण सहित तेस्रो भयो।
च्याम्पियनसिपमा ओहायो, पेन्सिल्भेनिया, केन्टकी , न्यु योर्क, कोलोराडो र एरिजोनाका गरी १३ डोजो र व्यक्तिगत गरी दुई सय ३१ खेलाडीले आ आफ्नो दावेदारी प्रस्तुत गरेका थिए। च्याम्पियनसिपमा काता र कुमुते दुवै तर्फ प्रतिस्पर्धा गराइएको थियो।
डिस्का टिम बाट ६२ जनाले भाग लिएकोमा २५ जना स्वर्ण पदक जित्न सफल भए। दोस्रो भएको बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायोबाट २८ जनाले भाग लिएका थिए।
यस्तै तेस्रो भएको इन्टर्नेशनल सितोरियो कराते एसोसिएसन, कोलम्बस ओहायोबाट ५० जना खेलाडीले च्याम्पियनसिपमा भाग लिएका थिए।
ड्रुक सितोकाइ, रेनाल्ड्सबर्ग ओहायोबाट ३३, बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायोबाट २८, सिबुकान मार्सल आर्ट्स, कोलम्बस ओहायोबाट १०, सितोरियो कराते डो, कोलम्बस ओहायोबाट ६, ट्रान्स अमेरिकन एसोसिएसन अफ सितोरियो, ल्यानकास्टर पेन्सिल्भेनिया, च्याम्पियन मार्सल आर्ट्स, न्यु योर्क र मास्टर्स मार्सल आर्ट्स, फ्लोरेन्स केन्टकीबाट तीन तीन जनाले भाग लिएका थिए।
यस्तै ओकनावा डोजो, डेन्भर कोलोराडोबाट दुई तथा ग्रेट लेक्स सेवा काइ, टोलेडो ओहायो, एरिजोना वादो कराते, एरिजोनाबाट एक एक जनाले भाग लिएका थिए। व्यक्तिगत रूपमा पनि ३० खेलाडीले भाग लिएका थिए।
विश्व कराते महासंघ रेफ्री समिति सचिव तथा अमेरिकन कराते महासंघ रेफ्री समितिका प्रमुख सेन्से फारिवा मदानीले रेफ्री टोलीको नेतृत्व गरेकी थिइन् ।
उनले च्याम्पियनसिपको अघिल्लो दिन अगस्त दुई तारिख शुक्रवार आयोजित सेमिनारमा नयाँ र पुराना गरी २६ जना रेफ्रीहरुलाई करिब पाँच घण्टा प्रशिक्षण दिएकी थिइन।
अमेरिकन कराते महासंघद्वारा मान्यता प्राप्त नव प्रशिक्षित रेफ्रीहरुमा मालती राई, सुभम दाहाल, आशिका राई, हार्दिक बास्तोला, भिजन ओली, दर्शन अधिकारी दहीराज न्यौपाने, निम लामा र कमल गुरुङ रहेका थिए।
प्रतियोगितामा व्यवस्थापन समितिको नेतृत्व ईस्काका प्रमुख तथा मुख्य प्रशिक्षक सेन्से शिव जोगीले गरेका थिए। समितिका अन्य सदस्यहरूमा नेपाली भाषा तथा कला केन्द्र, सिनसिनाटीका प्रमुख तारा दाहाल, हेल्दी होम केअर सिनसिनाटी र हेल्दी एडल्ट डे केअर केन्टकीका प्रमुख लीला कुइँकेल, डिस्काका प्रशिक्षक रने राई र सेन्से टेक नेपाल, ड्रुक शितोकाइका मुख्य प्रशिक्षक मणि राई, ईस्काका प्रशिक्षक सेन्से साएल जोगी, लोन अफिसर चरण बजगाईँ रहेका थिए।
यसै गरी स्वागनशिल किरात परिवारका डम्बर राई गोर्खा कम्ब्याटका मुख्य प्रशिक्षक सजित तामाङ र स्वयम सेवक मनिष कार्की रहेका थिए।
कार्यक्रमको उद्घोषण बामाका प्रमुख र साहित्य परिषद् भुटानका सचिव खेम रिजाल र लन अफिसर चरण बजगाईँले गरेका थिए। एक दिने च्याम्पियनसिप पाँच वटा रिङमा खेलाइएको थियो । जसको नेतृत्व सेन्से सेन्थिल थियागरजन, सेन्से शान्ता थोकर, सेन्से डाक्टर हेमन्त घिसिङ, सेन्से टेक नेपाल र सेन्से माया लेप्चाले गरेका थिए। च्याम्पियनसिपमा कुल ३१ जना रेफ्रि रहेका थिए।
डा. देवेन्द्र न्यौपाने र आरएन याम राईले स्वास्थ्य विभाग सम्हालेका थिए। प्रतियोगितालाई सम्पूर्ण भुटानी/नेपाली अमेरिकनका संघ संस्था, उद्योग व्यवसायीले आर्थिक सहयोग गरेका थिए।
च्याम्पियनसिपको शुभ कामना सहित सिटी अफ रेनाल्डबर्ग्सका तर्फबाट प्रदान गरिएको सम्मान पत्र काउन्सिल म्यान भुवन प्याकुरेलले सेन्सेइ शिव जोगीलाई हस्तान्तरण गरेका थिए।