चितवनमा निर्माणाधीन अपाङ्गमैत्री पुस्तकालयबारे अमेरिकामा चर्चा
डालस, अमेरिका/ नेपाल जर्नीले चितवनमा निर्माणाधीन अपाङ्गमैत्री पुस्तकालय बारे अमेरिकाको टेक्सस राज्यको डालसमा आयोजित कार्यक्रममा जानकारी गराएको छ। अपाङ्गमैत्री पुस्तकालयको प्रगति र वित्तीय रिपोर्ट तथा आगामी योजना बारे जानकारी गराएको हो।
नेपाल जर्नीकी चार्टर प्रेसिडेन्ट मौसमी श्रेष्ठले विगत आठ वर्षमा १४ परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिइन। उनले भूकम्प राहत,बाढी पीडित राहत र विभिन्न पुस्तकालय परियोजनाहरू सम्पन्न गरेको बताउँदै यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइन्।
‘नेपाल जर्नी अपाङ्गमैत्री पुस्तकालय चितवन परियोजनाको यात्रा आजको दिनसम्म आइपुग्न सहज थिएन, परियोजना निर्माणको सुरुवातमा भूमि प्राप्त गर्न ठुलो चुनौती भयो’कार्यक्रममा श्रेष्ठले भनिन्,’स्थानीय र प्रशासनसँग लामो समय समन्वय गर्न र कानुनी प्रक्रिया पार गर्नुपर्ने थियो , कोभिड-१९ महामारीले निर्माण कार्यमा अवरोध ल्यायो , जसले गर्दा परियोजना समयमै सुरु हुन सकेन।’
‘नेपाल जर्नी अपाङ्गमैत्री पुस्तकालय, चितवन नेपाल जर्नीको मात्र सपना नभई आज तपाईँ हामी सबैको दायित्व हो।’उनले थपिन।
श्रेष्ठले परियोजनाका लागि भरतपुर महानगरपालिकाले सवा दुई कट्टा जग्गा उपलब्ध गराएकोमा आभार प्रकट गरिन्।
“२०१७ मा हामीले ‘नेपाल जर्नी ‘ को भिजन प्रोजेक्टका लागि कोष सङ्कलन सुरु गरेका थियौँ । हाम्रो प्राथमिकता काठमाडौँ थियो , तर जग्गा प्राप्त गर्न नसकेपछि अन्य महानगरहरूमा प्रयास गर्यौँ । अन्ततः २०२० मा भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गर्यो ।’
श्रेष्ठका अनुसार पाँच सदस्यीय पुस्तकालय परियोजना टोलीले संयुक्त रूपमा चितवनको लंकुमा परियोजना निर्माण गर्ने निर्णय गरेको थियो। पुस्तकालयको भवन सात हजार दुई सय ९५ स्क्वायर फीट रहेको छ। नेपाल जर्नीले पुस्तकालयको स्थिरता सुनिश्चित गर्न संयुक्त रूपमा भरतपुर नगरपालिका, वडा र स्थानीय बासिन्दालाई हस्तान्तरण गर्नेछ।
कार्यक्रमको सुरुवात नेपाल जर्नीका जनरल सेक्रेटरी विकास भण्डारीले गरेका थिए। उनले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै विशेष धन्यवाद दिएका थिए।
“यो कार्यक्रम फन्डरेजिङ्गका लागि होइन, बरु चितवन पुस्तकालय परियोजनाको प्रगति अपडेट र वित्तीय रिपोर्ट प्रस्तुत गर्ने अवसर हो ।” उनले भने।
नेपाल जर्नीका बोर्ड अफ डाइरेक्टर र इन्जिनियरिङ तथा कन्स्ट्रक्सन कोर्डिनेटर राजीव श्रेष्ठले निर्माण योजना र प्रगति रिपोर्ट प्रस्तुत गरे।
उनले पुस्तकालय निर्माण कार्य लगभग ४० प्रतिशत सम्पन्न भएको जानकारी दिए।
ग्राउन्ड फ्लोरमा स्वागत कक्ष,प्रतीक्षालय,७५ जनाको पढ्ने स्थान, १२ जनाको कम्प्युटर स्टेसन, ८ जनाको ओपन जनरल स्पेस, १० जनाको प्रशिक्षण हल, बच्चाहरूको खण्ड, अडियो /वीडियो सेक्सन, ब्रेल सेक्सन, २ महिला शौचालय, २ पुरुष शौचालय, १ अपाङ्गमैत्री शौचालय, र २ युरिनल, कार्यालय कक्ष, सर्वर कक्ष, र गिफ्ट स्टेसन रहेका छन्।
फर्स्ट फ्लोरमा १०० जना को सम्मेलन/मेडिटेसन कक्ष, १७ जनाको बैठक कक्ष, र क्याफ्टेरिया /कोफी लाउन्ज र शौचालय निर्माण गरिँदै छ। पुस्तकालयलाई अपाङ्गमैत्री बनाउनका लागि व्हील चेयर र्याम्प र लिफ्ट पनि समावेश गरिएको पनि उनले बताए।
कार्यक्रममा नेपाल जर्नीका कोषाध्यक्ष उमा अर्यालले चालु आर्थिक स्थिति र आजसम्मको वित्तीय अपडेट प्रस्तुत गरिन। उनले भवन निर्माणको कुल लागत तीन करोड,२१ लाख ९९ हजार चार सय पाँच रुपैयाँ रहेको बताइन्।
हालसम्म बिल्डरलाई ९० लाख ५० हजार भुक्तानी भइसकेको पनि उनले जानकारी दिइन्।
कार्यक्रममा सिटी अफ यूलसका प्रो -मेयर टिका पौडेलले राम्रो काममा सबैले हातेमालो गर्नु पर्नेमा जोड दिए। पत्रकार बाल जोशीले नोभेम्बर म्याराथनमा भाग लिएर पुस्तकालय परियोजनाका लागि रकम जुटाउने योजना बनाएको पनि पौडेलले जानकारी दिए।
प्रोफेसर प्रभात दीक्षितले नेपाल जर्नीको चितवन पुस्तकालयलाई अमेरिकाका विश्वविद्यालयहरूसँग कसरी जोड्न सकिन्छ भन्ने बारेमा विस्तृत जानकारी दिए।
नेपाल जर्नी टिमबाट भाइस प्रेसिडेन्ट तथा प्रोजेक्ट कोर्डिनेटर बद्री श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर समिता श्रेष्ठ, पब्लिसिटी कोर्डिनेटर धनञ्जय ढकाल र दिननाथ न्यौपाने,प्रो बोनो सल्लाहकार रोहिन श्रेष्ठ लगाएको समेत उपस्थित थियो ।
कार्यक्रममा स्थानीय संस्थाहरूको तर्फबाट राजेन्द्र वाग्ले, ज्ञानेन्द्र कार्की, वासु भण्डारी, विकास उप्रेती, दीपेन्द्र गुरागाईँ, छवि चापागाईँ लगायतले संस्थाको उद्देश्य पुरा होस् भन्ने कामना गर्दै सबैमा सहयोगको आग्रह गर्न आग्रह गरे।