विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता खेल्न नेपाली टोली युएईबाट प्रस्थान
काठमाडौं । मित्र राष्ट्र दक्षिण कोरियामा आयोजना हुने विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुन जाने नेपाली खेलाडीहरूलाई युएईका लागी नेपाली राजदूत तेज बहादुर क्षेत्रीले बिदाइ गरेका छन् ।
आबुधावीस्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमकाबीच राजदूत क्षेत्रीले युएईबाट प्रतिस्पर्धा गर्न जाने नेपाली खेलाडी तथा अफिसियलहरुलाई बिदाइ गरेका हुन । खेलाडीहरू लगायत युएईका लागी कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाइ गर्दै राजदूतले सफलताको शुभकामना दिएका छन् ।
उनले बिदाइका क्रममा खेलाडीहरूको हौसला बढाउँदै “रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर विदेश आएर पनि आफ्नो कामको अलावा खेलकुदलाई समेत निरन्तरता दिएको देख्दा खुसी लाग्नुका साथै विभिन्न देशहरूमा आफ्नो सहभागिता जनाउँदै खेलको माध्यम बाट नेपालको नाम विश्व सामु चिनाउन मद्दत गर्ने कुरामा विश्वस्त छौ ।’’
कोरियाको मुंग्योङ सिटिमा जुलाई २६ देखि ३० सम्म हुने विश्व तेक्वान्दो हान्मादाङको लागी नेपाली खेलाडीहरूले गरेको तयारीको बारेमा कोरियन प्रशिक्षक नाम्हो क्वानले राजदूतलाई जानकारी गराएका थिए । प्रशिक्षक नाम्होले नेपाली खेलाडीहरू एकदम मेहनती रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग पाएमा उनीहरूलाई अझै राम्रो गर्न हौसला मिल्ने उल्लेख गरेका थिए ।
युएईका पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगन अधिकारीको नेतृत्वमा रहेको नेपाली टोली आज मङ्गलवार त्यस तर्फ प्रस्थान गर्नेछन् । नेपाली टिममा खेलाडीहरू सबिन पाण्डे, हरि कृष्ण विष्ट र शान्ति भण्डारीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रशिक्षक अधिकारीले जानकारी गराए । त्यसका लागी कोरियन प्रशिक्षक नाम्हो क्वान भने कोरिया गइसकेका छन् ।
विगत लामो समय देखी युएईमा रहेर तेक्वान्दो खेललाई निरन्तरता दिँदै आएका खेलाडी सबिन पाण्डे आफ्नै व्यवसाय गर्छन् भने अर्का खेलाडी हरि कृष्ण विष्ट आबुधाबी स्थित एक प्यालेसमा काम गर्छन् । त्यस्तै बिगबस टुर्समा कार्यरत अर्की खेलाडी शान्ति भण्डारीले मध्य पूर्वको पर्यटन क्षेत्रमा पहिलो महिला डबल–डेकर बस चालकको रूपमा आफ्नो परिचय स्थापित गरेकी छिन ।