फिलाडेल्फिया युनियनका १४ वर्षीय मिडफिल्डर,जसलाई भनिदैछ ‘भविष्यको मेसी’
पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको फिलाडेल्फियामा जन्मिएका काभान सुलिभान अहिले विश्व फुटबलमा चर्चित छन्।
सन् २००९ मा जन्मिएका मिडफिल्डर सुलिभान सनै उमेरमा व्यवसायीक फुटबलमा डेब्यू गरेका कारण चर्चित बनेका हुन्।
अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकर (एमएलएस) मा उनले गत साता कीर्तिमान समेत बनाए।
फिलाडेल्फिया युनियनमा आबद्ध सुलिभान एमएलएस खेल्ने सबैभन्दा कान्छा खेलाडी बने।
सुलिभानले गत साता पेन्सिल्भेनियाको सुबारु पार्कमा भएको न्यु इङ्ल्यान्ड रिभोलुसनविरूद्धको खेलमा आफ्नो शीर्ष डिभिजनको लिगमा डेब्यू गरेका हुन्। सो खेलमा फिलाडेल्फियाले ५-१ गोलको जित निकाल्दा उनी ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिर्दै इतिहास बनाए।
डेब्यूको दिन उनी १४ वर्ष र २९३ दिन उमेरका थिए। जससँगै उनले २० वर्षअघिको कीर्तिमान समेत तोड्न सफल भए। यसअघि सन् २००४ मा डिसी युनाइटेडका फ्रेडी अडुले एमएलएस खेल्ने कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए। त्यतिबेला उनी १४ वर्ष र ३०६ दिनको उमेरका थिए।
यति मात्र होइन सुलिभानको नाममा उत्तर अमेरिकाको शीर्ष डिभिजनको लिग खेल्ने कान्छा खेलाडी कीर्तिमान पनि बन्यो।
सुलिभानको नाता दक्षिण एसिया र युरोपमा समेत जोडिएको छ। सुलिभानका हजुरआमा सुल्तना अलाम युनिभर्सिटी अफ पेल्सिनभानियामा अध्ययनका लागि अमेरिका आएकी थिइन्। त्यतिबेला उनी संयुक्त राष्ट्र संघमा समेत काम गर्थिन्।
सुल्तनाले पछि विश्वविद्यालयका विख्यत जर्मन प्राध्यापक क्रिपेन्ड्रोफसँग विवाह गरिन्। सुल्तना र क्रिपेन्ड्रोपकी छोरी हेइकबाट जन्मेका सुलिभानलाई लिएर अहिले बंगलादेश र जर्मनीमा समेत चर्चा सुरु भएको छ। रोचक त के भने सुलिभानकी आमा पनि व्यवसायिक फुटबल खेलाडी थिइन्। उनले डिभिजन-१ फुटबल खेल्ने क्रममा पेन वुमन्स टोलीको कप्तानी समेत गरेकी थिइन्।
सुलिभानले सन् २०२० मा ११ वर्षको उमेरमा फिलाडेल्फिया युनियनको एकेडेमीमा भर्ना भएर फुटबल सिकेका थिए। त्यसको तीन वर्षपछि उनले अमेरिकाको यू-१५ राष्ट्रिय टोलीबाट समेत खेले। अमेरिकाले सन् २०२३ मा उत्तर अमेरिकाको यू-१५ च्याम्पियनसिप जित्दा सुलिभानले महत्वपूर्ण योगदान दिएका थिए।
उनले गत मेमा फिलाडेल्फियासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए। सुलिवानको दाइ क्विन पनि पनि युनियनबाट खेल्छन्। उनी अहिले २० वर्षका भए।
सुलिभानले फिलाडेल्फियासँग सन् २०२८ सम्मका लागि सम्झौता गरेका छन्। जब उनी २०२८ मा १८ वर्षको पूरा हुन्छन् उनी इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा आबद्ध हुने उनका परिवारलाई उधृत गर्दै इएसपिएनले लेखेको छ।
उनी जर्मनीको राष्ट्रिय टोलीबाट खेल्न समेत योग्य छन्। सन् २०२४ को मार्च स्पेनिस मिडिया मार्काले उनलाई ‘नयाँ मेसी’ समेत संज्ञा दिएको थियो। त्यसैले उनलाई अमेरिकन फुटबलको भविष्य भन्दा फरक नपर्ला।
फोटो : फिलाडेल्फिया युनियन
एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने
July 26, 2024 @ 11:45 pm
[…] फिलाडेल्फिया युनियनका १४ वर्षीय मिडफ… […]