अरभिङ्ग एभरेष्ट लायन्स क्लबद्वारा क्यान्सर पीडित बाल-बालिकालाई आर्थिक सहयोग
टेक्सस/ अरभिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स क्लब (आइइसीएलसी) ले नेपालमा क्यान्सर भएको पत्ता लागेका दुई फरक-फरक बालबालिकालाई जम्मा एक लाख रुपैयाँ नेपाली सहयोग गरेको छ।
साढे दुई वर्षीय काठमाडौँ निवासी बालक रेव्यान खड्गीलाई रु ५० हजार र सिन्धुपाल्चोक निवासी १० वर्षीय बालिका दृष्टि बोहरालाई ५० हजार चन्दा प्रदान गरिएको थियो । दुवै जना केही समयदेखि बोन म्यारो क्यान्सर र ब्लड क्यान्सरसँग लडिरहेका छन् । दुवैको काठमाडौँमा उपचार भइरहेको छ ।
लायन्स क्लब इन्टरनेशनलले कार्य गर्ने प्रमुख आठ क्षेत्रहरू मध्ये बच्चाहरूमा हुने क्यान्सर उपचार तथा सचेतना कार्यक्रम अन्तर्गत, क्लबले यी बालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ ।
क्लबले कोलेरेक्टर क्यान्सर सचेतना महिना गत मार्चमा बच्चाहरूमा हुने क्यान्सर उपचार तथा सचेतना कार्यक्रममा लायन्सका सदस्यहरू र समुदायका शुभचिन्तकहरूबाट रकम जुटाएको थियो।
क्लबले उठाएको क्यान्सर उपचार तथा सचेतना कार्यक्रममा कमल शर्मा फाउन्डेसनले समेत सहयोग र सहभागिता जनाएको थियो । सच्चा सामाजिक कार्यकर्ता दुई छोरा र एक छोरीका पिता कमल शर्माको गत वर्ष डलास, टेक्ससमा क्यान्सरबाट मृत्यु भए पछि यो संस्थाको स्थापना भएको हो ।
क्यान्सर पीडित बाल-बालिकाहरुको यो कठिन समयमा, सानो सहयोगले पनि केही चिकित्सा खर्चहरू कभर गर्न सक्छ भनी यो रकम सहयोग गरिएको क्लबका सभापति राजेन्द्र कुँवरले बताए।
२०१८ देखि, अरभिङ्ग एभरेस्ट सेण्टेनियल लायन्स क्लबले स्थानीय र विश्वव्यापी समुदायलाई सेवा दिइरहेको छ। क्लबका लायन जेन श्रेष्ठले नेपालमा यस सहयोगका लागि पीडितहरूलाई सम्पर्क र समन्वय गरेका थिए।