वेद खरेललाई तीन अध्यक्षका प्रत्याशीको समर्थन !
न्यू योर्क / नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी तेस्रो महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेतृत्व चयनका लागि तीव्र छलफल सुरु भएको छ।
आगामी अगस्त १४ देखि १६ सम्म भर्जिनियामा हुन गइरहेको महाधिवेशनको पूर्वसन्ध्यामा न्यू योर्कमा बुधवार बसेको एक बैठकमा भावी अध्यक्षका आकांक्षी वेद खरेललाई अन्य तीन जना प्रत्याशीहरूले समर्थन गर्ने सहमति भएको जनाइएको छ।
बैठकमा नेपाली जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष आनन्द विष्ट सहित अध्यक्ष पदका आकाङ्क्षीहरू भरत अर्याल, गौतम दाहाल र विनोद भट्टको उपस्थिति रहेको थियो। सहमतिको प्रयासका लागि अर्याल टेक्ससबाट, दाहाल बाल्टिमोरबाट र भट्ट नर्थ क्यारोलीनाबाट न्यू योर्क आइपुगेका थिए।
सुरुमा सबैको दाबी, पछि खरेललाई समर्थन
बैठकमा सहभागीहरूका अनुसार छलफलको सुरुवाती चरणमा सबै आकाङ्क्षीहरूले नेतृत्वका लागि आफ्नो बलियो दाबी प्रस्तुत गरेका थिए। तर, व्यापक छलफल र परामर्शपछि खरेलको नाममा सहमति जुटाउने प्रयास गरिएको हो।
‘सक्षम व्यक्ति आए सहयोग गर्छु तर दाबी छाडेको छैन’ – भरत अर्याल
बैठकका सहभागी एवं अध्यक्षका आकांक्षी भरत अर्यालले संस्थामा सही र सक्षम व्यक्ति आउनुपर्छ भन्ने आफ्नो स्पष्ट मान्यता रहेको बताए ।
उनले भने, “मैले आफ्नो दाबी छोडेको छैन, तर संस्थामा नयाँ र सक्षम व्यक्ति आएमा मेरो पूर्ण सहयोग रहन्छ।” अर्यालले आफू कुनै गुट वा समूहभन्दा माथि उठेर विशुद्ध संस्थाको हितमा लागेको समेत स्पष्ट पारे।
१२ वर्षपछिको महाधिवेशन: अन्य आकाङ्क्षीहरू ‘पर्ख र हेर’ को रणनीतिमा
लामो समय अर्थात् १२ वर्षपछि हुन लागेको जनसम्पर्क समिति अमेरिकाको यो महाधिवेशनमा भावी अध्यक्षका लागि आनन्द विष्ट नेतृत्वको कार्यसमितिका उपसभापति सिपी पौडेलले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
उनले आफू जुनसुकै अवस्थामा पनि प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । ‘म अर्ग्यानिक उम्मेदवार हुँ।’ पौडेलले भन्दै आएका छन् ।
यसैगरी, विष्ट कमिटीकै महामन्त्री मुनीन्द्र नेम्वाङ र पूर्व संयोजक विष्णु सुवेदीले भने तत्कालै निर्णय नगरी ‘पर्ख र हेर’ को रणनीति अपनाएका छन्।
महाधिवेशनको मिति नजिकिँदै गर्दा प्यानल निर्माण र चुनावी समीकरण फेरबदल हुने क्रम तीव्र बनेको छ।














