२६ वर्षको अन्तराल: जब एउटा पुनर्मिलन नयाँ यात्राको बिन्दु बन्यो
अंकित सापकोटा
वेस्ट भर्जिनिया / हामीमध्ये धेरैले स्कुलका ती पुराना दिनहरूलाई तस्बिरका पानामा सीमित ठानेका हुन्छौँ। तर, जीवनले मानिसलाई कहाँ-कहाँ पुर्याउँछ! कतिपय अनुहारहरू बदलिन्छन्, कतिपयले जिम्मेवारीका नयाँ भारी बोक्छन्, त कतिपयले समाजमा आफ्नै किसिमले नयाँ पहिचान बनाउँछन्। तर, यतिका वर्षहरूले भूगोल र दूरी बदल्न सके पनि ती पुराना सम्बन्धहरूको जरालाई कहिल्यै उखेल्न सक्दैन।
गत जुलाई ३१ देखि अगस्ट ३ सम्म, अमेरिकाको वेस्ट भर्जिनियामा यस्तै एउटा इतिहास रचियो। नेपालको गोलधाप शरणार्थी शिविरस्थित ‘ब्लुमिङ लोटस इङ्लिस स्कुल’ का एस.एल.सी. सन् २००० ब्याचका म सहित ३० जना साथीहरू २६ वर्षको लामो अन्तरालपछि पहिलो पटक एक ठाउँमा जम्मा भयौ ।
क्यालिफोर्नियादेखि वासिङ्टनसम्म, अमेरिकाका विभिन्न कुना कुनाबाट आएका ती अनुहारहरूमा भेट्ने उमङ्ग त थियो नै, सँगै जीवनका अनेकौँ उकाली-ओराली पार गर्दाका अनुभवहरूको गहिराइ पनि प्रस्ट झल्किन्थ्यो।
यो जमघट केवल पुराना दिन सम्झेर रुमल्लिनका लागि मात्र थिएन; यो त वर्तमानको यथार्थलाई स्वीकार गर्दै भविष्यप्रतिको एउटा साझा अठोट थियो।
बिहानको झिसमिसे उज्यालोसँगै सुरु हुने योग, ध्यान र प्राणायामले सबैको तन र मनलाई एकाग्र बनाउँथ्यो। शिविरमा सँगै पढेका साथीहरू आज कोही हिन्दू पुरोहित बनेका छन्, कोही नर्स, कोही बैंकको म्यानेजर, कोही योग प्रशिक्षक, कोही समाज सेवी त कोही सफल उद्यमी बनेका छन्। कोही आईटी परियोजना प्रमुख त कोही बने लेखक।

बाटोहरू फरक थिए, तर मुटुमा बस्ने स्कुलको त्यो साझा स्मृतिले सबैलाई एउटै धागोमा बाँधिरहेको थियो।
विशेष गरी, जब सबै जना एउटै हलमा बसेर बाल्यकालमा गाउने प्रार्थना र हनुमान चालिसा वाचन गर्थ्यौ, तब त्यहाँ एउटा अलौकिक शान्ति र ऊर्जा महसुस भयो। त्यसपछि सुरु भयो मन खोलेर आत्मीय कुरा गर्ने ‘खुला सत्र’। त्यहाँ कसैले पनि आफ्ना सफलताहरूको धाक लगाएनन्, बरु जीवनले सिकाएका पाठहरू, भोगेका सङ्घर्षहरू र मनका गहिराइबाट आएका यथार्थहरू साटे।
बाल्यकालको एउटा साथी अब केवल स्कुलको बेञ्चको सहयात्री मात्र रहेन, ऊ त जीवनका अनगिन्ती उतारचढाव पार गरेर आएको एक परिपक्व मानिस बनिसकेको थियो। कुरा गर्दागर्दै हाँसो गुञ्जियो, कतिपयका आँखाहरू रसाए, अनि शब्दहरू सकिएका ठाउँमा साथीहरूले एक अर्कालाई अङ्कमाल गरे। कडा अनुशासन र कहिलेकाहीँ शिक्षकहरूले दिएका पुराना सजायहरूको स्मरण पनि भयो। तर, त्यो कुरा कुनै तितोपनमा टुङ्गिएन। बरु, समयसँगै ती पुराना घाउहरूलाई क्षमाको लेप लगाएर कसरी बिर्साउने र मानसिक रूपमा हल्का हुने भन्ने गहिरो आत्म बोध त्यहाँ जाग्यो।

ती तीन दिनहरूले एउटा ठूलो पाठ सिकायो— सम्पत्ति भनेको बैंकको ब्यालेन्स मात्र होइन, ज्ञान, सीप, करुणा र एक अर्काको साथ पनि हो। यदि तीन दिनको भेटले यति गहिरो आत्मीयता र ऊर्जा दिन सक्छ भने, यदि यही विश्वासलाई वर्षौँसम्म जोगाइयो भने के सम्भव होला, के सम्भव नहोला?
यसैबिच, यो समूहले समाज कल्याण र मानसिक स्वास्थ्यलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ। आजको समसामयिक समाजमा बढ्दै गएका मानसिक समस्याहरूलाई न्यून गर्न योग, ध्यान, प्राणायाम, रेकी, अध्यात्म, आपसी मित्रता र विभिन्न रचनात्मक उपायहरूद्वारा सिंगो समाज र फराकिलो ब्लुमिङ लोटस परिवारबिचको परस्पर सम्बन्धलाई अझ प्रगाढ बनाउने विचार समूहले अगाडि सारेको छ।
सहभागीले एक जना साथीले भने, “२६ वर्ष पछिको पुनर्मिलन एउटा पुनर्मिलन मात्रमा टुङ्गिएन। यो त एउटा नयाँ युगको थालनी बन्यो।”

“ब्लुमिङ लोटस परिवार” को यो भावनाले सिंगो समाजलाई भविष्यमा अझ फराकिलो रूपमा जोडिन र नयाँ पुस्तालाई मार्ग निर्देशन गर्न प्रेरित गरेको छ। न्यु रिभर गोर्ज ब्रिजले जस्तै, यो ब्याच पनि विगत र भविष्यलाई जोड्ने एउटा बलियो पुल बन्न सकोस्; हामी सबैलाई हार्दिक शुभकामना!
आखिर, मित्रता सुरु भएको समयतिर फर्किनु भनेको पछाडि फर्कनु होइन। बरु नयाँ उचाइबाट जीवनको अझ सुन्दर यात्रा सुरु गर्नु हो।















