एक्रोन क्लासिक कप अगस्ट अन्तिममा
ओहायो/ एक्रोन क्लासिक कप फुटबल प्रतियोगिता अगस्त ३० देखि सेप्टेम्बर १ तारिख सम्म हुने भएको छ। क्लासिक कपमा गल्स, व्वाइज र भेट्रान्स गरी तीन समूहमा प्रतिस्पर्धा हुने जनाएको छ। सोही समयमा एक्रोन कप टी २० क्रिकेट पनि हुने भएको छ।
सहयोग फाउन्डेसन र यूथ स्पोर्टस इम्वाइमेन्ट एसोसिएसनको आयोजनामा फुटबल र क्रिकेट प्रतियोगिता हुन लागेको हो।
सहयोग फाउन्डेसनका अध्यक्ष डिल्ली सुवेदीका अनुसार कोप्ले सकर कम्प्लेक्स प्रतियोगिता हुने छ।
‘विशेष गरी समुदायमा सचेतना बढाउनका लागि हामीले खेलकुदको सहायता लिन लागेका हौ।’ अध्यक्ष सुवेदीले भने,’ मानसिक स्वस्थ चेतना र आत्महत्या विरुद्धको अभियान हो यो।’
‘हाम्रो समुदायमा आत्महत्याको क्रम बढ्दै छ, अस्ति भर्खर एक जना ११ वर्षको बालकले आत्महत्या गरे, अब हामीले मानसिक स्वास्थ्यका बारेमा समाजलाई सचेत गराउनु छ, हामीले हाम्रा प्रिय मान्छे गुमाउने क्रम रोक्नु छ त्यसैका लागि हामीले खेल प्रतियोगिता आयोजना गर्न लागेका हौ।’ सुवेदीले भने।
उनका अनुसार गल्स र भेट्रान्समा ८-८ टिम बिचमा प्रतिस्पर्धा गराइने छ। व्वाइज तर्फ भने १२ टिम सम्म दर्ता गरिने छ। यसै गरी क्रिकेटमा पनि १२ टिम सम्म दर्ता गरिने छ।
सुवेदीले आफूहरूको टिम ठुलो भएकोले एकै समयमा सबै प्रतियोगिता सफलता पूर्वक आयोजना गर्न सक्षम हुने दाबी गरे।
‘हामी सँग टिम ठूृलो छ, फुटबल र क्रिकेटका दर्शक फरक हुन् एकै समयमा प्रतियोगिता आयोजना गर्दा फरक गर्दैन।’ सुवेदीले भने।
उनका अनुसार सबै प्रतियोगिताको पुरस्कार बारे पछि सार्वजनिक गरिने छ। ‘हामीले अहिले प्रतियोगिताको मिति, सहभागी हुने टिम र खेल स्थल पक्का गरेका हौ, पुरस्कार लगायतका बारेमा छिट्टै सार्वजनिक गर्छौ, प्रायोजकहरू सँग कुरा भइरहेको छ त्यस पछि हामीलाई निर्णय गर्न सजिलो हुन्छ।’ सुवेदीले भने,’तर सबै टिमलाई दर्ता शुल्क एक हजार एक डलर लिने निर्णय भएको छ।’