नेपाल र अमेरिका बिचको खेल रद्द
टेक्सस/आइसिसी टी-२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ। आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो। तर खेल हुने स्थानको अत्यन्त खराब मौसमका कारण खेल रद्द भएको हो।
डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो। घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो तर त्यस पछि भारी वर्षा सुरु भयो र खेल स्थगन गरियो।
झन्डै ४५ मिनेट पछि वर्षा रोकियो। पिचको कभर पनि हटाइएको थियो। मैदानका कर्मचारीको दौडादौड त्यस बेला फेरि भयो जति बेला पुन वर्षा सुरु भयो। त्यस पछि भने अम्पायरले खेल रोक्ने निर्णय गरे।
अभ्यास म्याचमा नेपाल यस अगाडि क्यानडा सँग पराजित भएको थियो। दोस्रो पटक आइसीसी विश्व कप खेल्दै गरेको नेपालले समूह चरणको पहिलो खेल जुन ४ तारिख यसै मैदानमा नेदरल्याण्ड सँग खेल्ने छ। नेपालले दोस्रो खेल जुन ११ तारिख फ्लोरिडामा श्रीलङ्का सँग खेल्ने छ। नेपालले समूह चरणमा बङ्गलादेश र दक्षिण अफ्रिका सँग वेष्टइन्डिजमा खेल्ने छ।
अमेरिकाले भने यस अगाडि बंगलादेशलाई हराएको थियो। अमेरिकाले वाम अपका खेलअघि टेस्ट टोली बङ्गलादेश विरुद्धको तीन खेलको टी-२० सिरिज २-१ ले जितेको थियो।
नेपाली टोली : रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, अभिनास बोहरा, सागर ढकाल।