होहल्लाकै बीचमा नीति तथा कार्यक्रम पारित
काठमाडौं । सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिएको हो ।
उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’
जेष्ठ १५ गते दिनको १ बजे संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने कार्यसूची पनि रहेको छ ।
उनले भने, ‘संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकोले सोही मितिमा दिनको १ बजे बैठक बस्ने गरि संयुक्त बैठक हुनेछ ।’
यसको साथै सदनको बाँकी कार्यक्रम कार्यसूचीबाट हटाएर अर्को बैठक जेष्ठ १५ गते दिनको ४ बजे बस्नेगरि आइतबारको बैठक स्थगित भएको छ ।