तपाईँको फोक्सो कस्तो छ?
ह्यारिसबर्ग/ पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गको डेरी स्ट्रिट नजिक एभिलियन स्ट्रिटमा रहेको रदरफोर्ड यूथ क्लबमा शनिवार डाउफिन काउन्टीको ड्रग एन्ड अल्कोहल विभागका अधिकारी स्वस्थ फोक्सोका बारेमा उपस्थित किशोर किशोरीलाई प्रस्टाउने प्रयास गर्दै थिए।
नेपाली र नेपाली भाषी भुटानी समुदायका १८ वर्ष भन्दा मुनिकाहरुको बाहुल्यता रहेको हलमा अधिकारीले उनीहरू सँग प्रयोगात्मक रूपमा नै स्वस्थ फोक्सो र अस्वस्थ फोक्सोको बारेमा बुझाउने प्रयास गरे।
सुर्तीजन्य पदार्थ ,धूम्रपान र ई-भेवले मान्छेको फोक्सोलाई कसरी बिगार्छ भन्ने सन्देश उनीहरू प्रयोगात्मक रूपमा नै दिन चाहन्थे। तपाईँको फोक्सोलाई कति असर पर्छ थाहा छ? उनीहरू आफ्नो सन्देशमा दोहोरो संवाद खोजिरहेका थिए।
उनीहरूले पहिला स्वस्थ फोक्सोले कसरी श्वास लिन्छ भनेर देखाए, त्यस पछि अस्वस्थ फोक्सो पालो आयो। सन्देश दिने क्रममा के कारणले फोक्सो अस्वस्थ हुन्छ भन्न पनि उनीहरूले भ्याए।
निकोटिनले हाम्रो शरीरलाई कसरी खराब बनाउँछ भन्ने सन्देश दिन खोजिएको थियो।
स्वस्थ र अस्वस्थ फोक्सोले कसरी श्वास लिन्छ तपाई पनि यो भिडियो हेर्न सक्नु हुन्छ
नेपाली भाषी किशोर किशोरी र काउन्टीका अधिकारीलाई एकै थलोमा ल्याउने काम एशियन रेफ्युजी युनाइटेड (एआरयु) लगायतका संस्थाहरूले गरेका हुन्।
एआरयु सँगै डाउफीन काउन्टी ड्रग एन्ड अल्कोहल विभाग, भुट्नीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) , ब्राइट ल्यानक्यास्टर, नेपाली क्लब एसोशिसन, युवा एन्ड एक्सन र इन्सफायर्ड टु एक्सफोरले कार्यक्रम गरेका हुन्।
‘युवा स्वास्थ्य दिवस’ नाम दिइएको कार्यक्रममा युवा वर्गलाई रोचक कार्यक्रमका बिच गम्भीर सन्देश दिन लक्ष्य आयोजकले बनाएका थिए।
‘हामी सफल भयौ’ एआरयुका सह-कार्यकारी निर्देशक/सीईओ रविन गुरुङले समाज टाइम्स सँग भने,’यसरी गरिएको कार्यक्रम हाम्रो पहिलो प्रयास थियो।’
‘हामीलाई थाहा थिएन, कति मान्छे आउँछन्, कसरी जान्छ भन्ने थियो तर एक सयको हाराहारीमा सहभागी भए, सबै जनाले रोचक रूपमा नै प्रस्तुत गरे।’ कार्यक्रमबाट उत्साहित गुरुङले भने।
त्यसो त कार्यक्रममा भाषण कम खेलकुद र सहभागी बिचमा अन्तर्क्रिया बढी गराइएको थियो।
कार्यक्रमको शुरुवातमा सहभागीलाई रुचि अनुसारको गतिविधि गर्न लगाइएको थियो। कोही बास्केटबल खेल्दै थिए भने केही चित्रकलामा व्यस्त थिए। केही सहभागिले आफ्नो नृत्यकला पनि देखाउन पाए।
त्यसो त हात पछाडि लगेर डोरीमा झुन्डाएको चकलेट मुखले टिप्नु पर्ने परम्परागत खेल पनि कार्यक्रममा सहभागी गरिएको थियो।
काउन्टीका अधिकारीले फोक्सोको प्रदर्शनी गर्नु अगाडि डा खेम अधिकारी र नेपाली भाषाका मानसिक थेरापिष्ट डिपी न्यौपानेले मानसिक स्वास्थ्यको बारेमा जानकारी गराएका थिए।
अर्को सत्रमा सहभागीलाई विभिन्न समूहमा विभाजन गरी पहिला उनीहरूले कार्यक्रमबाट के सिके भनेर छलफल गर्न लगाइएको थियो। त्यस पछि हरेक टोलीबाट एक जनाले सामूहिक रूपमा आफूहरूको छलफलको निचोड सुनाउन लगाइएको थियो।
सहभागीले आफूहरूलाई कार्यक्रम रोचक लागेको प्रतिक्रिया दिएका थिए। ‘कार्यक्रम मलाई रमाइलो लाग्यो, नयाँ साथी पनि बनाए।’ कार्यक्रममा सहभागि हुन ल्यानक्यास्टर बाट आएका सक्षम छन्त्यालले भने, ‘अब देखि हुने कार्यक्रममा पनि आउछु।’
‘भोलीका दिनमा अझ राम्रो गर्नु पर्छ भन्ने ठाउँ छन्।’ एआरयु सिइयो गुरुङले भने, ‘सहभागीले अर्को पटक सकर (फुटबल) र भलिबल पनि राख्नु पर्छ भन्ने सुझाव दिएका छन् हामीले त्यसलाई सकारात्मक रूपमा लिएका छौ।’
गुरुङले नयाँ पुस्तालाई लामो भाषणले सन्देश दिन नसकिने भए पछि उनीहरू सँग पुग्नु नयाँ उपाय अवलम्बन गरिएको बताए।
‘अब भाषणले मात्र ज्ञान बाढ्न सकिँदैन, उनीहरूलाई सृजनात्मक रूपमा सहभागी गराउनु पर्छ भन्ने हाम्रो सोच हो, त्यो सफल भयो।’ उनले भने। ‘रमाइलो गर्दै बहुमूल्य सिकाइको अवसर प्रदान गर्ने हो।’
‘यस क्षेत्रमा रहेका नेपाली भाषी तन्नेरी पुस्तालाई समाज सँग घुलमिल बनाउनु, एक अर्कामा सहयोगी बनाउनु, उनीहरूमा रहेका लजालु स्वभाव हटाउनु पनि हाम्रो उद्देश्य थियो।’ गुरुङले भने,’ समुदायका युवापुस्तालाई शारीरिक र मानसिक दुवै तर्फ स्वस्थ राख्दै साथीहरू सँग भेटघाट गराउने, नयाँ व्यक्ति वा समूहमा घुलमिल गराउने, एक अर्कामा बोल्न सिकाउने हाम्रो उद्देश्य हो, समुदायको भविष्यको कर्णदारले आफूलाई एक्लो महशुन नगरोस्।’
कार्यक्रमका थप तस्बीहरु…