नेपाल जर्नीले चितवनमा अपाङ्ग मैत्री पुस्तकालय बनाउँदै,सहयोगको आग्रह
टेक्सस/ अमेरिकामा स्थापना भएको नेपाल जर्नीले चितवनमा अत्याधुनिक अपाङ्गमैत्री पुस्तकालय बनाउन शुरु गरेको छ।
नेपाल जर्नीका अध्यक्ष मौषमी श्रेष्ठका अनुसार करिब तीन लाख अमेरिकी डलरको लागतमा पुस्तकालय बनाउन लागिएको हो।
‘२०१५ मा स्थापना भएको नेपाल जर्नी एक गैर सरकारी, गैर नाफामूलक संस्था हो। यसले विगतमा हेटौडामा पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरिसकेको छ, यसले विभिन्न स्थानहरूमा पुस्तकालय र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ। यस पटक हामीले चितवन रोजेका हौ।’ समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले भनिन्।
‘चितवनको परियोजना हाम्रा लागि महत्वकांक्षी नै हो’ श्रेष्ठले भनिन्,’ करिब साढे दुई लाख डलर भन्दा बढी खर्च हुँदै छ, हामी नेपालकै लागि नमुना हुने गरी अपाङ्गमैत्री विद्युतीय पुस्तकालय बनाउँदै छौ।’
भरतपुर महानगरपालिका ४ नम्बर वडामा बन्दै गरेको पुस्तकालयमा पुस्तक सहित कम्प्युटर माध्यमबाट पढ्न पाउने व्यवस्था हुने छ।
‘निकै पहिल्यै शुरु हुनु पर्ने काम हो तर कोरोना महामारी र अन्य प्रक्रियागत झन्झटहरूका कारण अलि ढिला शुरु भयो तर अब गति लिएको छ, रोकिँदैन। अध्यक्ष श्रेष्ठले भनिन्।
उनका अनुसार भरतपुर महानगरपालिकाले यसमा स्वामित्व ग्रहण गर्दै सहयोग गर्दै आएको छ। अहिले भवन निर्माणको काम भइरहेको छ। स्थानीय व्यक्तिहरूमा देखिएका केही दुबिधा र संशयको निवारणले पुस्तकालय निर्माण हुने निश्चित भए पछि यसको लागि आवश्यक आर्थिक सङ्कलन अभियानले पनि तीव्रता प्राप्त गरेको श्रेष्ठको भनाई छ।
नेपाल जर्नीको महत्त्वाकाङ्क्षी परियोजनालाई सफल बनाउन आफ्नै अगुवाइमा विभिन्न चरणका कामहरू भइरहेको उनले जानकारी दिइन्।
‘नेपालमा समिति गठन भई काम भइरहेको छ।’ अध्यक्ष श्रेष्ठले भनिन्,’ परियोजना सुनिश्चित गर्न उपाध्यक्ष बद्री श्रेष्ठलाई मुख्य संयोजक हुनुहुन्छ , राजीव श्रेष्ठ आफ्नो विशेषज्ञ अनुसार स्थानीय स्तरमा भवन इन्जिनियरको समन्वय भूमिकामा हुनुहुन्छ।’
त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय संयोजकमा भानु खरेल र धनञ्जय ढकाल तथा दिनानाथ न्यौपाने पब्लिसिटी कोअर्डिनेटरको भूमिकामा रहेको पनि अध्यक्ष श्रेष्ठले बताइन्।
‘समुदायमा रहेका सामाजिक व्यक्तिहरूले यसमा सक्दो सहयोग गरिरहेका छन्। यसको सुरुवाती चरणमा लागत तीन करोड रुपैयाँ भनिए पनि अहिले करिब तीन करोड २७ लाख लाग्ने अनुमान छ।’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘मूल्यवृद्धि वा अन्य कुनै परिवर्तनले यसको लागत केही बढ्न सक्छ।’
करिब ७२ सय ९५ वर्ग फिट क्षेत्रफल रहेको यो पुस्तकालयमा एक लाख बढी पुस्तक, कम्प्युटरका अलावा योगा केन्द्र र बैठक कक्ष समेत निर्माण हुनेछ। यसले पढ्ने विद्यार्थी देखि सर्वसाधारण जनता समेत लाभान्वित हुनेछन्।
दुई तले यो भवनको पहिलो तल्लामा एक सय जनाको क्षमता भएको मेडिटेसन/सभा हल, १७ जनासम्मको मिटिङ हल, २४ जनाको लागि कफी लाउन्ज र शौचालय रहनेछ।
माथिल्लो तल्लामा रिसेप्सन, प्रतीक्षा कक्ष, ७५ जनाको लागि पढ्ने ठाउँ, १२ जनाको लागि कम्प्युटर स्टेसन, बच्चाहरूको सेक्सन, अडियो भिडिओ सेक्सन, १० जनाको लागि ट्रेनिङ हल, एउटा अफिस, गिफ्ट कोठा र सर्भर कोठा र शौचालय लगायतका स्थलहरूको निर्माण हुनेछ।
श्रोतहरू जुटाउने क्रममा शिक्षा मन्त्री सुमना श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलिया लगायतका उच्च पदस्थ व्यक्तिहरूलाई भेट्ने र परियोजना बारे जानकारी गराउने काम पनि भइरहेको अध्यक्ष श्रेष्ठले बताइन्।
उनले आर्थिक सङ्कलन अभियान सोचे अनुरूप चलिरहेको र यो अभियानमा जोडिन सबै नेपाली समुदायलाई नेपाली जर्नीको तर्फबाट अनुरोध समेत गरिन्।
‘नेपाल जर्नीको अन्य विभिन्न भूमिकामा रहेर वा नरहेर पनि अमेरिका र विश्वका अन्य ठाउँहरूबाट समय, आर्थिक सहयोग वा अन्य तरिकाले स्वयंसेवा गर्ने सबैलाई हृदय देखि धन्यवाद समेत व्यक्त गर्नु गर्दछु।’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘यस्ता स्वयंसेवकहरूको कारण नै नेपाल जर्नीले यति ठुलो परियोजना सम्पन्न गर्न लागिरहेको हो। नेपाल जर्नीका सम्पूर्ण सदस्यहरू प्रति कृतज्ञता व्यक्त गर्दछु र म सम्पूर्ण नेपाली दाजुभाइहरूलाई यो महान् अभियानमा जोडिन समेत अनुरोध गर्दछु।’