अमेरिकामा रहेका पत्रकार खनालको गृहमन्त्री लामिछानेलाई पत्र
श्री रवि लामिछानेज्यू, सभापति, रास्वपा
तपाईको कर्तुत पढ्दा र सुन्दा मन वेचैन भएर आएको कारण चिप्रे आँखाले यो पत्र लेख्ने धृष्टता गरिरहेको छु । केही उँचनीच भए क्षमा दिनुहुनेछ । त्यो देशका नेताले बाटो बिराउँदा र अक्षम्य गल्ती गर्दा पनि हामी हाम्रो कलम कसरी नडोबी बस्न सक्छौँ र ? त्यसैले दुइ शव्द लेख्न लागेको हुँ, झाँक्रीजी अन्यथा नमान्नुहोला ।
विगतमा थुप्रै पटक शंकाको सुविधा पाएर तपाईमाथि आमजनताले विश्वास र भरोसा गरेका थिए र गत निर्वाचनमा जनमत पनि दिएका थिए तर तपाईले ती सबै जनताको विश्वास र भरोसालाई लात हानेर राष्ट्रिय ठगका रुपमा आफूलाई चिनाउनुभएकोमा ज्यादै दुखित छु । अरुको नाकको डाँडी भाँच्ने अभिष्ट बोकेर संसद छिर्नुभएका एउटा होनहार युवा आफ्नै नाकको डाँडी फुत्किएर अस्पतालको शैय्यामा पुग्नु योभन्दा ठूलो लज्जाको विषय अरु हुनै सक्दैन । यो राष्ट्रिय लज्जा पनि हो । मतदातामाथि भएको बज्रप्रहार पनि हो । जनमतको अपमान पनि हो । तथ्य र प्रमाणहरुले तपाई सहकारी ठग भएको कुरा छर्लंग भएको छ । यो घटनाबाट विशेषत चितवन र काठमाडौँका मतदाताहरुको शिर निहुरेको छ ।
निर्वाचनताका भन्नहुन्थ्यो, म तपाईहरुले दिनुभएको मतदानको अपमान र शिर निहुरिने गरी कुनै कार्य गर्नेछैन तर सत्ताको स्वाद पाएपछि ती सबै प्रतिवद्धता र प्रतीज्ञा बिर्सेर ठगीधन्दामा लिप्त भएर जनताको शिर निहुराउनुभयो । सहकारी ठग बनेको जगजाहेर भइसक्दा पनि प्रम प्रचण्ड, ओली र महान्यायाधिवक्ता समेतलाई आफ्नो पक्षमा बोल्न लगाउने जस्तो प्रपञ्च रचेर सत्तामा रहिरहने जुन प्रयास गर्दै हुनुहुन्छ त्यो लोकतान्त्रिक मूल्य र मान्यता विपरीतको हर्कत हो । नैतिक स्खलन हो । यस्ता हर्कतले प्रजातन्त्र बलियो हुँदैन र लोकतन्त्रको चिरस्थायित्वमाथि पनि प्रश्न चिन्ह खडा हुन्छ ।
लामिछानेज्यू
तपाई गृहमन्त्री भएपछि त रामराज्य नै होला भन्ने स्वैरकल्पनामा बसेका थिए केही मुठ्ठीभरका मानिसहरु । तर धेरैलाई थाहा थियो, तपाईले कुनै ठूला माछा समाउन सक्नुहुनेछैन र समाउनु नै भयो भने पनि त्यो फुत्किन्छ, । तपाईको काम गराइबाट यो कुरा पुष्टि भइसकेको छ र एउटा ओरालो लागेको बिरामी माछोलाई समाउने चेष्टा गर्नुभएको थियो तर त्यो प्रयास किञ्चित पनि काम लागेन र उत्तिखेरै करुणा जगाएर छोड्नुपर्यो । अरु कुनै ठूला माछाहरु समाउन तपाईले कुनै सत्प्रयास गर्नुभएन बरु आफै त्यहीँ माछाको हुलमा समाहित हुनुभयो ।
जनताले त चाहेका थिए काण्डै काण्डले पुरिँदै पुरिँदै गएका वाइडवडीदेखि एनसेलसम्मका, बूढी गण्डकीदेखि भुटानी शरणार्थीसम्मका, सुनदेखि पुनसम्मका दजनौँ फाइलहरु धूलो टक्टकाएर भए पनि खोल्नुहुनेछ र सयौँ नेताहरुलाई जेलको छिँडीसम्म पुर्याउनुहुनेछ भन्ने जनताको आशामाथि तुसारापात भएको छ । जनताको यो विश्वास विपरीत ती कुनै पनि फाइलहरु खोतल्ने हिम्मत गर्नुभएन बरु त्यही फाइलको माथिपट्टि तपाईकै नामको ठगी काण्डको अर्को फाइल आफैले लगेर राख्नुभयो । क्यावात् । जनविश्वासमाथिको यो अक्षम्य अपराधबाट तपाई अब उम्कन सक्नुहुनेछैन ।
पुराना र थोत्रा पार्टीका विचार र सिद्धान्त मरेका बूढा नेताहरुबाट वाक्क र दिक्क भएका जनताले तपाईहरुमाथि तपाईकै अनुहार र व्यवहार हेरेर एक पटक हेरौँ न भन्ने मनसायले तपाईहरुमाथि न्यायिक मत दिएका थिए । तर त्यसलाई तपाईले जतनले हिफाजत गरेर राख्न त सक्नुभएन भएन, सगरमाथाको चुलीमा पुग्ने लक्ष्य बोकेर निस्केको एउटा जोसिलो र आँटिलो युवा नाम्चे नपुग्दै भरियाकै नाम्लो छिनेर हिँड्नु सहकर्मीमथिको घात पनि हो । यो घातले तपाईलाई अब निको बनाउने छैन ।
पार्टीमा रहेका केही जोसिला र जागरुक युवाको बढ्दो साखमाथि पनि यो धन्दाले पटाक्षेप गर्ने कुरामा दिविधा छैन । मिसन ८४ को लक्ष्य ८१ सालको पहिलो महिना नकट्दै भड्खालोमा जाँकिएको छ । घण्टीको रालो चुँडेको छ । बालुवाको घरझैँ एकाएक भत्केको छ । यो सिर्फ तपाईकै कारणले हो । सायद तपाईको ठगी धन्दा थाहा पाइसकेर हुनसक्छ, रमेश खरेलले पार्टी परित्याग गर्नुभएको ।
लामिछानेज्यू, तपाई युवाका ढुकढुकी हुनुहुन्थ्यो । एउटा मानक र आदर्श हुुनुहुन्थ्यो । तपाई एकाएक चिप्लनुभयो । यो कसैले षणयन्त्रमूलक ढंगले गरेको कृत्य पनि होइन, तपाई आफैले गरेको कृत्य हो । तपाईको गल्तीको भागिदार तपाई त हुनुनै भयो अब युवापुस्ता पनि यो मारमा पर्नेछ ।
तपाइँका पार्टीका इमान्दार र योग्य सांसदहरु पनि यो मारमा पर्नेछन् । यतिमात्र होइन, तपाईजस्ता युवा पुस्तालाई विश्वास र भरोसा गर्नुपर्छ भन्ने मतदाताहरुलाई अब कसले सम्हाल्ने हो ? तपाईबाट अब के सिक्छन् युवापुस्ताले ? यो प्रकरणले एकातिर पुरानै बोतल ठीक भन्ने भाष्य सिर्जना हुनेछ भने नयाँ पुस्ताका नेता, पार्टी वा कार्यकर्तामाथि जनताले अब हत्तपत्त विश्वास पनि गर्नेछैनन् । यसले जनताको भरोसा र विश्वास पनि गुमेको छ । यी सबै एउटै ड्याँगका मूला हुन्, खानै आएका रहेछन् भनेर जनताको निराशाको व्यारोमिटर माथि माथि उक्लेको छ । यो देशका लागि एक गम्भीर र खतरनाक संकेत हो । यस्ता राष्ट्रिय ठगहरुबाट जनता समयमै सचेत हुनु जरुरी छ ।
कृष्णराज खनाल , नर्थ क्यारोलिना ।