एमालेले रविलाई माया गर्न जरुरी छैन, कालो सर्प हुन् : अध्यक्ष थापा
पेन्सिल्भेनिया । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरिरहेका बेला सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संस्था प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले शक्तिशाली छानविन समिति बनाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले सहकारी घोटाला काण्डमा रवि लामिछाने धेरै तिरबाट शंकाको घेरामा रहेको पनि उल्लेख गरेका छन् । साथै उनले एमालेले रविको विषयमा यसरी ढाकछोप नगरेको भए हुने भन्दै आफ्नो विचार फेसबुकमा उल्लेख गरेका छन् ।
उनले लाखौं गरीब जनताले दुःख र थोपा थोपा गरेर जम्मा भएको पैसा डुबेको अवस्थामा सबैले न्याय पाउनका लागि शक्तिशाली समिति बनाउन माग गरेका छन् ।
अमेरिकामा बस्दै आएका अध्यक्ष थापाले रविलाई मात्रै माया गर्न जरुरी नभएको बताउँदै उनलाई ‘कालो सर्प’ को संज्ञा दिएर दूध ख्वाएर पाले पनि मौका पर्नासाथ डस्ने भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।