कालु सिंह स्मृति च्याम्पियनसिपका लागि ४० हजार अमेरिकी डलर संकलन
ह्यारिसबर्ग / कालु सिंह स्मृति च्याम्पियनसिपको आठौँ संस्करणका लागि ४० हजार अमेरिकी डलर संकलन भएको छ।
भुटानी फुटबलका चर्चित हस्ति लेफ्टिनेन्ट कालु सिंह तामाङको स्मृतिमा हुँदै आएको भेट्रान प्रतियोगिताका लागि आइतबार साँझ पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आयोजित “फन्ड रेजिङ गाला” सो रकम संकलन भएको हो।
यस पटक देखि च्याम्पियनसिप एसियन रिफ्युजी युनाइटेड (एआरयु) ले आयोजना गर्दै छ। यस अगाडि कालु सिंहका परिवार र साथीभाइको व्यक्तिगत रूपमा प्रतियोगिता आयोजना गर्दै आएका थिए।
एआरयु अन्तर्गत रहने गरी रत्न गुरुङको अध्यक्षतामा च्याम्पियनसिप आयोजक कमिटी गठन गरिएको छ।
‘च्याम्पियनसिपका लागि हामीले ४० हजार अमेरिकी डलर संकलन गर्न सफल भयौ, यसका लागि सबैलाई धन्यवाद।’ फन्ड रेजिङ गालाको समापन गर्दै च्याम्पियनसिप आयोजक कमिटीका अध्यक्ष रत्न गुरुङले भने।
उनका अनुसार यो रकम क्लबहरूको दर्ता शुल्क बाहेक हो। ‘दर्ता शुल्क हामीले एक टिमलाई एक हजार तोकेका छौ, त्यसको अर्थ अझै हामीलाई आठ दश हजार थप रकम प्राप्त हुन्छ।’ रत्नले भने।
रत्न गुरुङका अनुसार अहिले सम्म आठ हजार डलर खर्च भएको छ। उनले अब पनि खर्चमा किफायती हुने र बचत रकम ‘सकर फर सक्सेस’ कार्यक्रममा लगाउने बताए।
‘सकर फर सक्सेस’ एआरयुको दीर्घकालीन र महत्त्वाकाङ्क्षी कार्यक्रम हो। यस कार्यक्रममा किन्नर गार्डेन देखि आठ कक्षा सम्मा बालबालिकाहरूलाई फुटबल सिकाउँदै आइएको छ।
“फन्ड रेजिङ गाला” मा आयोजक कमिटीका सदस्य विनय लुइँटेलले कालु सिंह र च्याम्पियनसिपको बारेमा प्रकाश पारेका थिए।
उनले च्याम्पियनसिप कालु सिंहको सम्मान मात्र नभई समुदायका बालकालिकाहरुको भविष्य पनि हुने बताए। लुइँटेलले सकर फर सक्सेस कार्यक्रममा कालु सिंह जस्तै चर्चित खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे।
कार्यक्रममा एआरयुका सह-कार्यकारी निर्देशक तथा सीईओ रबिन गुरुङ र सकर फर सक्केसका प्रशिक्षक दिल कुमार मगरले आफ्नो परियोजनाका बारेमा प्रस्टाएका थिए।
“फन्ड रेजिङ गाला” मा हेम तामाङको बाँसुरीको सुमधुर धुन सहित साङ्गीतिक कार्यक्रमको सुरुवात भएको थियो। नेपाली भाषी भुटानी समुदायकै चर्चित उद्घोषक प्रजित राणाले सञ्चालन गरेको कार्यक्रममा महेश थुलुङ, विमल थुलुङ बाला गुरुङले प्रस्तुति दिएका थिए।
यस्तै युवा गायक सविन सुब्बाले पनि प्रस्तुति दिएका थिए।
फ्लेमिङ्गो ब्यान्डका गणेश गुरुङ, उत्तम गुरुङ, ग्रिस गुरुङ, दीपक गुरुङ, लोकेश गुरुङ, सुसन राई र साइमन भण्डारीले पनि प्रस्तुति दिएका थिए।
त्यसो त आयोजक टिमका अध्यक्ष रत्न गुरुङ स्वयमले गितारमा साथ दिएका थिए। यस्तै रविन एण्ड लुजा ब्यान्डका पूर्व ड्रमर राजेश खड्कीले पनि प्रस्तुति दिएका थिए।
च्याम्पियनसिप जुनको २२ र २३ तारिख ह्यारिषबर्गको लिङ्गल पार्क (1100 Pleasant Dr, Harrisburg, PA 17111) हुने छ।
आयोजक कमिटीका अध्यक्ष रत्नका अनुसार च्याम्पियनसिपमा आठ टिमको सहभागिता पक्का भइसकेको छ। थप दुई टिमका बारेमा शुक्रवार सम्म टुङ्गो लाग्ने छ।
‘प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाउने भएकाले हामीलाई आठ टिम हुँदा दुई समूहमा विभाजन गरेर खेलाउन सजिलो हुन्छ, अब नयाँ टिमलाई दर्ता गर्ने नगर्ने भन्ने हामी सल्लाह गर्छौ।’ रत्नले भने।
को हुन कालु सिंह
च्याम्पियनसिप आयोजक कमिटीका सदस्य बृख गुरुङका अनुसार कालु सिंह तामाङ भुटानको ड्रुक ११ बाट खेल्ने कुशल नेपाली भाषी खेलाडी हुन्। ड्रुक ११ नै पछि भुटानको राष्ट्रिय टिममा रूपान्तरण भएको हो।
भुटानको साम्जी जिल्लाको सिप्सुमा १९९५ मा जन्मिएका कालु सिंह भुटान रोयल आर्मीमा भर्ती भए पछि फुटबलमा झन् सक्रिय भएका हुन्।
भुटानलाई प्रतिनिधित्व गर्दै कालु सिंहले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। यो क्रममा उनी नेपालमा पनि खेलेका थिए । पछि भुटानमा आन्दोलन चर्किए पछि कालु सिंह पनि खेदिए र झापाको बेलडाँगी शिविरमा बसेका थिए।
‘हामी जति पनि भुटानबाट निस्किएका साथीहरूले धेरैले उहाँ सँग क्याम्पमा फुटबल सिक्न पायौ,’ पत्रकार सम्मेलनमा गुरुङले भने, ‘हामी त्यसमा धेरै नै धन्य छौ।’ केही समय अगाडि आयोजित पत्रकार सम्मेलनमा बृखले भनेका थिए।
बृखका अनुसार कालु सिंहको ४४ वर्षको उमेरमा सन् १९९८ मा नेपालमा निधन भएको थियो। जुन समय कालु सिंह भर्खर मात्र दार्जिलिङमा भएको प्रतियोगिता खेलेर फर्किएका थिए।
त्यस पछि झापामा नै कालु सिंहको स्मृतिमा प्रतियोगिता भएको थियो। शिविरमा रहेकाहरू अमेरिका आए पछि सन् २०१७ देखि यो प्रतियोगिता पुन सुरु भएको हो। अमेरिकामा पहिलो संस्करण नर्थ क्यारोलाइनामा भएको थियो। दोस्रो संस्करण ओहायोको एक्रोनमा भएकोमा त्यस पछिका सबै संस्करण ह्यारिसबर्षमा हुँदै आएका छन्।
कार्यक्रमका थप तस्बीरहरु