अमेरिकामा प्रेमराजा महतले दमन विक्रमलाई लगाए सिस्नु (भिडियो सहित)
मेरील्याण्ड/ अमेरिकामा नेपाली समुदायको कार्यक्रमहरूको उद्घाटन प्रायशः उस्तै उस्तै हुन्छन्। प्रमुख अतिथिले पानसमा बत्ती बाल्ने, मैनबत्ती बाल्ने वा रिबन काट्ने अनि दर्शक दीर्घाले ताली पड्काउने।
तर सुदूरपश्चिम नेपाली समाज मेरील्याणले आइतबार आयोजना गरेको बिसु पर्वको उद्घाटन भने अलिक फरक थियो।
प्रमुख अतिथि नेपाल सरकारका अवैतनिक महावाणिज्य दूत प्रेमराज महतले समारोहका सभापति समेत रहेका समाजका अध्यक्ष दमन विक्रम शाहलाई सिन्नु लगाएर कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रम सञ्चालन समाजका सदस्य भीम बिकेको अनुरोध पछि अवैतनिक महावाणिज्य दूत महतले अन्य अतिथि सबैलाई पालैपालो सिस्नु लगाए।
सामान्य अर्थमा सिस्नु लगाउनु भनेको सजाय दिनु हो। तर समाजका अध्यक्ष शाह आफूहरूको संस्कारमा सिस्नु लगाउनुको विशेष अर्थ भएको भएको बत्ताउँछन्।
‘यो हाम्रो संस्कार हो, नयाँ वर्ष अर्थात् बिसु वर्षको मौलिकता हो’ समाज टाइम्स सँग शाहले भने, ‘खासमा त देवर भाउजूले सिस्नु लगाउनु पर्ने हो तर यहाँ परिवेश अलिक फरक भएकाले हामीले प्रमुख अतिथिबाट सिस्नु लगाएका हौ।’
‘खासमा झ्याप्पै सिस्नु लगाउने अनि रमाइलो गर्ने हो।’ उत्साहित हुँदै शाहले भने,’ त्यही तरिकाले मनाउँदा यहाँको भूगोलमा मान्छेलाई टच गर्न हुँदैन, मान्छेलाई सोध्नु पर्छ भन्ने खालको माइन्ड सेट छ, त्यसले गर्दा पनि लाउन चाहनेले पनि डराएर लगाएनन्, यो त झ्याम्म हान्ने हो थाहा नहुने मान्छे रिसाउन सक्लान् त्यो हिसाबले नेपालमा जस्तै ठ्याक्कै चैँ गर्न सकेनौ तर साङ्केतिक रूपमा बुझाउन सक्यौ।’
शाहले नयाँ वर्ष सँगै पुराना कुरा भुलौँ, रिस त्यागौँ भन्ने सन्देश पनि यो पर्वले दिने बताए। ‘पाप पखाल्ने भनेर कसै कसैले ओ हो देवर भाउजूले सिस्नु लाउने तिनका बिचमा अनैतिक सम्बन्ध छ कि क्या हो त्यही पखाल्ने भनेर पनि बुझ्लान् त्यो उल्टो हो।’ शाहले भने, ‘वर्ष भरी एउटै घरमा बस्दा कतिपय कुरामा चित् बुझ्छ बुझ्दैन बोलीचाली बन्द हुन्छ कहीँ न कहीँ साङ्केतिक रूपमा रिस त पोख्नु पाउनु पर्यो नि सिस्नुले झ्याम्म हान्दा रिस पनि मर्यो फेरि बोल्ने वातावरण पनि भयो त्यसले वर्ष भरी भएका कुण्ठा पिडा त्यो सिस्नु हानेर निकालेर क्लियर भयो पिलो निचोरेर खिल निकालेकै जस्तो भयो।’
संस्कृतिविध तीर्थ पाण्डेका अनुसार सिस्नु हान्नु मौलिकता सँगै आयुर्वेद सँग पनि जोडिएको छ।
‘सिस्नु लगाए पछि छालामा लाग्ने रोगहरू हुदैनन, जोर्नी दुख्ने रोग निको हुन्छ भन्ने भनाइ छ।’ पाण्डेले भने, ‘देवर भाउजू बिचमा भएको मनमुटाब छरछिमेक बिचमा भएका मनमुटाब मेटाउने दिन पनि हो।’
अध्यक्ष शाहले मेरील्याण्डमा पहिलो पटक आयोजित बिसु पर्व भव्य भएको प्रतिक्रिया दिए। ‘पहिलो पटक गरेका हौ, यसलाई हामी विशाल रूपमा सफल भएको मान्छौ।’ शाहले भने, ‘दुई सय लगभग हामी सुदूरपश्चिमकै थियौ, सबै गरेर चार सय भन्दा धेरै जम्मा भयौ।’
शाहले आफूहरूले खानपिन मात्र नभई संस्कृति दोस्रो पुस्तामा हस्तान्तरणका लागि पनि कार्यक्रम आयोजना गरेको दाबी गरे।
‘हाम्रा केटाकेटीले यसलाई हेरिरहे भने भोली देख्या कुरा त फ्लासब्याक आउन सक्छ, ए बिसु पर्वमा सिस्नु हान्नु पर्छ है भन्ने त रहिरहन्छ नि।’ शाहले भने।
उनले अब सुदूरपश्चिम नेपाली समाज मेरील्याण्डले वर्षमा दुई वटा कार्यक्रम निरन्तर आयोजना गर्ने बताए।
‘मेरील्याण्डमा रहेका नेपाली समाजले केही न केही गरिरहेका छन्। हामीले पनि आफ्नो मौलिकता किन नजोगाउने भन्ने भयो। पिकनिक खाने भन्दा पनि त्यहाँबाट केही सिकुन् भन्ने छ।’
प्रमुख अतिथि महतले प्रवासमा नेपालीहरू जहाँ रहे पनि नेपाली भाषा, संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिए।
यस्तै मेरील्याण्डका डेलिगेट ह्यारी भण्डारीले आफ्नो संस्कार र संस्कृतिलाई अमेरिकामा पनि निरन्तरता दिएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) अध्यक्ष सुबोध पन्त लगायतले सम्बोधन गरेका थिए।
सुदूरपश्चिमका चर्चित कलाकारहरू चाँदनी मल्लले विभिन्न डेउडा गीत तथा कलाकार शङ्कर सिंह विष्टले छलिया तथा हुड्केली नृत्य प्रस्तुत गरेका थिए । डेउडा खेल्नुका साथै छलिया, हुड्केली तथा पुतला नाच प्रस्तुत गरिएको थियो।