अष्ट्रेलिया देखि अमेरिका सम्मको यात्रा
कमल खनाल
अष्ट्रेलियामा समरको लामो गर्मी सकिँदै थियो। उत्तौलिएर आएको चिसो स्याँठले अष्ट्रेलियाको बिहान बेलुकाको मौसमलाई चिसो बनाइ रहेको थियो। मौसम परिवर्तन हुने समय भएर होला चिसो स्याँठ चल्न थालेको। गर्मी सिद्धिने र जाडो आउने बिचको समय अगाडि नै मैले अष्ट्रेलिया छोड्नु पर्यो।
अष्ट्रेलियाको जाडो मौसम कस्तो हुन्थ्यो त्यो अनुभव लिन समय कुर्न पर्ने भयो। मैले अष्ट्रेलियाको अर्को यात्रालाई जीवितै राखेर फर्किरहेको थिए। गर्मी यामको लामो समय मैले अष्ट्रेलियामा नै बिताए।
अष्ट्रेलियाको तातो गर्मीको अनुभव राम्रै सँग भयो। हुन त अष्ट्रेलियामा त्यो खालको गर्मी नहुँदो हो त समुद्री किनारहरूको महत्त्व र मानिससँग समुद्रको मित्रता हुन्थेन होला। केवल हावाका झोक्काहरूसँग मात्रै हुन्थ्यो होला। मानिस बिना अष्ट्रेलियाको भूगोललाई घेरेर बसेका समुद्री किनारहरूको महत्त्व कति रहन्थ्यो होला? जङ्गलमा रहने पशुपक्षीहरूले त समुद्रको पानी पिउँदैनन् भने मानिस बिनाको समुद्रको अर्थ नै रहन्थेन।
मानिसले मात्र रहेछ समुद्र र समुद्र किनारको भरपुर उपयोग गर्ने। हामीले हेरेका, डुलेका र खेलेका समुद्री किनारहरूलाई मानिसहरूले घर जत्तिकै नै महत्त्व दिँदा रहेछन्। त्यसैले समरको मौसममा घरमा भन्दा बाहिर नदी किनारहरूमा मानिसहरू रमाइ रहेका देखिन्थे। समरमा घरमा बस्नु भनेको चरालाई पिँजडामा राख्नु बराबर हुने रहेछ। घरमा खाना पकाएर खान लामो बिदा आउनु पर्ने रहेछ। काम, माम सबै घर बाहिर। घरको उपयोग केवल पानी र हुरीका लागि मात्र जस्तो देखिन्थ्यो।
मानिसहरूको दैनिकी र जीवन शैलीमा कत्रो अन्तर देखिन्थ्यो मूलवासी र आप्रवासीमा। तर धेरै कुराहरूलाई भने आप्रवासीहरूले पनि अनुसरण गरेको पाइयो। बिदाका दिनहरूमा घर छोडेर घुम्न जाने चलन धेरैमा रहेछ। सकेसम्म बिचमा जाने र पानीसँग रमाउने,आनन्द लिने प्रकृतिसँग मित्रता कायम गर्ने त्यति नभए पनि घर छोडेर एक डेढ घण्टाको लामो ड्राइभमा रमाइलो ठाउँहरू तिर घुम्न जाने रहेछन्।छोरा छोरीहरूको बिदाका दिनहरू यसरी बिताउने गरिँदो रहेछ।
हामीले समरको प्रचण्ड गर्मीको समयलाई पनि भरपुर उपयोग गरियो। रमाइलो भयो। कल्पना भन्दा बाहिरका दृश्यहरू आँखा भरि राख्यौ र भ्रमणलाई अविस्मरणीय बनाउने कोसिस गर्यौ। धेरै उत्सुकताहरूलाई मेटाउने काम भयो। भूगोलको अन्तर र पृथ्वीको आकार बिचको आकर्षणमा गहिरो भेद छुट्टाउने काम समेत गरियो। प्राकृत र अप्राकृत दृश्यहरूले दिएको मनोरञ्जन र आनन्दले धेरै कुराहरू सोच्न बाध्य बनायो। निरन्तरको घुमाइले अष्ट्रेलियाको बसाइ सकिएको पनि पत्तै भएन।
अचानक आमाले सोध्नु भएको थियो बाबु कति छ अष्ट्रेलियाको बसाइ ? आमाले सोधे पछि अष्ट्रेलियाको बसाइको समय सकिएको अनुभूत भयो मलाई । दुई दिन बाँकी हुँदा आमाले सोध्नु भएको रहेछ। अगिल्लो वर्ष आमा पनि अष्ट्रेलियाको भ्रमणमा हुनुहुन्थ्यो। आमासँगै अष्ट्रेलिया घुम्न जाने मेरो रहर पुरा भएन भनौँ साइत जुरेन । आमाले नेपाल आउने हो की? भनेर सम्झाउनु भएको रहेछ तर पन्ध्र मार्चमा अमेरिकाको लागि मेरो टिकट थियो।आमालाई खुसी दिन नेपाल आउने समय तोकेँ र फोन राखे।
“फेरि”को यात्रा
यस पटक अष्ट्रेलियाका घुम्नै पर्ने र हेर्नै पर्ने स्थानहरू छुटेनन्। बाहिरी दुनियाँबाट अष्ट्रेलियालाइ जसरी चिनिन्थ्यो, हेरिन्थ्यो र बुझिन्थ्यो। त्यसरी नै चिनाउने ल्यान्ड मार्कहरूलाई खोजी खोजी र दोहोर्याएर हेर्ने काम गरियो। टाढा बाट सुनिने अष्ट्रेलिया र देखिएको अष्ट्रेलियामा कति फरक पर्ने रहेछ भन्ने विषयगत बोध गरियो।
ओपेराहाउस ,हार्बर ब्रिज,ब्लुमाउण्टेन ,गोल्डकोष्ट ,सनसाइन कोष्ट र कङ्गारुको जीवनले धेरै मानिसहरूको मनलाई उद्वेलित बनाइ रहेको पाइन्थ्यो । जसरी मेरो बनाएको थियो। आज मेरो मन शान्त छ। जुन सोच र धारणा बनाएर म अष्ट्रेलिया पुगेको थिए। त्यो विषयलाई मनै हल्का हुने किसिमले बिसाए। अष्ट्रेलियालाइ चिन्ह र अष्ट्रेलियाको बोझिलो सोचलाई किनारा लगाउन मैले अष्ट्रेलियाको तेस्रो पटक भ्रमण गर्न पर्यो।
मेरो पहिलो र दोस्रो भ्रमणले हार्बर ब्रिज र ओपेराहाउसलाइ जिस्क्याउने गरी “फेरि “को सयर मात्र गराएको थियो । यस पटक देखाउने र देखिने गरी “फेरि” चडियो। “फेरि” चढेर हार्बर ब्रिज देखि र मेन्ली बिचमा सम्म पुगियो। धेरै रमाइलो भयो। हार्बर ब्रिजका दायाँ बायाँका सुन्दर दृश्यहरूलाई आँखा भित्र राखेर पानी माथिको सयर गरियो। प्यासिफिक ओसनले अष्ट्रेलियालाइ सम्पन्न देशको सूचिमा पुर्याएको रहेछ। हुन त कामै नगरी पुगेको त होइन। तर पनि अष्ट्रेलियाको सम्पन्नतामा धेरै कुराहरूले प्रभाव पारेको देखिन्छ त्यस मध्ये प्यासिफिक ओसनको प्रभावलाई पहिलो भन्दा पनि फरक नपर्ला। टुरिस्टहरूको आगमनको प्रभाव र खनिज तत्त्वको उत्पादन प्रमुख प्रभावका कारण रहेछन्।
बोन्डाई र मेन्ली “बिच”
धेरै र रमाइला “बिच”हरू मध्ये बोन्डाइ र मेन्ली नाम चलेका “बिच”हरू रहेछन्। गर्मीको समयमा हजारौँ हजार मानिसहरूको ओइरो लाग्ने “बिच”हरू रहेछन्, बोन्डाइ र मेन्ली “बिच”। बोण्डाइ र मेन्ली “बिच”का उत्तेजित र कामुक दृश्यहरूले दिनभर आनन्द दिइरह्यो र भुलियो समुद्रका छालहरूमा।”बिच”हरूमा मानिसले प्राप्त गर्ने आनन्द र प्रकृतिसँग मानिसको स्वच्छन्द प्रेमले दिएको खुसीलाई देख्दा लाग्थ्यो ,मैले पनि मेरा अदृश्य रहरहरूलाई यतै पोखेर खुसी लिन मन लागिरहेको थियो।
खुसी प्राप्त गर्न मेरा रहरहरू लालायित थिए। तर मेरा लागि सम्भव हुने विषय थिएनन्। मेरा रहरहरू जस्तै धेरैका रहरहरू थिए र त्यही पोखिरहेका थिए। छरपस्ट थिए जताततै भेटिन्थे।मैले आनन्द सँगसँगै खुसी पनि खोजिरहेको थिए तर खुसी भेट्न खोज्नु कठिन थियो।खुसी भेट्न मेरा रहरहरूले धेरै कोसिस गरे अहँ भेटिएनन्। खुसी खोज्न मेरा रहरहरू धेरै ठाउँमा भौतारिरहेका थिए। डुलिरहेका थिए । तर खुसी प्राप्त गर्न भने नसकिने रहेनछ। भोकले खाना खोजे जस्तो सजिलै नहुने रहेछ। भोक त रेस्टुरेन्टमा पसेर पनि मेटिने रहेछ। खुसी भेट्न र प्राप्त गर्न त त्यति सजिलो रहेन छ। आनन्द त एक्लै पनि भेटिने रहेछ। खुसी प्राप्त गर्न त …… खै ! खुसी खोज्दै ट्रेनको यात्रा गरे। ट्राम र बसको यात्रा पनि गरे। अग्ला टावरमा चढेर सुन्दर र सफा सहरहरू पनि हेरे।
गगनचुम्बी भवनहरूको तल्लो भागमा बसेर म्याक र के एफ सी खाएर पनि खुसी खोजे। खाँदाको मजा अर्कै हुने रहेछ। खुसी भने भेटिने रहेनछ। ओपेराको छेउ मै बसेर हार्बर ब्रिजलाई नियाँले र हेरे यसले त झन् मन नै पगाले र पानीमा तैराउने रहेछ। पर क्षितिजबाट पानी माथि कूंद्धै गरेको अजङको क्रुजलाई हेरिरहे ,त्यसले पनि यो मनलाई त्यसै त्यसै उडाई दिने रहेछ। मानिसहरूको हतार हतारको दौडाइ हेरि रहे। सबै मानिसहरू हतारै हतारमा यात्रा गरिरहेका छन्। ट्रेनमा देख्छु उस्तै ,बसमा देख्छु उस्तै ,ट्राममा देख्छु
उस्तै “फेरि”मा देख्छु उस्तै ,क्रुजका लागि उस्तै मानिसहरू हतार हतार गरिरहेको देख्छु। हरेक मानिसहरूको आ-आफ्नै सोच ,चिन्ता र सपनाहरू छन्। हरेकको चाहना फेरी पनि खुसी नै हो। खै कसरी प्राप्त गर्छन् खुसी? खुसी खोज्दा खोज्दै धेरै मानिसहरू थकित भए होलान् म जस्तै।
सिड्नी टावर र रिभल्भिङ रेस्टुरेन्ट
सिड्नीले धेरै मानिसहरूलाई जीवन जिउन सिकाएको छ। बाँच्नका लागि संघर्ष गर्न सिकाएको छ। सिड्नीले नेपालीहरूको जीवन शैलीलाई सुधारेको छ। पेशा र व्यवसायमा समर्पित नेपालीहरूको जीवन स्तरले हेर्दा लाग्छ हरेक नेपालीहरूलाई सिड्नीले बाँच्ने कला सिकाइ रहेको छ। अष्ट्रेलिया छोड्नु केही दिन अगाडि सिड्नीलाई पुन भेटेर बाँकी रहेका र हेर्नै पर्ने कुराहरूलाई हेरौँ जस्तो लाग्यो र सिड्नी टावरमा पुग्यौ ,टावर चढ्यौ।
टावरबाट देखिने ती दृश्यहरू आँखाले समेट्नै नसक्ने गरी छरिएका थिए। तिनै दृश्यहरूले दिने आनन्दले सिड्नीलाई अँगालो हालेर नछुट्टिने गरी बसिरहूँ जस्तो बनाइ रह्यो। सहरको बिचमा रहेको टावर सिड्नीको जीवन नियाल्नका लागि असाध्यै महत्त्वपूर्ण थियो भने रिभल्भिङ रेस्टुरेन्ट अर्को प्रख्यात मनोरञ्जन दिने स्थिर स्थल थियो।
रेस्टुरेन्टको माथिल्लो पलामा बसेर कफीको चुस्कीमा आनन्द लिँदा लिँदै सिड्नीको पुरै भूगोललाई नियाल्न सकिन्थ्यो। घुमेको चालै नपाइने गरी सिड्नीका चारै ध्रुवका अनगिन्ती दृश्यहरू हेरेर सिड्नीको प्रकृतिसँग रम्न सकिने र एक बसाइमा नै पुरै सिड्नी हेर्न सकिने आधुनिक प्रविधिको उपयोग गरेर निर्माण गरिएको अर्को आकर्षणको केन्द्र थियो रिभल्भिङ रेस्टुरेन्ट।
मार्च १५ बिहानको ९.४५ को समयलाई शुभ समय मानेर घरबाट निस्केको थिए अमेरिकाको लागि। घरबाट निस्कँदा मौसम धुम्म थियो। बाटोमा सिमसिम पानी परिरहेको थियो। ट्राफिकको कारणले छोटो बाटो हुँदै छोराले गाडी अगाडि बढायो।
मौसमले पनि मलाइ रमाइलो दिइरहेको थिएन। अबिकले मेरो अमेरिका यात्राको मेसो त्यति नपाए पनि एयरपोर्टबाट छुट्टिएर जाँदा बाइ भनेर हल्लाएको हात र चुम्बनले मलाइ असहज बनाइ रह्यो। मेरो घाटीमा गाँठो पर्ने गरी उसले बाइ भनेर हात हल्लाएको थियो। त्यस पछि मेरो मन अमिलिएर आयो। आँखामा आँसु भरियो । धेरै बेर सम्म गला अवरुद्ध भइरह्यो।
प्लेनमा बस्दा समेत अबिकको सम्झनाले मेरो पुरै अनुहार खुम्चिएको थियो। अबिकसँग भएका अनगिन्ती संवाद ,क्रिया र प्रतिक्रियाले मलाइ रमाइलो दिइरहेको थियो। कति रमाइला र रोमाञ्चक थिए उसका हाउ भाउ। उसको बोली र चाहनाले मलाइ प्रभावित बनाइ रहन्थ्यो। अबिकको उमेर र सोचमा धेरै ठुलो अन्तर पाइन्थ्यो । अविकले देखाएको अपनत्व र मैले अबिकलाई दिएको मायालाई अझै लामो बनाउन सकेको भए कति रमाइलो हुने थियो भन्ने लागि रह्यो । ५२ न को टनेल नजिक बसेर मैले यी कुराहरू सम्झिरहेको थिए। मानिसहरू सबै चटपटाउन थाले।
अबिकसँगका विगत सोच्दा सोच्दै प्लेनको बोडिङ्ग सुरु भएको अनाउन्स भयो । संयोग भनौँ कि भाग्यले भनौँ यो उडानमा सबै भन्दा पहिले मैले प्लेन भित्र प्रवेश गर्ने मौका मैले पाए। जीवनमा यति धेरै यात्रा गरियो कि कुनै पनि यात्रामा पहिलो यात्रीका रूपमा जहाज भित्र छिरेको यो पहिलो पटक थियो।
सन् २००० को सिड्नी ओलम्पिकबाट फर्कँदा थाइल्यान्डमा थाई एयरको उडानलाई मेरो कारणले करिब पन्ध्र मिनट रोकिएको थियो। समयमा उड्ने थाई एयरको उडान ढिला हुँदा प्लेन भित्र रहेका यात्रीहरूमा आशङ्का पैदा भएको थियो। किन ढिला भयो कसैलाई थाहा थिएन। केही समय पछि म जहाज भित्र प्रवेश गरेँ जहाजले आफ्नो गति अगाडि बढायो। सबैमा चिन्ता र उत्सुकता दुवै देखिन्थ्यो। जब म जहाज भित्र प्रवेश गरे सबैले मलाइ हेर्न थाले ।
जहाज समयमा नै उडान गर्न नसक्नुको महत्पूर्ण कारण केही थिएनन्। मेरा कारणले ढिलाइ भएको सबै यात्रुहरूलाई थाहा भयो। सायद मेरो बिजनेस क्लासको टिकट भएको भए मैले यात्रुको गाली धेरै खानु पर्थ्यो। इकोनोमी टिकट भएकोले हुनाले मेरा बारेमा अनुमान मात्र लगाए । कतिले अज्ञानी भने होलान्। कतिले पहिलो पटक यात्रा गरेको मानिस भने होलान्। त्यतिकैमा मैले माफी पाए।
काठमाडौँ लागि जहाजले उडान भर्यो। यो मेरो जहाज यात्राका क्रममा सृजित घट्नालाई मैले स्मरणमा सजाइ राखे। अहिले सम्म पनि भुल्न सकेको छैन। थाइल्यान्ड देखि काठमाडौँ सम्मका यात्रीहरूले सबैले मलाइ चिने।मेरा बारेमा सबैले आआफ्नै धारणा बनाए।धेरैले मलाइ मन मनै गाली पनि गरे होलान् निर्धारित उडान रोकिएकोमा। तर मेरो ढिलाइमा ती दुवै कारण थिएनन्।
मानिसहरूले आ-आफ्नो ढङ्गबाट मात्र सोचे। जहाजले निर्धारित समयमा उडान भर्न सकेन। त्यति बेला संसारकै भरपर्दो जहाजका रूपमा थाई एयरलाई मानिएको थियो। आज भने मैले घरबाट निस्कँदा गरेको साइतको फल पनि हुन सक्छ। सुन्दा र बुझ्दा त्यति ठुलो विषय नभए पनि संयोग त्यस्तै भयो।
झ्यालको सिट परेछ। ३६ ए को सिट परेछ। ३६ अङ्क भने पछि विपरीत दिशा तिर फर्केर रहने अङ्क हुन। दुवै सँगै रहे पनि एक अर्को बिच पिठ्यूँ फर्काउने काम हुन्छ। फेस टु फेस हुन सक्दैनन्। त्यसैले ३६ अङ्कलाई बेमेलको अङ्क पनि भनिन्छ। तीन सिटको “रो”थियो। ३४ ए मा एक अधबैँसे केटी थिइन। उ अमेरिकन थिइन जस्तो लाग्छ। कपाल कालो भएकोले शङ्का गर्ने ठाउँ थियो। तर अनुहारका छालाहरूले अमेरिकन हुन भन्ने जनाउ दिइरहेको थियो। देखिन्थ्यो पनि त्यस्तै । बिचको ३५ ए सिट खालि नै थियो। उनले हार्दिकताका साथ खालि सिट दुवैले सेयर गर्ने कुरा गरिन। खाना राख्ने डेस्क उनैले मिलाइ दिइन।
दुई बजेर चार मिनटमा फ्रन्ट गियर लगाएर र रन वे तिर लाग्यो जहाज । आकाश भरि बादल थियो। कता कति घामका प्रकाशहरू पनि आइरहेका थिए। जहाज रन वे सम्म पुग्न दश मिनट लाग्यो। २.१४ मा जहाजले फूल स्पिड लियो। २.१५ मा धर्ती छोड्यो र आफ्नो आकाशे गति र स्वरूपलाई मिलाउँदै लग्यो। पहिलो हाइट नै समुद्र माथि थियो। हुन त अबको १४ घण्टा पुरै समुद्र माथिको यात्रा थियो। घामका ज्योतिले समुद्र पुरै टल्किरहेको देखिन्थ्यो। जहाजले क्रमिक रूपमा हाइट लिँदै गयो। जहाजले हाइट मेन्टेन गरेको जानकारी जहाजका परिचारिकाले २.२३ मा यात्रुहरूलाई जानकारी गराएका थिए। भर्टिकल्लि समुद्र सतह र र जहाजको उचाइको दुरी बढ्दै गयो। होरिजेन्टल्लि समुद्र र जहाज समानान्तर रूपमा रहिरहेका थिए। जहाजले अबको १४ घण्टा निरन्तर र एकैनासमा उडिरहनु पर्ने थियो।
अबिकका बारेमा सोच्दा सोच्दै जहाजले दुई हजार माइलको उडान भरिसकेछ। एक पटक झ्याल खोले हेरे रिम रिम अँध्यारो छाइसकेको रहेछ। एकै छिन पछि मेरो नाम लिएर एक जहाज परिचारिका मेरो नजिक आइन। मेरो र सिटको जानकारी लिएर गइन। मलाइ लाग्यो खाना खुवाउने बेला भएछ। केही समय पछि मलाइ खाना आयो। बिचको सिट अगाडि रहेको खाना राख्ने डेक्स तिनै युवतिले मिलाइ दिएकी थिइन । रात बिस्तारै छिप्पिँदै थियो। निद्राले रातलाई सम्झेन।
जहाजको यात्रा अपडेट हेरेर समय बिताए। तर लामो यात्रामा एकै छिन भए पनि निदाएछु। कुन दिन निदाए थाहा भएन। युवतिले दुबै सिट नै कब्जा गरेर सुतिछन् । यात्राका क्रममा रुट दोहोरिँदा त्यति धेरै उत्सुकता जन्मिँदो रहेनछ। सोचहरू अनेक आए पनि यात्रामा रस थिएन। बिरसिलो यात्रा, त्यसमा पनि जहाजले खानेकुरामा गरेको कन्जुस्याइँले झनै पट्यार लाग्दो बनाएको थियो। अब यो रुटको यात्रा मेरो लागि अन्तिम जस्तै भयो। लामो बाटो र समय अनुसार खाना खान नपाउँदा जहाज र रुट दुवै अनुकूल भएनन् मेरा लागि । कफी पिएर एक रात बिताइएको थिए । पानी र कफी लाई मैले प्राथमिकतामा राखे। भोक र तिर्खा दुवै मेटिने गरी।
अबका यात्रामा जहाजमा लान मिल्ने खानेकुरा लिएर जाने सोच बनाएको छु। जाँदा खेरि प्राप्त खानामा भएको मेनु कटौतीले मलाइ केही असहज महसुस गरायो।
अष्ट्रेलियाको साढे चार महिनाको बसाइ पारिवारिक र साहित्यिक रूपमा सुखद रह्यो।अष्ट्रेलिया मेरो यो तेस्रो पटकको भिजिट थियो। घुमघाममा धेरै समय बिताइएछ। सिड्नीबाट ब्रीसवेनसम्मको घुमघामले बडो आनन्द दियो। ब्रिसवेनका बहु प्रचारित तर सुन्दर स्थानहरू गोलकोष्ट,सनसाइन कोष्ट ,ग्लास माउन्ट देखि कङ्गारु पोइन्ट सम्म र क्यानबेराको पार्लियामेन्ट भवन , टक्सार, कङ्गारु भ्याली ,र बोन्साइ गार्डेन सम्मको घुमघाम अत्यन्तै रमाइलो रह्यो। सिड्नीका हार्बर ब्रिज, ओपेरा हाउस, सिड्नी टावर, सी लाइफ, माडेम टुसाड, बोटानिकल गार्डेन, ब्लूमाउन्टेन,ओलंगन, कायमा न्यूकासल……..हन्टर भ्याली देखि गोकुल धाम सम्मको यात्रा अबिष्मरणीय रह्यो। भने बोन्डाइ बिच, मेन्लीबीच……..नेल्सन बे सम्मका रोमाञ्चक दृश्यहरूलाई समेत ग्रहण गरियो। “फेरि”को सफर देखि ट्रेनको यात्रा सम्म भयो। घुमघामका समयमा हाम्रो गाडीले नौ हजार किमीको यात्रा पुरा गरेछ।
डेल्टा एयर
एयरबस ए ३५०-९०० सिप नम्बर एन ५०५ डिएनएले सिड्नी बाट लक्स सम्मको यात्रा समय १२.४५ मिनट देखायो। डिस्टेन्स ८८९.५५ (८४३७) माइल्स १३५७८ किमी देखाएको थियो। लक्सको स्थानीय समय अनुसार ८.५९ ए.एम पुग्ने देखाइरहेको थियो। ३०६ देखि ३३९ जना यात्रु क्षमताको एयर बसको स्पिड ५६० माइल्स पर आवर थियो भने ९०१ किमी प्रति घण्टा थियो। प्यासिफिक ओसनको फ्रिवेमा एयरबस उढिरहेको थियो। १०६७४ मि हाइ अल्टिट्यूडमा जहाजले यात्रा गरिरहेको थियो। अष्ट्रेलिया एउटा आइल्याण्ड हो। धेरै आइल्याण्ड मध्यको ठुलो आइल्याण्ड हो।
न्यूजिल्याड पनि अर्को आइल्याण्ड हो। यति वेला हाम्रो जहाज न्यूजिल्याण्डको आकाश माथि उढिरहेको थियो। अक्ल्याण्डको सिधा माथि। हाम्रो जहाजको बाटो ताउ र ताफुना दीपको बीचबाटोबाट अगाडि बढिरहेको थियो देखिन्थ्यो । जहाजले तासमान सी पारगर्यो र प्यासिफिक ओसनमा प्रवेश गर्यो। दक्षिणी मार्ग हुँदै पश्चिमतिर जहाज अमेरिकाका लागि उंढिरहेको थियो। पूर्वी अष्ट्रेलिया देखि उत्तर अमेरिका सम्मको जहाजको यात्राले मलाइ संस्मरणका पलहरू पस्कन निरन्तर सहयोग पुराइरह्यो।
कमल खनाल
२०८१/१/२