साउदीको जेद्दामा सांस्कृतिक कार्यक्रम सहित मनाइयो नयाँ वर्ष
समर्पण रम्जान/
जेद्दा, साउदी अरब/ इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र तथा विक्रम संम्बत २०८१ को पावन अवसर पारेर नेपाली युवा क्लब जेद्दाले शुक्रवार जेद्दामा शुभकामना आदानप्रदान तथा नेपाली सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष राम थापाको सभापतित्वमा नेपाली महावाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम क्लबका महासचिव नर कुमार मगरले संचालन गरेका थिए।
उक्त कार्यक्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, वरिष्ठ समाजसेवी भीम गुरुङ, एनआरएनए एनसीसी उपाध्यक्ष राज गिरि, आरसिसि अध्यक्ष डिपि अर्याल,समाजसेवी राम राधा घिमिरे, इस्लामिक दावा सेन्टर सनैयाका प्रतिनिधि मन्जुर अलि मियाँ, आरसिसि अल कासिम पूर्व अध्यक्ष रम्जान दिन मियाँ, हातेमालो युवा क्लब जेद्दाका अध्यक्ष खेमराज कार्की, ग्लोबल आइएमइका बजार प्रतिनिधि प्रदिपजङ् के.सी, सिन्धु मेलम्ची होटेलका सञ्चालक रामसिङ तामाङले अतिथिको आसन ग्रहण गरेका थिए ।
नेपाली राष्ट्रिय धुनको गुञ्जायमान सँगै सुरु गरिएको उक्त कार्यक्रममा क्लब स्थापना देखि अहिले सम्म क्लबले गरेका श्रमिक हक हितका सामाजिक कार्यप्रगती विवरण क्लबका महासचिव नर कुमार मगरले स्लाइडमा देखाएका थिए । विदेश तथा स्वदेशमा समेत अनगिन्ती समाजसेवा गरिएका स्लाइडहरू प्रस्तुत हुँदा युवा क्लबलाई सम्पूर्ण अतिथिद्वारा सम्मान गरेका थिए ।
उपस्थित अतिथि तथा प्रमुख अतिथिहरूले इद तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना मन्तव्य दिँदै क्लबको कार्य प्रति खुसी व्यक्त गरे। उनले अझै अगाडि बढ्न हौसला र क्लबको सफलताको लागि शुभकामना दिए। अतिथिको मन्तव्य सँगै सभापति थापाले कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू तथा शुभकामना दिनुहुने अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै पहिलो चरणको कार्यक्रम समापन भएको थियो।
कलाकारहरूको बेजोड प्रस्तुति सहित सुरु भएको दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपाली कल्चर डान्स ग्रुप जेद्दाका कोरियोग्राफर धिरज मगर को संयोजकत्वमा अनगिन्ती स्थानीय कलाकारहरूले आफ्नो कला प्रस्तुत गरी दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए । यसै गरी गायकहरू विनोद न्यौपाने, रोशन दियाली, धन तमु,आकाश राई हरुले गीत गाएर दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।
काठमाडौँ होटेल बलाद जेद्दा, ग्लोबल आइएमइ बैङ्क तथा सिन्धु मेलम्ची नेपाली होटेल को प्रमुख प्रायोजनमा सञ्चालित उक्त कार्यक्रम सञ्चालन मा अन्य समाजसेवीहरूले पनि आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा कलाकार तथा समाजसेवी साथै सहयोगीहरूलाई क्लबले मायाको चिनो सहित प्रमाणपत्रले सम्मान गरेको थियो भने उत्कृष्ट समाजसेवी भीम गुरुङ र राज गिरि तथा नेपाली महावाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेलाई दोसल्ला ओढाएर स-सम्मान कदर पत्र प्रदान गरेका थिए ।
उपस्थित दर्शकहरू तथा अतिथिहरूलाई क्लबले विविध मनोरञ्जनका साथमा नेपाली खाना खुवाएर स सम्मान बिदाइ गरेको थियो ।