ग्रेटर अस्टिन नेपाली समाज:नयाँ वर्षको शुभकामना पारेर चुनावी चर्चा
नारायण भण्डारी /
हुट्टो, टेक्सस/ नयाँ वर्ष २०८१ तथा आसन्न पाँचौँ अधिवेशनको अवसर पारेर ग्रेटर अस्टिन नेपाली समाजले शुभकामना तथा चियापान र अन्तरक्रिया कार्यक्रम गरेको छ। हुट्टो स्थित संस्थाको सभा हलमा आइतबार आयोजित कार्यक्रममा सहभागीहरूले एक अर्कालाई नयाँ वर्षको शुभकामना दिँदै आगामी निर्वाचनको बारेमा धारणा राखेका थिए ।
ग्रेटर अस्टिन नेपाली समाजको पाँचौँ अधिवेशन अन्तरगतको निर्वाचन यही अप्रिल २१ गते आइतबार हुने कार्यक्रम रहेको छ । २०१३ मा गठन भएको ग्रेटर अस्टिन नेपाली समाजको कार्य समितिको गठनको लागि अहिले पहिलो पटक चुनावी प्रक्रियामा जान लागिएको हो ।
अन्तरक्रिया कार्यक्रममा संस्थाका मतदाता तथा पशुपतिनाथ मन्दिरका ट्रस्टी सदस्यहरूले निर्वाचनका विधि र प्रक्रिया विधान विपरीत भएको भन्दै कैयौँ प्रश्नहरू उठाएका थिए । आम सहमतिमा सबै पक्ष र क्षेत्रलाई समेटेर कार्य समिति चयन गरिनु पर्ने आम राय भए पनि सहमति हुन नसक्ने भएपछि चुनावी प्रकृया अगाडि बढेको हो ।
स्वच्छ, पारदर्शी ढङ्ग र विधान अनुसार निर्वाचन समिति गठन नगरेर प्रक्रिया मिचेर निर्वाचन समिति गठन गरिएको भन्दै सदस्यहरूले जोडदार सवाल उठाएका थिए । निर्वाचन समिति विधि र प्रकृया पुरा नगरी गठन गरिएको भन्दै सिपी पौडेल, नेत्र बन्धु पोख्रेल, विनोद कुइँकेल, टङ्क रेग्मी (महेश), राजेश्वर निरौला, उद्धव खनालले जोडदार आवाज उठाएका थिए ।
उनीहरूले समाज सेवाका लागि मानिसहरू तयार हुनु संस्थाको लागि राम्रो भएको र स्वच्छ प्रतिस्पर्धाले संस्थालाई हित हुने धारणा राखेका थिए । कार्यक्रममा माधव भण्डारी, मोहन सिटौला, राम कुमार सुवेदी, विनीता खड्का, राम कुमार महत्तोले शुभकामना सहित मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्न र जिज्ञासामा निर्वाचन समितिका सदस्यहरू देवराज न्यौपाने र पदम ठकुराठीले जवाफ सहित आफ्ना मन्तव्य राखेका थिए । संस्थाको विधानले व्यवस्था गरेको प्रकृया भन्दा फरक र अस्पष्ट तरिकाले निर्वाचन समिति बनाइए पनि निर्वाचन समितिले प्रकृयाका बारेमा जनस्तरमा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ भने दिन सकेनन्।
विधान अनुसार कार्य समितिको बैठक संस्थाका अध्यक्ष भोजराज भट्टको अध्यक्षतामा तथा भट्ट अनुपस्थित रहे उपाध्यक्ष कृष्ण जीसीको अध्यक्षता बस्ने र सो बैठकले निर्वाचन समिति चयन गर्नु पर्ने व्यवस्था छ। तर त्यसो नगरि ग्रेटर अस्टिन नेपाली समाजको आध्यात्मिक तथा निर्माण समिति संयोजक गेहेन्द्र केसीको अध्यक्षतामा बसेर उनैलाई नै निर्वाचन समितिको संयोजक तोकिएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक गेहेन्द्र केसीले निष्पक्ष निर्वाचन गरेर नयाँ कार्य समितिको चयन गरिने भन्दै आफ्नो छोटो मन्तव्यमा स्वच्छ निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरे । कार्यक्रममा अधिकांश उमेदवारहरुले आफ्नो परिचय दिँदै आफूलाई जिताइदिन मतदाता सदस्यहरू सँग अपिल गरेका थिए ।
आगामी अप्रिल २१ गते हुने निर्वाचनमा अध्यक्षमा विदुर खतिवडा र कोषाध्यक्षको पदमा धिरेन्द्र कुमार यादव निर्विरोध भएका छन् भने अन्य पदहरूमा निर्वाचन हुने भएको छ ।
उपाध्यक्षका दुई पदमा निरोज मानन्धर, अशोक शाही, मिथिलेश यादवको उम्मेदवारी परेको छ । त्यसैसरि महासचिवको एक पदका निम्ति प्रदीप चौलागॅाई र विनोद दाहालको उम्मेदवारी परेको छ भने सचिव एक पदका लागि नारायण रिजाल र रमेश बहादुर खड्काको उम्मेदवारी परेको छ ।
बाँकी ९ जनाको सदस्य पदमा १३ जनाको उम्मेदवारी परेको छ । जसमा रोशन बुढाथोकी, सुरज अधिकारी, इन्द्रिरा दाहाल काफ्ले, सूर्य कार्की, सपना राउत, सुजन पोख्रेल, धर्मेन्द्र कुमार यादव, रमेश बहादुर गुरुङ, जगदीश पाठक, सरिता घिमिरे पाण्डे, टिका माया गुरुङ, विर्ख बहादुर खत्री, आनन्द कुमार यादव रहेका छन् ।
कार्यक्रम समाजका अध्यक्ष भोजराज भट्टको अध्यक्षतामा भएको थियो। कार्यक्रममा ट्रस्टी सदस्यहरूको प्रश्नको जवाफ दिँदै उनले प्रक्रियामा केही कमजोरी भए पनि आगामी दिनमा विधान समेत संशोधन गरेर प्रकृयालाई व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष कृष्ण जीसीले राखेका थिए भने महासचिव विदुर खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।