प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने ‘अन्यौलताको स्थितिमा नरहनुस्’
पेन्सिल्भेनिया । नेकपा एमालेको प्रवासमा रहेको संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
भर्चुअलरुपमा गरिएको कार्यक्रम मञ्चका अध्यक्ष सञ्जय थापाको सभापतित्वमा भएको थियो भने कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए भने पार्टीका अन्य पदाधिकारीको पनि सहभागिता रहेको थियो ।
एमाले अध्यक्ष केपी ओलीले के भने त ?
नेपाल विकासको बाटोमा लम्किरहेको थियो । बीचमा केही बेवधान र असहज परिस्थीति आयो । राजनीतिमा अस्थिरता अन्यौलता जस्ता अवस्थाहरु आए । हाम्रो विभिदतालाई दुरुपयोग गरेर सामाजिक र सामप्रदायिक सदभाव खलबल्याउने र राष्ट्रिय एकतामा प्रतिकुल असर पार्ने खालका कुराहरु भए । तर अहिले परिस्थीति फेरिएको छ । राष्ट्रिय हितलाई केन्द्रमा राखेर हाम्रो सार्वभौमसत्ता हाम्रो स्वाधिनताको साँचो अर्थमा उपयोग गर्दै प्रयोग गरेर सुशासन र समृद्धिको बाटोमा विकासको गतिलाई अघि बढाउने अभियानमा जुटेका छौं ।
छिमेकीहरुसँगको सन्तुलित पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्धलाई सुदृढ गर्दै लैजाने छौं । एक अर्काका जायज सम्बेदनशीलताहरु र चासोहरुलाई बुझ्ने छौं । कुनै पनि प्रकारका कतैबाट पनि हाम्रो राष्ट्रहित विपरितका दबाब आउने छैनन् भन्ने विश्वास लिएका छौं ।
हामी राष्ट्रियताको सम्बद्र्धन र संरक्षणको पक्षमा छौं । बीचमा राष्ट्रियता कमजोर भयो र राष्ट्रियताको रक्षा गर्न नेपाल निकै हदसम्म चुक्यो । अब त्यो इतिहास र परिस्थीति दोहोरिदैन । विकासका क्रममा अवरोध आयो । सुशासन भाँडियो । यस स्थितिलाई अन्त्य गरेर सामाजिक न्याय र समानताको अवस्था निर्माण गरेका छौं । हामीले एउटा सामाजिक दायराभित्र रहनु पर्छ ।
संविधानमा संशोधन गर्न सकिन्छ । तर संविधान मिच्ने प्रबृत्ति स्वीकार्य हुन सक्दैन ।
नेपाल भित्र र नेपाल बाहिर रहेका नेपालीहरुमा अन्यौलको स्थिति देखा परेको छ । यसले गलत भास्य निर्माण हुन पनि थालेको छ । पुरानाले केही गरेनन अब नयाँले केही गर्छन् भन्ने । नयाँले केही गर्छन् भन्ने आधारहिन कुरा हो । सबै पुराना उस्तै छैनन् । २०७२ देखि २०७८ सम्मको विचमा डेढ वर्ष बाहेक अरु समयमा नेकपा एमालेको नेतृत्वमा मुलुकमा शान्ति सुव्यवस्था र विकासको गति अघि बढेको थियो । तर छोटो अवधिमा केही निराशा देखियो भन्दैमा देशमा केही हुँदैन र विकास नै हुँदैन भन्ने भाष्य निर्माण हुनु हुँदैन ।
अहिले कहाँ पुग्ने टुंगो नभएका नयाँ भन्नेहरुको ट्रेड मिलको जस्तो यात्राले केही हुँदैन ।
देशको जनसंख्या बृद्धिदर आवश्यकता भन्दा कम भइसक्यो भने युवाहरु बाहिर जाने क्रम असाधारण ढंगले बढेको छ । यतातर्फ पनि हामीले सोच्नु पर्ने बेला आएको छ ।