एनआरएनएको आधिकारिकताबारेको फैसला सर्यो
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको आधिकारिकतासम्बन्धी विवादको फैसला बुधवारलाई सरेको छ । सर्वोच्च अदालतमा एनआरएनएको विनोद कुँवर समूहकी महासचिव जानकी गुरुङले आफ्नो समूह नै आधिकारिक एनआरएनए रहेको भन्दै रिट दायर गरेकी थिइन् । २०७९ मंसिर ८ मा दर्ता भएको रिटमा चैत २० गते आजलाई फैसला सुनाउने गरी सपना प्रधान मल्ल र डा. नहकुल सुवेदीको संयुक्त इजालसले यसअघि नै आदेश दिएको थियो ।
तर, आज फैसला सुनाउन नभ्याइएको भन्दै सर्वोच्च अदालतले दैनिक पेसी सूचीमा निर्णय सुनाउने सरेको उल्लेख गरेको छ । सर्वोच्च अदालत प्रशासनले आज प्रधान र सुवेदीको इजलासले फैसला सुनाउनका लागि केही काम गर्न बाँकी रहेको भन्दै बुधवारलाई सारिएको छ ।
दशौं अधिवेशनका बेला शेष घले समूहले विनोद कुँवरलाई अध्यक्ष बनाएर समिति गठन गर्दा तत्कालिन संस्थापन कुमार पन्तसहितको समूहले तीन जनाको संयुक्त नेतृत्वमा संस्था अघि बढाउने भन्दै बहुपदीय अवधारणा अंगालेको थियो । तीन जना अध्यक्षसहितको कार्यसमिति अवैधभन्दै कुँवर समूह अदालत पुगे पनि अझैं विवाद निरुपण भएको छैन ।
त्यतिबेलाल गैर आवासीय नेपाली संघ बालुवाटार, नेपाल सरकार परराष्ट्र मन्त्रालय, मन्त्रालयका सचिवलाई विपक्षी बनाई २०७९ मंसिर ८ मा परमादेशको माग गर्दै रिट दायर भएको थियो । त्यतिबेला परमादेश नभए पनि निरन्तर सुनुवाईका रुपमा मुद्दा अगाडि बढेको थियो ।
त्यसपछि उत्प्रेषण माग गर्दै २०८० असार २५ मा अर्को निवेदन परेपछि दुवैलाई सँगै राखेर सुनुवाई हुँदा यसअघि मल्ल र सुवेदीको संयुक्त इजलास अहिले फैसला सुनाउने मिति तोकेको थियो । मंगलबार फैसला नआए पनि अब धेरै दिन नसर्ने भन्दै बुधवार नै फैसला सुनाउने गरी सर्वोच्च अदालतले तयारी गरेको छ ।