मधेशी एसोसिएसन इन अमेरिकाको होलीले रङ्गियो अमेरिका
पेन्सिल्भेनिया/ पूर्वदेखि पश्चिम सम्म, उत्तरदेखि दक्षिणसम्म, मधेशी एसोसिएसन इन अमेरिका (मा) ले आयोजन गरेको होली कार्यक्रमले अमेरिका रङ्गमय बनेको छ।
गत शनिवार र आइतबार टेक्सस, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, पेन्सिल्भेनिया र म्यासाचुसेट्समा होली सम्पन्न गरेको मा संस्थाले यो शनिवार र आइतबार भर्जिनिया र न्यु योर्कमा पनि धूमधाम होली मनाएको छ।
संस्थाका केन्द्रीय अध्यक्ष डा. संगित रौनियारका अनुसार ओहायोमा भने नयाँ वर्षकै कार्यक्रमका बेला होली खेलिने छ।
अध्यक्ष रौनियारले भर्जिनिया र न्यु योर्कको कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद दिए। ‘न्यु योर्क र भर्जिनियामा होली सफल भयो’ रौनियारले भने, ‘सबै च्याप्टरहरूको सहयोगमा यस पटक अमेरिका भरको होली विशेष रह्यो, कार्यक्रम सफल पर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’
उनले आफूले होलीको केही हप्ता पूर्व नै कार्यक्रमबारे बुझ्नु केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा च्याप्टर कोअडिनेटर मनोज सिंहलाई सबै च्याप्टरहरूको होलीका बारेमा बुझ्न र त्यही अनुसार आवश्यक सहयोगका लागि जानकारी गराउन जिम्मा दिएको बताए।
‘अमेरिकामा नौ वटा राज्यमा एकै पटक होली कार्यक्रम गरेको संभवत मा पहिलो संस्था हो, हाम्रो संस्थामा व्यक्ति भन्दा पनि काममा केन्द्रित रहेर कार्यक्रमहरू गरिने हुनाले सबैको साथ र सहयोगको अपेक्षा गर्दै आगामी दिनहरूमा अरू कार्यक्रममा पनि सहयोग गर्न अपिल गर्दछु।’ रौनियारले भने।