ग्रेटर अस्टिन नेपाली समाजलाई मान्यता दिइएको घोषणा
नारायण भण्डारी
हुट्टो टेक्सस / स्थानीय हुट्टो सिटी काउन्सिलले ग्रेटर अस्टिन नेपाली समाज र यसले निर्माण गरेको पशुपतिनाथको मन्दिरलाई मान्यता दिएको घोषणा गरेको छ ।
हुट्टो सिटी हलमा आज आयोजित काउन्सिल सभामा मेयर माइक स्नाईडरले पशुपतिनाथ मन्दिर र नेपाली समाजलाई मान्यता दिएको घोषणा गरेका हुन । कार्यक्रममा घोषणा पत्र पढ्दै मेयर माइक स्नाईडरले हुट्टो सिटी विभिन्न धर्म, जाती,सम्प्रदाय, लिङ्ग, भाषा र संस्कृति सहित बहु विविधतामा रचना भएको सहर भएको बताए ।
उनले सन २०१३ मा गठन भएको ग्रेटर अस्टिन नेपाली समाजमा अस्टिन वरपरका सहरहरूमा बस्ने करिब १५ हजार नेपालीहरूको आबद्धता रहेको बताए । समाजको प्रतिबद्धता स्मरण गर्दै उनले ग्रेटर अस्टिन नेपाली समाज आफ्नो सम्पन्न नेपाली संस्कृति एवं संस्कारको विरासतको संरक्षण गर्न, पुस्तान्तरण गर्न तथा आफ्ना मूल्य र मान्यताहरूलाई आउँदो पीढी सम्म प्रवर्द्धन गर्दै लैजान समर्पित रहेको बताए ।
उनले सन २०१८ मा पशुपतिनाथको मन्दिर निर्माण समिति गठन भएको उल्लेख गर्दै ग्रेटर अस्टिन नेपाली समाजले परिश्रमलाई सधैँ सम्मान गर्दै र स्वेच्छाले गरिएको दानलाई स्वीकार गर्दै मन्दिर निर्माण कोषको विकास गरेको बताए ।
यही मार्च आठ गते नेपाली समाजले मन्दिर उद्घाटन कार्यक्रम आयोजना गरेकोले सिटीले मार्च आठलाई पशुपतिनाथ मन्दिर उद्घाटन दिवसको रूपमा लिएको र हुट्टोका बासिन्दाहरूलाई आफ्नो समुदायको विविधतालाई खुसीको रूपमा मनाउन सधैँ उत्साहित गर्ने घोषणा गरे ।
कार्यक्रममा नेपाली समाजको तर्फबाट कार्य समिति पदाधिकारीहरू, स्थानीय समाज सेवीहरू सहित विभिन्न संस्थामा प्रतिनिधित्व गर्ने माहानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्रेटर अस्टिन नेपाली समाजको तर्फबाट अध्यक्ष भोजराज भट्टले मन्तव्य राखेका थिए।