अमेरिकाको टेक्ससमा पशुपतिनाथ मन्दिरको मेयरद्वारा उद्घाटन
नारायण भण्डारी/ रविन पिया
टेक्सस, हुट्टो / ग्रेटर अस्टिनको हुट्टोमा नव निर्मित आराध्य देव भगवान् पशुपतिनाथको मन्दिरको हुट्टो सिटी काउन्सिलका मेयर माईक स्नाईडरले पानसमा बत्ती बालेर शुक्रवार उद्घाटन गरेका छन्।
महाशिवरात्रि पर्वको अवसर पारेर यहाँ निर्मित पशुपतिनाथको मन्दिरको उद्घाटन गरिएको हो । कार्यक्रममा मेयर स्नाईडर सँगै सेडरपार्क सिटी काउन्सिलका मेयर जिम पेन्नीमेन मोरिनको पनि उपस्थिति रहेको थियो ।
मन्दिरको उद्घाटन पछि संक्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि मेयर स्नाईडरले आफ्नो शहरमा पशुपतिनाथको मन्दिर उद्घाटन कार्यक्रममा सरिक हुन पाउँदा धेरै खुसी लागेको बताए। उनले हुट्टोलाई मन्दिर निर्माणका लागि छनौट गरेकोमा र आफ्नो समाजमा रहन आएकोमा धन्यवाद दिए।
अर्का अतिथि सेडरपार्क सिटी काउन्सिलका मेयर जिम मोरिनले गमलामा पानी हालेर उद्घाटन कार्यलाई सहयोग गर्दै त्यसमा आकर्षण थपिदिए । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै उनले संसारभरका सक्षम मानिसहरूले सेडरपार्क आएर व्यापार व्यवसाय एवं धेरै सृजनात्मक काम गरेकोमा आफूलाई राम्रो लागेको बताए।
उनले यहाँ बनेको मन्दिरको प्रशंसा समेत गरे। नेपालको ऐतिहासिक पशुपतिनाथको मन्दिरको स्मरण गर्दै उनले त्यहाँको मन्दिरमा भित्र पस्न नपाए पनि यहाँ बनेको पशुपतिनाथ मन्दिरमा भित्र पस्न पाउने भएर आफूलाई धेरै खुसी लागेको बताए। त्यसैगरी युलेस सिटी काउन्सिलर टिका पौडेलले यति राम्रो मन्दिर बनाएकोमा समुदायलाई धन्यवाद दिए।
कार्यक्रममा ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्टले पशुपतिनाथ मन्दिर निर्माणमा आई परेका कठिनाइ , संघर्ष र सफलताको मार्मिक अनुभव सुनाएका थिए। मन्दिर निर्माणमा साथ दिने सबैलाई धन्यावाद दिँदै उनले अहोरात्र खटेर यो पवित्र कार्यलाई सफल बनाउने सहयात्री मित्रहरूको खुलेर प्रशंसा गरे।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेले ग्रेटर अस्टिनमा बस्ने नेपालीहरूको एकताको प्रशंसा गर्दै सोही एकता र आपसी सहयोगको कारण यहाँ छिटो यति राम्रो मन्दिर बन्न सकेको बताए ।
यसै गरी संस्थाका पूर्व अध्यक्ष एवं ग्रेटर अस्टिन नेपाली सोसाइटी आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका उप संयोजक देवराज न्यौपानेले आफ्नो संस्थाले देखेको सपना पुरा गर्न करिब चार वर्ष लागेको स्मरण गर्दै यो अभियान सफल गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका संयोजक गेहेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा डाक्टर कमल अधिकारीले सञ्चालक समितिको तर्फबाट स्वागत मन्तव्य राखेका थिए।
यसै गरी कार्यक्रममा नेपाली सोसाइटी अफ टेक्ससका सभापति राजेन्द्र वाग्ले , नेजाका अध्यक्ष सुरज भण्डारी, स्थानीय समाज सेवी निर्मल कुमार श्रेष्ठ र विना श्रेष्ठ,आयोजक समितिका सदस्य राम कुमार महतो, एनआरएनए आइसीसी सदस्य पदम ठकुराठी लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम ग्रेटर अस्टिन नेपाली सोसाइटीका महासचिव विदुर खतिवडाले सञ्चालन गरेका थिए। कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न माहानुभावहरुलाई प्रमुख अतिथिले प्रशंसा पत्र प्रदान गरेका थिए। कार्यक्रममा ग्रेटर अस्टिन बाहिर र वरिपरिका स्थानबाट पनि मानिसकहरुको व्यापक सहभागिता रहेको थियो ।