मास्टर कृष्ण बलालले अमेरिकामा खोले तेक्वान्दो एकेडेमी
भर्जिनिया/ नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका पूर्व अध्यक्ष तथा हालका वरिष्ठ सल्लाहकार मास्टर कृष्ण बलालले अमेरिकाको भर्जिनिया राज्यको रेस्टनमा (11864 Sunrise Valley Dr Unit #200 , Reston ,VA 20191) तेक्वान्दो एकेडेमी खोलेका छन्।
‘एक वर्ष देखिको प्रयासले सार्थकता पायो अब मार्च १५ तारिखबाट कक्षा नै संचालन हुन्छ।’ अमेरिकन तेक्वान्दो मार्शल आर्ट एकेडेमीका मुख्य प्रशिक्षक बलालले समाज टाइम्स सँग भने।
बलाल सातौँ डान प्राप्त तेक्वान्दो प्रशिक्षक हुन्। नेपालमा गुल्मीका बलाल सन् २०११ देखि अमेरिकामा छन्। उनले अमेरिकाबाटै छैटौँ र सातौँ डान लिएका हुन्।
पछिल्लो दश वर्ष देखि उनी एचकेली तेक्वान्दो एकेडेमीमा प्रशिक्षक थिए। ‘हामीले लामो प्रक्रियापछि भर्जिनियाको रेस्टोनमा अमेरिकन तेक्वान्दो मार्शल आर्ट्स एकेडेमी खोल्दैछौं।’ बलाले भने, ‘म र टीका कार्की मिलेर आफ्नै भवनमा एकेडेमी खोलेका हौ, मैले प्रशिक्षण दिन्छु टीकाजीले व्यवस्थापन हेर्नु हुन्छ।’
बलालले व्यापार भन्दा पनि तेक्वान्दो विस्तारका लागि एकेडेमी खोलेको बताए। ‘मेरो जीवन नै तेक्वान्दोमा बित्यो, अब त रिटार्यड हुने बेला हो, व्यापार भन्दा पनि यसको विस्तारका लागि एकेडेमी खोलेका हौ।’ उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो मार्शल आर्टको प्रवर्द्धन र विकासलाई प्राथमिकता दिन्छौँ।’
बलालले आफ्नो एकेडेमी स्थानीय सरकारमा पूर्ण रूपमा दर्ता भएको बताए। उनले अमेरिकाको आधिकारिक तेक्वान्दो संगठन र अस्ट्रियाको भियनामा रहेको अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघसँग सम्बद्ध रहेको जानकारी दिए।
‘एकेडेमीले जीवन र सामाजिक विकासको एक तरीकालाई मूर्त रूप दिन्छ जुन केवल भौतिक प्रविधिहरू भन्दा बाहिर छ, हामी रक्तदान सहित विभिन्न गतिविधिहरू मार्फत रचनात्मकता र सकारात्मकता कामका लागि प्रतिबद्ध छौँ।’ बलालले भने।
बलालले भर्जिनियाको रेस्टन , हरन्डन र स्टरलिंग रहेका नेपालीलाई लक्षित गरी एकेडेमी खोलिएको बताए। ‘यो क्षेत्रमा पछिल्लो समयमा नेपालीको संख्या बढेको छ, हामी समुदायका लागि काम गर्ने छौ, बालबालिका देखि अडल सम्म सबैलाई तेक्वान्दो सिकाउछौ।’
उनले यो क्षेत्रमा मासिक दुई सय डलर भन्दा बढी शुल्क लाग्ने गरिएको भए पनि नेपाली समुदायका लागि आफूहरूले भारी छुट दिने बताए।
बलालले सोमबार देखि शनिवार सम्म कक्षा संचालन हुने बताए। ‘हामी संख्या भन्दा पनि गुणस्तरमा ध्यान दिन्छौ, त्यसैले एक कक्षामा २५ जना मात्र भर्ना लिन्छौ।’ बलालले भने, ‘दिनमा चार कक्षा हुन्छ, हप्तामा तीन दिन।’
अमेरिकाका विभिन्न राज्यमा नेपाली र नेपाली भाषी भुटानी प्रशिक्षकका गरी दर्जन बढी तेक्वान्दो स्कुल संचालनमा छन्।