अमेरिकामा लङ आइल्याण्ड नेपाली समाजको अध्यक्षमा राजन गौली निर्वाचित
न्यु योर्क/ लङ आइल्याण्ड नेपाली समाजको अध्यक्षमा राजन (कुल प्रसाद) गौली निर्वाचित भएका छन्। आइतबार बिहान सार्वजनिक मत परिणाम अनुसार गौलीले प्रतिस्पर्धी बाबुराम शर्मालाई ५३ मतले हराएका हुन्।
कुल सात सय आठ मतदाता रहेकोमा पाँच सय ३४ मत खसेको थियो। त्यस मध्ये गौलीले दुई सय ९३ मत पाए। उपविजेता शर्माले दुई सय ४० मत पाए। एक मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
शनिवार बिहान १२ देखि साँझ नौ बजे सम्म मतदान गरिएको थियो। राति दश बजेबाट मत गणना सुरु गरिएको थियो। निर्वाचन समितिले बिहान साँढे दुई बजे अन्तिम मत परिणाम घोषणा गरेको थियो।
घोषित मत परिणाममा गौली प्यानका अधिकांशले चुनाव जितेका छन्। पदाधिकारीमा विजयी मध्ये कोषाध्यक्ष र एक सचिव बाहेक अन्य गौली समूहका छन्।
वरिष्ठ उपाध्यक्षमा सावित्रा सिवाकोटी विजयी भइन्। उनले दुई सय ८४ मत पाइन। बरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका बाबुराजा सिंहा पराजित भए। उपाध्यक्षमा गोकुल सापकोटा र इन्दिरा सिंखडा विजयी भए।
महासचिवमा गौली प्यानलका राजेन्द्र कार्की विजयी भए। पदाधिकारीमा निर्वाचित कोषाध्यक्ष निर्मला थपलिया र सचिव मोहन क्षेत्री मात्र शर्मा प्यानलका हुन्। अर्को सचिव पदमा गौली प्यानलका दिपक अधिकारी विजयी भए।
२१ सदस्यमा शर्मा प्यानलमा नमिता पौडेल, नीरज सापकोटा र सुमन बास्तोला गरी तीन जना मात्र विजयी भएका छन्।
पूर्ण मत परिणाम
लङ आइल्याण्ड समाजको मैदानमा गौली र शर्मा बिचमा चुनाव भए पनि संस्थाका संस्थापक महासचिव दुर्गेश जङ कार्की र सल्लाहकार वेद खरेलले आफू बिचमा प्रतिष्ठाको विषय बनाएका थिए।
कार्कीले गौलीलाई समर्थन गरेका थिए। शर्मा पक्षमा खरेल सहित पूर्व अध्यक्ष टिका ढकाल, नेपाली कांग्रेस महासमिति सदस्य विश्व बास्तोला लगायतको समर्थन थियो।
मत परिणाम पछि शर्माले यसलाई समान्य रूपमा लिएको प्रतिक्रिया दिए। ‘मतदान निष्पक्ष नै भयो, निर्वाचन आयोगलाई विशेष धन्यवाद, निकै नै व्यवस्थित रूपमा उहाँहरूले जिम्मेवारी पुरा गर्नु भयो।’ समाज टाइम्स सँग शर्माले भने, ‘ समाज सेवा गर्नका लागि हार जित ठुलो कुरा होइन, गिल्टी फिल गरेको छैन।’
उनले आफू अझै पनि समाजमा सक्रिय नै रहने बताए। शर्माले आफूलाई मत दिने न नदिने दुवै मतदातालाई धन्यवाद दिए।
उनले आफू नवनिर्वाचित अध्यक्ष गौलीलाई सहयोग गरेर नै जान तयार रहेको बताए।
‘हामी उहाँलाई सहयोग गरेर नै जान्छौ, बोलेको काम सुरु गर्नु पर्यो, सँगै काम गर्ने वातावरण उहाँले तयार गर्ने हो।’
यसै बिच नवनिर्वाचित अध्यक्ष गौलीले आफूले सबैलाई समेटेर अगाडि बढ्ने बताए। समाज टाइम्स सँग उनले भने, ‘अब चुनावका गुट सकिए सबै एक भएर जाने हो।’
‘मेरो कार्य सिद्धान्त नै त्यही रहने छ, सबैलाई समेटेर लैजानले।’ गौलीले भने,’सबैको सहयोगको अपेक्षा गरेको छु।’
निर्वाचित भए पछि गौलीको विज्ञप्ति
आदरणीय लंगआईल्यान्ड नेपाली समाजको सातौँ अधिवेशनबाट मलाई अध्यक्षमा अमूल्य मत दिएर विजय गराउनुहुने सम्पूर्ण लंगआईल्यान्डबासी महानुभावलाई हार्दिक आभार तथा धन्यावाद दिन चाहन्छु।
म सँगै विजय हुनुहुने सम्पूर्ण कार्यसमितिका महानुभावहरूलाई बधाई दिन चाहन्छु। काम गर्न प्रबल इच्छाशक्ति देखाउनुहुने अन्य उमेद्वारहरु पनि उपविजेता हुनु भएको छैन हामीसँग सँगै छौँ। हामीले एउटा सामान्य संस्थागत प्रक्रिया अपनायौ र कोहीको पनि जित र हार भएको छैन।
चुनावी अभियानमा आउँदै गर्दा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावलाई र मेरो परिवारलाई धन्यवाद दिन चाहन्छु। चुनावी प्रक्रियालाई साइदिनुहुने निर्वाचन आयुक्तहरूलाई घेरे धन्यावाद दिन चाहन्छु।
सम्पूर्ण समुदायहरूका महानुभावहरू, तपाईँहरूले साझा चौतारीमा एउटा बिरुवा लगाउनु भएको छ। सबैले मलजल गर्न अनुरोध गर्दछु, तपाईँहरूको साथ र सहयोगको खाँचो पर्दछ। आफ्नो र साझा ठुलो चौतारो बनाऔँ । संस्थामा धेरै काम गर्नु छ तर चुनावी प्रक्रियामा बनेका समूह नितान्तै क्षणिक हुन। मेरो कार्यसमितिले सबैलाई समेटेर लैजान्छौ। चुनावी प्रक्रियाबाट समाज फुट्ने होइन झन् जोडिने हो भन्ने कुरा हामी व्यवहारमा चाहन्छौ।
पुनः सम्पूर्ण शुभेच्छुकहरू, आजीवन तथा साधारण सदस्यज्युहरु, संस्थापक ज्युहरू, कार्यसमितिको साथीहरू, सल्लाहकार तथा संरक्षक ज्युहरू लाई पुनः धन्यवाद दिँदै हाम्रो संस्थालाई उद्देश्यमूलक मनाउन यहाँहरूको साथ र सहयोगको पुन आशा र भरोसा गरेको छु ।