पण्डितको वाक ओभर, सुवेदी पछारिए, विष्ट झन् शक्तिशाली
बिष्णु हरि घिमिरे
पेन्सिल्भेनिया / सन् २०१६ को अप्रिल तेस्रो साता जोन एफ केनेडी (जेएफके) अन्तर्राष्ट्रिय विमानस्थलमा पङ्क्तिकारले सोधेको थियो, ‘महामन्त्री ज्यू कुन कार्यक्रममा सहभागी हुनुहुन्छ।’
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका छोरा, कांग्रेसको पहिलो निर्वाचित महामन्त्री शशाङ्क कोइरालाको पहिलो विदेश भ्रमण थियो। (कोइराला सँगको त्यो बेलाको अन्तरवार्ता पहिलो पोष्ट र एभरेष्ट टाइम्समा क्लिक गरेर अझै पड्न सक्नु हुन्छ)
कोइरालाको स्वागतमा नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा न्यु योर्कको ज्याक्सन हाइटमा दुई ठाउँमा कार्यक्रम राखिएको थियो।
भुईँचालोको पैसा अनधिकृत रूपमा कुम्लाएको आरोपमा अध्यक्ष आनन्द विष्ट र महामन्त्री मुनीन्द्र नेम्वाङ्गले एकले अर्कोलाई निष्कासनको ‘कारबाही’ गरेका थिए। त्यस कारण केन्द्रीय कमिटी र न्यु योर्क च्याप्टरले फरक फरक ठाउँमा कोइरालाको स्वागतका लागि कार्यक्रम राखेका थिए।
निवर्तमान संयोजक बिष्णु सुवेदीलाई दुई वर्ष अगाडि टेक्ससमा चुनाव हारेको ‘रन्को’ मरेको थिएन। विष्ट विरुद्ध मोर्चा कस्न भुईँचालोको रकम हिनामिना काण्डले ठुलै बल मिलेको थियो।
न्यु योर्क च्याप्टर सभापति रोशन ढुङ्गाना पूर्व संयोजक सुवेदी र नेम्वाङ्गको पक्षमा थिए। विष्ट आफ्नै आँगनमा एक्लो जस्तो थिए।
तत्कालीन महामन्त्री कोइरालाको पहलमा दुवै पक्ष शेर्पा केदुकको हलमा जम्मा भए। भाषणमा कोइरालाले आफूहरूको पार्टी प्रजातान्त्रिक भएको र आचरण पनि त्यसै अनुसार हुने दाबी गरेका थिए। लामै भाषण गर्ने क्रममा उनले अमेरिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटकाले कोठामा संस्था चलाउने गरेको भन्दै प्रवासी नेपाली मञ्च तर्फ व्यङ्ग्य गरेका थिए।
प्रवासी नेपाली मञ्च अमेरिकाका तत्कालीन अध्यक्ष सञ्जय थापा सबै भन्दा अगाडि थिए।
यो आठ वर्षमा हड्सन नदीमा धेरै पानी बग्यो। त्यो बेला महामन्त्रीले ‘कोठामा’ खुम्चिएको भनिएको प्रवासी नेपाली मञ्च अमेरिकाको ३५ भन्दा बढी राज्य कमिटी मात्र होइन अन्तर्राष्ट्रिय समिति नै गठन गर्न सफल भएको छ। छाति फुलाएर हिडेको छ। संगठन चुस्त देखिएको छ।
मञ्चका हरेक महाधिवेशन अद्यावधिक गर्दै आएको छ। तर आफूलाई प्रजातन्त्रवादी भन्ने नेपाली कांग्रेसको अमेरिका स्थित जनसम्पर्क समिति लथालिङ्ग छ, पूर्ण कार्यसमितिको नियमित बैठक नबसेको बर्षौ भएको छ। संस्था एक दर्जन भन्दा कम मान्छेमा खुम्चिन पुगेको छ।
विष्टको कार्यकालको पहिलो चुनाव
सञ्जय थापा प्रवासी मञ्चको र आनन्द विष्ट जनसम्पर्क समितिको नेतृत्वमा लगभग उस्तै उस्तै समयमा उदाएका हुन्। कांग्रेसका तत्कालीन महामन्त्री कोइरालाको भाषामा ‘अप्रजातान्त्रिक भनेका’ प्रवासी मञ्चले सञ्जय पछि प्रभु थापा र कृष्ण लामिछानेलाई अध्यक्ष पाएको छ। तर प्रजातान्त्रिक भनिने जनसम्पर्क समितिमा विष्टको रजगज अझै सकिएको छैन। विष्ट सन् २०१४ मा नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।
त्यस पछि उनले कहिल्यै सङ्गठनलाई वैधानिक रूपमा चलाएनन्। पार्टी सभापति शेर बहादुर देउवाको आडमा उने संस्थालाई नीजि कम्पनी जस्तो बताए। सङ्गठन मरे तुल्य बनेको छ। नेपालमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य जादा भागबण्डा गरेर मिलाउने बाहेक अरु गतिविधि ठप्प प्राय छ। कार्यकर्ता तितरवितर छन्। जनसम्पर्क समितिको विवादको प्रभाव एनआएनएमा समेत परेको छ।
दश वर्ष सम्म चुनाव नगराएको भनेर आलोचित विष्टले यस पटक कार्यकालकै पहिलो चुनाव त गराए तर फेरि प्रक्रिया पुरा गरेनन्। कांग्रेसको महासमिति सदस्यका लागि चुनाव भएको र ६ जना विजेता भएको सूचना एकै पटक सार्वजनिक गरियो। भूमिगत कालमा पार्टी चलाए जस्तो गरी।
कांग्रेसको विधानले चिन्दै नचिनेको चुनावबाट सभापति विष्ट सँगै उपसभापति धनन्जयनरसिंह केसी, महामन्त्री मुनीन्द्र नेम्बाङ सहित गौतम दाहाल, बिध्यासागर योञ्जन र भरत अर्याल निर्वाचित भएको भन्दै महासचिव नेम्वाङ्गले सामाजिक सञ्जालमा पोस्ट गरे।
नेपाली कांग्रेसको विधानतः क्रियाशील सदस्यहरूले महाधिवेशन प्रतिनिधि मध्येबाट महासमिति सदस्यको चयन गर्नु पर्ने हुन्छ। अमेरिकामा २४ सयको हाराहारीमा क्रियाशील सदस्य छन्। तर आम सर्वसाधारणको त कुरै छाडौँ कार्यसमितिका अधिकांश पदाधिकारी र क्रियाशील सदस्यले चुनाव हुँदै छ भन्ने पत्तो नै पाएनन्।
किनकि त्यो चुनावको मतदाता क्रियाशील सदस्य होइन, १४ जना महाधिवेशन प्रतिनिधिलाई मात्र बनाइएको थियो। महासमिति सदस्य महाधिवेशन प्रतिनिधिको मात्र भोटले छनौट हुने व्यवस्था कांग्रेसको विधानमा छैन। १४ मध्ये ११ जनाले आपसमा भोट हालेर महासमिति सदस्यको निर्वाचन भयो भनियो।
‘महाधिवेशन प्रतिनिधिहरूको बिचमा सभापति आनन्द विष्टले जनवरी २८/३० गते दुई पटक भर्चुअल बैठक बसेर सहमति जुटाउने प्रयास गरेता पनि हुन नसकेपछि महासमितिको छनौट गर्ने जिम्मा समितिले निर्वाचन समितिलाई दिएको थियो।’ महामन्त्री नेम्वाङले फेसबुक स्ट्याटसमा लेखेका छन्।
१४ मध्ये कृष्ण लामिछानेको निधन भइसकेको छ। अर्का सदस्य विश्व बास्तोलाले अमेरिकन नागरिकता लिइसकेले प्रक्रियामा सहभागी नभएको बताइएको छ। उनी महाधिवेशनकै बेला विवादमा आएका थिए।
यस्तै महाधिवेशन प्रतिनिधि डा. यादव पण्डितले वाक ओभर दिएको बताइएको छ। सर्वसम्मत भए आफू पनि उम्मेदवार हुने तर चुनाव नलड्ने भन्दै मतदान प्रक्रियामा नै माग नलिएको उनले बताए।
‘पार्टी प्रतिको मायाले त्यो बेला प्रक्रिया नपुगेर पनि महाधिवेशन प्रतिनिधि गएकै हो, गल्ती गरेकै हो मैले धेरै ठाउँमा भन्दै आएको पनि छु।’ समाज टाइम्स सँग पण्डितले भने,’यस पटक पनि विवाद नभएको भए पार्टीको ठुलो कार्यक्रममा जाने इच्छा थियो तर जुन प्रक्रिया अपनाइयो त्यसमा असहमति राख्दै म अलग भए।’
निर्वाचन समितिका प्रमुख डा. विनोद शाह, सदस्यहरू भक्त थापा, कृष्ण विष्ट, नवीन ओझा र दीपक गौतमको समितिले गराएको चुनावमा ५ पदका लाग ६ जनाले प्रतिस्पर्धा गरेको जनाइएको छ। विष्ट पदेन हुने भएकाले निर्वाचन प्रक्रियामा सहभागी हुन परेन। बाँकी पाँच जानामा उपसभापति केसी, महामन्त्री नेम्वाङ र दाहालले समान ११ मत, योन्जनले १० र अर्यालले नौ मत पाएको निर्वाचन समितिले जनाइको छ।
चुनावी प्रतिस्पर्धामा भाग लिएको मध्ये पूर्व संयोजक विष्णु सुवेदीले मात्र तीन भोट पाए । लक्ष्मी केसी, रामशरण हुमागाईँ, सुभाष लामा र अमृत भट्टराई पनि मतदाता थिए। सुवेदीले आफू बाहेक अन्य दुई जनाको मात्र मत पाएको देखिन्छ।
विष्टको गुटमा उनी सर्वमान्य छन्। तर त्यसको ठिक उल्टो विष्ट इतरमा छ। सुवेदी, डा पण्डित र महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीमा आफ्नो गुटमा को ठुलो नेता भन्ने इगो छ। एउटाले अर्कोलाई स्विकार्नै नसक्ने अवस्था छ। नेम्वाङ्ग र केसीले सुवेदीलाई नेता मान्न छोडेको धेरै भइसक्यो। यसको फाइदा विष्टले लिए। दुई सिटका लागि विष्टले आफू इतरका तीन जनालाई भिडाए। नेम्वाङ्ग र केसीले आफू सुरक्षित हुन विष्टकै सामीप्ययता रोजे।
‘थाहा हुँदा हुँदै पनि कति कुरामा अलग नहुने रहेछ।’ चुनावमा पराजित भए पछि सुवेदीले समाज टाइम्स सँग भने,’ चुरोट रक्सी स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानी जानी पनि खान्छन् नि हो त्यस्तै भयो अवैधानिक चुनावमा भाग लिए।’
सुवेदीले जानी जानी पनि गरेको यो गल्ती भने उनका लागि महँगो परेको छ। यस पटक उनी चुनाव हारेको मात्र होइन पछारिएका छन्।
कुनै समय ‘आनन्दे त छैनस्, तँलाई सभापति मान्दिन।’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका सुवेदी सँग अब जनसम्पर्क समिति अमेरिकामा ‘विपक्षी नेता’ बन्ने नैतिकता समेत गुमेको छ। सदैव विष्टको आलोचना गर्दै आएका सुवेदी आफू महाधिवेशन प्रतिनिधि जाने लोभमा सबै एजेन्डालाई समर्पण गरेका थिए। ‘आफुले पद पाउने भए पछि उनले अन्य सहकर्मी भूले। काठमाडौबाट फर्किए पछि पनि उनले स्थगित भनिएको अधिवेशन पुन शुचारु गर्न कुनै पहल गरेनन्। ‘
जनसम्पर्क समितिको विधानमा तीन वर्षमा चुनाव हुनु पर्ने भनेको छ। तर विष्टले पार्टी सभापति शेर बहादुर देउवाको आडमा विधानलाई कुल्चँदै आएका छन्। यति सम्मकी उनी आमन्त्रित केन्द्रीय सदस्य हुँदा पनि जनसम्पर्क समिति अमेरिकाको सभापति पद जोडेनन्। कांग्रेसको विधानमा उपल्लो तहको पदमा पुगे पछि तल्लो तहको स्वतः समाप्त हुने व्यवस्था छ तर विष्टको हकमा त्यो लागु नै भएन।
विष्टले सन् २०२१ मा पार्टी सभापति देउवालाई नै गुहराममा राखे। भर्चुअल मार्फत भएको जनसम्पर्क समितिको तेस्रो महाधिवेशनको उद्घाटन पार्टी सभापति देउवाद्वारा गराइएको थियो।
समय अभावका कारण तत्कालका लागि महाधिवेशन प्रतिनिधि छनौट गर्ने र कांग्रेसको १४ महाधिवेशन पछि अधिवेशनका बाँकी प्रक्रिया पुरा गर्ने भनिएको थियो।
बन्द सत्रमा सबैको माइक म्युट गरेर १४ जना महाधिवेशन प्रतिनिधिको नाम वाचन गरिएको थियो। प्रमुख निर्वाचन आयुक्त शाहले नै सो उद्घोष गरेका थिए। तर त्यस पछि त्यो निर्वाचन समिति एकाएक महासमिति सदस्यको चुवानका लागि मात्र सक्रिय भयो। प्रजातान्त्रिक पार्टीको चुनावी प्रक्रिया ११ जनामा मात्र सीमित राखियो। विनोद शाहको निर्वाचन समिति विष्टले चाहेको बेलामा मात्र सक्रिय हुने भयो।
जनसम्पर्क समितिमा विष्ट अब झन् शक्ति शाली भएका छन्। विष्टको नेतृत्वको समिति अवैधानिक भएको भन्दै समानान्तर कमिटी खोलेका धनन्जयनरसिंह केसीले पनि महाधिवेशन प्रतिनिधिका लागि आफ्नो एजेन्डा समर्पण गरेका थिए।
भूकम्पको रकम ‘हिनामिना’ पार्टी नेता प्रकाश शरण महतको रोहबरमा मिलाए पछि विष्ट र नेम्वाङको घाटी जोडिएको थियो।
२०१४ मा चुनाव हारे पनि सुवेदी एउटा खेमाको नेता नै थिए। उनले भर्जिनियामा बोलाइएको साधारण सभाको उपयोग गरी संस्थामा आफ्नो वर्चस्व कायम नै राख्ने अवसर खेर पठाएका थिए। त्यस पछि ‘विश्व सञ्जाल’ को असफल दाउ खेलेका उनले ‘महाधिवेशन प्रतिनिधिका लागि’ आदरणीय सभापति आनन्द विष्ट ज्यू भन्न पुगे।
यस पटक विष्टले खतरा दाउपेच खेले। दश वर्ष सम्म टाँग अड्काएर हैरान पारेका सुवेदीलाई ऐया… समेत भन्न नपाउने गरी पछारिदिए । सुवेदीलाई दोस्रो पटक चुनाव मात्र हराएनन् जनसम्पर्क समितिमा वैधानिकताको आवाज उठाउने नैतिकता समेत सकिदिए।
वरिष्ठ कानुनविद् तथा नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक खगेन्द्र जिसी संस्था यो हालतमा पुग्नु दुखद भएको बत्ताउँछन्। ‘ए होर त्यस्तो पो भएछ?’ समाज टाइम्स सँग जिज्ञासु बनेका जिसीले अहिलेको अवस्थाले आफू दुखी भएको प्रतिक्रिया दिए।
‘दुख लाग्छ, जे सोचेर काम गरियो त्यस्तो भएन।’ समाज टाइम्स सँग उनले भने,’ लाज लाग्ने अवस्था भयो, प्रजातान्त्रिक अभ्यास भएन।’
नेपाल प्रेस युनियनका पूर्व महासचिव तथा वरिष्ठ पत्रकार तरुण पौडेल नेपाली जनसम्पर्क समिति अमेरिका टिप्पणीको लायक नभएको बत्ताउँछन्।
‘कांग्रेस भाग शान्ति जय नेपाल हो, यसमा के टिप्पणी गर्नु आफै झगडा गर्छन् पद पाए पछि मिल्छन्।’