‘हातमा अझै अमेरिकी ग्रीनकार्ड,नेपालमा संसद टिकट माग’
चर्चाका लागि ग्रीनकार्डवालाले पनि गरे संसद टिकटको दावी
बिष्णु हरि घिमिरे
पेन्सिलभेनिया, अमेरिका । नेपालमा सांस्कृतिक दशैं मात्र होइन राजनीतिक दशैं पनि संघारमा छ । मंसिर चार गते हुने संघीय र प्रदेश सभा सदस्यका लागि निर्वाचनको मिति जति जति नजिकिँदै छ, हरेक पार्टीमा उमेद्वार छनौंटमा सकस बढ्दै गएको छ ।
नेताका घर-गल्लीमा थामी नसक्नु भिड बढेको छ । सत्तारुढ गठबन्धमा कुन पार्टीले कति सिट पाउने भन्ने अझै अन्तिम टुग्गो लाग्न सकेको छैन । नेपालमा बसेर बाह्रै महिना राजनीति गर्नेहरु पनि ढुक्क हुन सकेका छैनन् ।
तर नेपाली कांग्रेसको विदेश स्थित भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा राजनीति गर्नेहरु उमेद्वार सिफारिस भएकोमा बधाइ साटासाटमा ब्यस्थ छन् । क्षेत्र तथा जिल्लाबाट सिफारिसमा परेको भन्दै केहीले आफै स्टाट राखेका छन् भने केहीले अरुलाई लेख्न लगाएका छन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द (गोरख) विष्ट, महासचिव मुनिन्द्र नेम्वाङ, हरिबोल भण्डारी, विद्यासागर योञ्जन र टिका चौधरी आफुहरु सिफारिसमा परेको भन्दै हर्षबडाईमा व्यस्त छ।
स्टाटसहरु
आत्मरति मै सिमित चुनावी रन्को
रोचक कुरा के भने, नेपालको संविधान अनुसार अब उनीहरु कम्तिमा यस पटकको निर्वाचनमा उमेदवार हुन पाउदैनन् । किनकी यी सबै अमेरिकाको ग्रीनकार्डधारी हुन। नेपालको संविधानले विदेशीमा स्थायी बसोबास अनुमति पत्र (ग्रीनकार्ड) लिएको व्यक्तिले त्यस्तो ग्रीन कार्ड त्यागेको ९० दिनपछि मात्र उमेदवारी दर्ता गर्न पाउने व्यवस्था गरेको छ । उनीहरु निकटस्थका अनुसार पाँचै जनाले अहिलेसम्म ग्रीनकार्ड त्यागेका छैनन् ।
संसदीय चुनावमा उमेद्वारी दावी गर्नेहरुले संविधानको सामान्य प्रावधानको पनि ख्याल गरेको देखिदैन । कानुनत: म योग्य छु छैन भन्ने सामान्य कुराको पनि हेक्का राखेको देखिदैन । तर आफुलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको निवर्तमान सचिव भन्न रुचाउने भोजराज थोकर उनीहरुलाई हेक्का हुँदा हुँदै पनि चर्चामा आउने फण्डा गरेको हुन सक्ने बताउँछन् ।
‘उमेद्वार सिफारिसमा परेको भनेर अन्यत्र फाइदा लिन पनि यस्तो गरेका हुन सक्छन ।’ थोकर भन्छन् ‘नेपालमा बाह्र महिना संगठन गरेकाहरुको त यो हालत छ, देश छोडेर हिडेकाको के पालो आउला ।’ उनी प्रश्न गर्छन।
उनी भन्छन्, ‘उमेदवार हुन कि जनताको बीचमा भिजेको, जनताको दैनीकीमा साथ दिएको हुनु पर्यो, कि केन्द्रका नेता र पार्टीलाई ठूलै रकम सहयोग गरेको हुन पर्यो अमेरिकामा उभर (ट्याक्सी) चलाएकासँग त्यो दुबै छैन, अनि कसरी टिकट पाउँछन् ।’
यद्यपी, हरिबोल भण्डारीले आफुले ग्रीनकार्ड त्यागेको दावी गरे। ‘म कानुनी रुपमा पनि तयार भएर नै अमेरिकाबाट नेपाल आएको हुँ, भोली आवश्यक परेको ठाँउमा मैले ग्रीनकार्ड त्यागेको प्रमाण देखाउँछु, मलाई समस्या छैन ।’ भण्डारीले भने । तर उनले ग्रीनकार्ड त्यागेको प्रमाण अहिले देखाउन भने इन्कार गरे । ‘मेरो सबै परिवार अमेरिकामा नै छन्, व्यक्तिगत गोपनियताको पनि कुरा हुन्छ ग्रीनकार्ड त्यागेको प्रमाण म आवश्यक ठाँउमा मात्र देखाउछु ।’
जनसम्पर्क समिति मै असफल बिष्टको डोटी ‘टार्गेट‘
यस पटकको निर्वाचनमा उमेद्वार हुने भन्दै सबै भन्दा बढी प्रचारवाजीमा जुटेका व्यक्तिमा आनन्द बिष्ट अगाडि छन् । आर्थिक र बौद्धिक रुपमा पनि नेपाल र नेपाली कांग्रेस पार्टीका लागि ‘लाइफ लाइन’ हुन सक्ने नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठनलाई रसातलमा पुर्याएका बिष्ट अहिले डोटीमा आँखा लगाउँदै छन्।
अमेरिकामा रहेका नेपाली समाजमा बिष्ट अत्यन्त अप्रजातान्त्रिक र अलोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन् । सन् २०१४ मा जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष निर्वाचित भएका बिष्टले त्यस पछि अहिलेसम्म संस्थाको अधिवेशन गराएका छैन् ।
जनसम्पर्क समिति अमेरिका अहिले मृत प्राय: अवस्थामा छ । जबकी, यदि कुशल नेतृत्व हुने हो भने अमेरिकाबाट आर्थिक मात्र होइन बौद्धिक रुपमा पनि नेपालले धेरै नै लाभ लिने गरी संगठन चलाउन सकिन्छ । तर बिष्ट २०७२ सालमा नेपालमा गएको भुकम्प पिडितका लागि उठाएको ‘चन्दा’ हिनामिना गरेको आरोपमा कार्य समितिबाट कारवाहीमा परेका व्यक्ति हुन् ।
पिडितका लागि उठाइएको ७० हजार अमेरिकी डलर हिनामिना गरेको भन्दै बिष्ट र महासचिव नेम्वाङले एक अर्कालाई पदबाट निलम्वित नै गरेका थिए।
गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव गौरी जोशीले उपलब्ध गराइदिएको दुई थान एम्बुलेन्स डोटीमा बाढेर आफुलाई ठूलो समाजसेवी भन्दै प्रचार गर्दै आएका बिष्ट संगठन भन्दा पनि नेतृत्वको वरीपरी घुमेर फाइदा लिने व्यक्तिमा चिनिन्छन् ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीमार्फत पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशिल कोइराला निकट हुन पुगेका बिष्ट पछि देउवा समुहमा लागेका हुन् ।
एक निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनमा कस्को भागमा पर्ने टुङ्गो छैन । कांग्रेसका सुदूरपश्चिमका सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायर, नेकपा समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आले, मओवादीका नेता त्रिलोचन भट्ट टिकटको प्रतिक्षामा छन् ।
संविधानसभा सदस्य भरतबहादुर खड्का, महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाही, नेता यज्ञराज पाठक, भक्तबहादुर बलायर जिल्लामा बसेर कांग्रेस संगठन गरेका नेता हुन् ।
मुनिन्द्र नेम्वाङले सिफारिस भएको पाँचथर कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेको जिल्ला हो।
यस्तै, अमेरिकाको टेक्सासमा व्यवसाय गर्दै आएका हरिबोल भण्डारीले काठमाडौं क्षेत्र नम्वर तीनबाट उमेदवारी दाबी गरेका छन् । यो क्षेत्रमा अम्बिका बस्नेत र सन्तोष चालिसे मध्येमा एक जना बलियो उमेद्वार मानिएका छन् । चालिसे पहिलादेखि नै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । अम्विकाले पनि पछिल्लो समुह गुट परिवर्तन गर्दै देउवा निकट भएकी छिन् ।
क्यालिफोर्निया निवासी विद्यासागर योञ्जन रामेछापका संभावना बोकेका नेता थिए । रामेछापमा राम्रो करिअर विकास गर्दै गरेका योञ्जन दख्खल पनि थिए । तर कांग्रेसमा गिरिजा प्रसाद कोइरालाको रजगज चलेको समयमा उनी २०५१ सालमा ‘बागी’ भने ।
योञ्जन आफु त हारे हारे कोइराला समुहको किचन क्याविनेट सदस्य लक्ष्मण घिमिरेलाई पनि हराए । त्यस पछि अमेरिका आएका योञ्जन देउवाका निकट हुन् ।
तर अमेरिकामा बस्ने योञ्जन भन्दा रामेछापमा नै रहेर संगठन गरेका र ‘करोड’ मा चन्दा दिन सक्ने हैसियत भएका पूर्ण बहादुर तामाङ्ग (कान्छाराम) सहित अन्य नेताको व्यवस्थापन पनि सभापति देउवाले गर्नु पर्ने हुन्छ । त्यसो त देउवाले चाहदा चाहदै पनि योञ्जनका लागि संवैधानिक व्यवस्था भने बाधक बन्ने भएको छ।
टिका चौधरी कैलाली मात्र नभएर सुदूरपश्मिचकै संभावना भएकी नेतृ थिइन् । पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुदै नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीति समेत गरेकी चौधरी एक पटक संसदीय चुनावमा पराजित हुना साथ अमेरिका आएकी हुन् ।
कांग्रेसको गत महाधिवेशनमा प्रारम्भिक चरणमा सभापति पदमा प्रतिस्पर्धा गरेका कल्याण गुरुङसँग बिवाह बन्धनमा बाधिएकी चौधरीको सिफारिस फेसबुकको स्टाटसमा मात्र सिमित नहोला भन्न सकिदैन ।