एक दिनको सुचनाको भरमा सात बर्ष पछि हुने भयो जनसम्पर्क समिति अमेरिकाको अधिवेशन
अमेरिका । अन्तत नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुने भएको छ । सन् २०१४ मा तीन बर्षको कार्यकालका लागि निर्वाचित आनन्द बिष्टले २४ घण्टा भन्दा कमको सुचना दिएर डिसेम्वर ५ तारिका लागि अधिवेशन आह्वान गरेका छन् ।
बिष्टद्वारा शनिवार जारी सुचनामा जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आइतवार न्यूयोर्क समय अनुसार बिहान बजे हुने जनाइएको छ । अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका बिष्टको सुचनामा महामन्त्री शशांक कोइराला विशिष्ठ अतिथि हुने जनाइएको छ ।
अधिवेशन भर्चुअल मार्फत हुने जनाइएको छ । अमेरिकाबाट २४ सय ६१ जनाले क्रियाशिल सदस्यता पाएका छन् । तर अधिवेशनका लागि जुम प्रविधिमा पाँच सय क्षमताको हुने जनाइएको छ ।
अमेरिकाबाट १४ जना महाधिवेशन प्रतिनिधि छनौट हुने छन् ।
आनन्द बिष्टद्वारा जारी सुचना
नेपाली जनसम्पर्क समिति,अमेरिकाका आम सदस्य एवं शुभेच्छुक साथीहरु,
जय नेपाल।
मातृपार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छौं हामी यतिबेला। महाधिवेशनमा प्रतिनिधित्वका लागि पार्टीले केन्द्रीय प्रतिनिधि तोकी भोली डिसेम्वर ५ तारिख आइतवार नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन सम्पन्न गर्नका लागि परिपत्र जारी भएको छ।
अत्यन्त छोटो र अन्तिम घडीमा हामी तपाईंहरुलाई अधिवेशनमा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं। नेपाली कांग्रेसको विभिन्न तह र निकायमा रही काम गर्दै हाल अमेरिकामा रहनु भएका सबै जिम्मेवार साथीहरु, नेपाली जनसम्पर्क समिति,अमेरिका स्थापनाकालदेखि हालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएका अग्रज साथीहरु,पूर्व महाधिवेशन र महासमिति सदस्यहरु,जनसम्पर्क समिति अमेरिका केन्द्रीय समिति र च्याप्टर समिति अनि क्रियाशील सदस्य साथीहरुसहित सबै तहका सदस्य मित्रजन एवं अमेरिकास्थित आम कांग्रेस शुभेच्छुक र शुभचिन्तक अग्रज एवं सदस्य साथीहरुलाई नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउबाज्यूको प्रमूख आतिथ्यमा हुने भोलीको अधिवेशन उद्घाटन समारोहमा सहभागिताका लागि नेपाली जनसम्पर्क समिति,अमेरिकाको तर्फबाट हार्दिक आमन्त्रण गर्दछु।
मिति: डिसेम्बर ५, २०२१ आइतबार
समय: बिहान ९:०० बजेदेखि (न्यूयोर्कको स्थानीय समय)
साँझ ७:४५ बजेदेखि (नेपालको समय)
जयनेपाल
आनन्द विष्ट
सभापति, नेपाली जनसम्पर्क समिति
एवं आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस