‘अमेरिकी पासपोर्ट लुकाएर कांग्रेस महाधिवेशनमा भाग लिन पाइदैन’
अमेरिका । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अमेरिकाबाट सहभागि प्रतिनिधिको विषयलाई लिएर पार्टी मुख्यालयमा उजुरी परेको छ । पार्टीको विधान विपरित र अवैधानीक प्रक्रियाद्वारा प्रतिनिधि छानिएको भन्दै छुट्टा छुट्टै व्यक्तिले मौखिक र लिखित उजुरी दिएको बताएका छन् । पार्टीले आफ्नो उजुरीलाई गम्भिर्यता साथ नलिए अदालत जाने चेतावानी पनि उनीहरुले दिएका छन् ।
लामो समय देखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ज्ञानल थापाले पार्टीको केन्द्रीय निर्वाचन समिति समक्ष लिखित उजुरी दर्ता गरेका छन् । उनले विधि र प्रक्रिया नपुर्याइ जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले तानशाही अलोकतान्त्रिक र स्वेच्छरी ढंगमा अवैधानिक रुपमा अधिवेशन गरिएको आरोप लगाएका छन् । यस्तै थापाले च्याप्टर र केन्द्रीय समितिको निर्वाचन नै नगरि प्रतिनिध छनौट गरिएकाले त्यसलाई खारेज गर्न माग गरेका छन् ।
समाज टाइम्स सँग कुरा गर्दै थापाले आफूले केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे सहितको टिम सँग कुरा गरेको र आफ्नो उजुरी अनुसार माग पुरा नभए कानुनी प्रक्रियामा जाने बताए ।
जपाफमा निर्वाचन समितिका संयोजक घिमिरेले अमेरिकाको लिष्ट आफुहरु समक्ष आइ नसकेको भन्दै उजुरीका सम्वन्धमा छनविन गर्ने आश्वाशन दिएको बताए । थापाले निर्वाचन समितिले आफ्नो उजुरीमा चासो नदिए कानुनी उपाचारका लागि अदालत जाने बारे परामर्श भइरहेको बताए । ‘वेलायत र जर्मनमा पनि समस्या देखिएको रहेछ, साथीहरु सम्पर्कमा छन् हामी सल्लाह गर्दै छौ कानुनी उपचारका लागि के कसरी जाने भनेर । ‘पार्टीलाई असर नपर्ने गरी हामी कानुनी प्रक्रियाको तयारीमा छौं ।’ थापाले भने ।
यस्तै गिरिजा प्रसाद फाउण्डेशन अमेरिकाका उपाध्यक्ष शुवर्ण लामाले बुधवार नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई भेटगरि मौखिक उजुरी दिएको बताएका छन् । लामाले आफ्नो उजुरीलाई महामन्त्रीले गभ्मिर रुपमा लिएको र गलत तरिकाबाट भएको अधिवेशनलाई मान्नयता नदिने आश्वाशन दिएको बताए । ‘महामन्त्री खड्का सहित, गोविन्द भट्टराई र एनपी सावत सँग पनि कुरा गरे उहाँहरुले नियम विपरित कुनै पनि काम हुन दिदैनौ भन्नु भएको छ । यदी उहाँहरुले कार्यन्वयन गर्नु भएन भने अदालत जान्छु ।’
‘अमेरिकामा संगठन ठेकेदारलाई बुझाइएको छ । क्रियाशिल सदस्यको शुल्क सदस्य स्वयमले तिरेका हैनन तर पार्टी कोषमा पैसा जम्मा भएको छ । त्यो पैसा कहाँबाट आयो ? जसले पैसा लगानी गर्न सक्यो त्यो महाधिवेशन प्रतिनिधि भएको छ ।’ यी सबै कुरा मैले नेताहरुलाई अवगत गराएको छु ।
अमेरिकाको नागरिकता लिएका, अमेरिकामा राजनीतिक शरण लिएर भारतको बाटो हुदै आएकाहरु पनि महाधिवेशन प्रतिनिधि भएको दावी गर्दै उपाध्यक्ष लामाले पार्टी गम्भिर नभए न्यायलय जाने बताए । ‘विदेशको नागरिकता लिएको मान्छेले कांग्रेसको महाधिवेशनमा कसरी भोट दिन पाउछ ? लामाको प्रश्न छ ।
नेपालको संविधान अनुसार विदेशको नागरिकता लिएको नेपालीले नेपालमा राजनीतिक अधिकार पाउदैन । विदेशको नागरिकता लिएको व्यक्ति महाधिवेशनमा सहभागि भएमा पार्टीलाई कानुनी संकट पर्न सक्छ ।
नेपाली कांग्रेसले जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधहरुले नेपाली पासपोर्टमा यात्रा गरेको अनिवार्य देखाउन पर्ने नियम बनाएको छ । विदेशमा बसेका तर जिल्ला वा निर्वाचन क्षेत्रबाट महाधिवशेन प्रतिनिधि बनेकाहरुका लागि भने पासपोर्ट देखाउनु पर्ने अनिवार्यता गरेको छैन ।
‘विदेशमा बस्ने एक दर्जन भन्दा बढी व्यक्ति अहिले आफ्नो निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिध भएर आएका छन् । ति मध्ये केहीले विदेशमा लिएको नागरिकता र पासपोर्ट लुकाएर महाधिवेशन प्रतिनिध बनेका छन् तिनका बारेमा पनि छानविन हुनु पर्छ भनेका छौं ।’ लामाले भने । उनले अगाडि थपे ‘अमेरिकी पासपोर्ट लुकाएर कांग्रेस महाधिवेशनमा भाग लिन पाइदैन हामी विरोध गर्छौं ।’