ओपेरालाई नचिन्दा : कमल खनाल
अस्ट्रेलियाको सिड्नी आएको यो तेस्रो पटक भएछ मेरो । पहिलो पटक आउँदा आँखाको रमाइलोलाई मात्र घुमिएछ। दोस्रो पटक आउँदा मनोरञ्जन मात्र गरिएछ,फेरि चढिएछ,फोटो खिचिएछ,म्युजियम घुमिएछ,हार्बर ब्रिजको माथि चढिएछ , बोन्डाइ बिच ,मेन्ली बिचको चर्को घाम र समुद्रको चिसो हावालाई तातो बालुवामा सुतेर समन्वय गरिरहेका नागा नागिनीहरूको प्रणयलाई पनि आनन्द लिएर हेरिएछ । तर केही पनि थाहा भएन । केवल मैले सिड्नी सहरमा डुलेर आँखालाई मात्र रमाइलो दिइरहेको रहेछु । मुभेवल रेस्टुरेन्टमा गएर कफी पिउँदै कत्ति पनि दुख नगरीकन बसेरै सिड्नी सहरको पुरै भाग हेरिएको थिए । आँखा रमाए, मनले आनन्द लियो। दिमागमा कुनै सोच र चिन्तालाई बस्न नदिईकनै सिड्नी सहरको आश्वादन गरिरहेको रहेछु। बल्ल थाहा पाउँदै छु।
धेरै साथीभाइहरूसँग भेटघाट गरियो। त्यति बेला आउँदा मेरो खानपानको स्वाद तामसी थियो। त्यसले रमाइलो दिन्थ्यो। उच्छृङ्खल उमेर थियो। राम्रा नराम्रा काममा सहभागी भइन्थ्यो। नियमलाई पालना गरेर उपयोग गर्दै हिँडियो। म्याकडोनल र के एफ सीको स्वाद जिब्रोमा बसिरह्यो। कोकोकोला र फन्टा पानीको स्रोत बनेको थियो। जो कोहीले गर्ने स्वागतलाई स्विकार्दै हिँडियो। देश फर्कँदा शरीरको वजन बढेको थियो। चिन्ता कतै थिएन र केही थिएन। न जानकारी थियो। सबैकुरालाई उमेरले पेलेर हिँडियो। जहाँ पुग्नु थियो त्यही पुगियो, जे गर्नु थियो त्यही गरियो। त्यति बेलाको विदेश भ्रमणले दिने कुरा पनि त्यही थियो।
ओपेरा हाउस ,ब्लूमाउन्टेन,बोन्डाइ बिच र मेन्ली बीचका पुराना तस्बिरहरू सुरक्षित रहेछन्। क्यानबेराको पार्लियामेन्ट हाउस, वार म्युजियम , टेलेष्ट्रा टावर ,हनटर भ्याली र जेम्बोरू पुगेर रमाउँदै फोटो खिचिएको रहेछ। सबै हेरे सम्झे।
तेस्रो पटक अस्ट्रेलिया पुग्दा मेरो खानपानमा परिवर्तन आएको थियो। सात्त्विक भोजन प्रतिको आकर्षणले मलाइ अप्ठेरो पनि पारेको थियो। तर पनि मेरो तेस्रो पटकको अस्ट्रेलिया भ्रमणले मलाइ धेरै कुरा सिकायो। देखेका कुराहरू लेख्न मन लाग्यो । भोगेका कुराहरूलाई व्याख्या गर्न मन लाग्यो। अनि शब्द चित्रमा उतार मन लाग्यो। यस पटकको घुमाइले मलाइ मानसिक र शारीरिक दुवै थकान दियो। पहिलेको जस्तो खानपानको लोभ थिएन म सँग। यस पटक मेरो खानपानमा परिवर्तन आएको थियो। उमेरमा परिवर्तन आएको थियो।
। धेरै साथीहरू समय दिन नसक्ने भएछन्।सबै व्यवहारिक माखेसाङ्गलो बाँधिएछन्। भेट्दा हिजो पाइने उत्तेजना पुरै शिथिल भएर बिस्तारै हाँसेर र आवश्यक हाँसोमा मात्र सीमित भएछन्। आफ्नो प्रतिक्रियात्मक शैलीलाई परिवर्तन गरेछन्। प्रगतिका बारेमा जानकारी गराउने भएछन्। हिजो रातिमा उठाएर जाऊँ भन्नेहरू आज बिदाको दिनमा घाँस काट्नु छ। केटाकेटीहरूलाई पार्क तिर घुमाउन लानु छ। हप्ता दिनका लागि ग्रोसरी गर्नु छ। समस्यै समस्या देखाएर एक कप कफीमा नै उम्किने भएछन्। समयले धेरै कोल्टो फेरि सकेछ। सबै नै जीवन जिउने कलामा अभ्यस्त भएको पाए। जाडो र गर्मीको मौसमको जोहो गर्न पनि समय छुट्टाउनु पर्ने भएछ ।
समयले पनि उनीहरूलाई ठिँगुरी खेलाएको रहेछ। सहरले पनि आफूलाई व्यस्त बनाउँदै लगेको देखे। हिजोको कनिष्ठ सहर आज जेठो बनिसकेछ। मानिसको रोजाइको सहर बनेछ। उनीहरूको सहरले कसैलाई पनि फुर्सद नदिने भएछ। यस्तो शैलीमा जिउनेहरूको जीवन प्रति म साक्षात् भए। जीवन जिउने शैलीलाई परिवर्तन गरेर आफूलाई अभ्यस्त बनाएका रहेछन्। समयलाई भरपुर उपयोगको नीति अख्तियार गरेका रहेछन्। मलाइ नराम्रो लागेन। बरु उनीहरूले मलाइ केही नदिए पनि समय दिए। त्यही समयको बिसत आनन्द लिएर मैले मेरा अनुभव र अनुभूतिलाई छर्न पाए।
सिड्नी हार्बरलाई छोडेर गयो क्रुज
ब्रिसवेन त मेरो तेस्रो पटकको पहिलो घुमाइ थियो। त्यति बेला पनि सन्साइन कोष्ठ र गोल्ड कोष्ठको नाम सुनेर फर्किएको थिए। यस पटक समय खर्चेरै पुगेको थिए। ह्यारिगंटन र न्यूक्यासललाइ नजिकै पुगेर नियाले। ब्लुमाउन्टेनलाइ मौसमसँग जुध्दै ओल्टो कोल्टो गरेर हेरे। फेरी ,फेरि पनि चढियो। छिटो कुद्ने र ढिलो कुद्ने दुवै फेरि चढेर पानी माथिको यात्रा अनुभव पनि मज्जाले लिइयो। हार्बरब्रीजबाट मेन्ली बीचमा पुग्यौ केही समय अराजक दृश्यहरू हेर्यौ,घुम्यौ र फर्कियौ।
यस पटक हार्बर ब्रिज नजिकै क्रुज आएर बसेको रहेछ। पानी माथि कुद्ने त्यत्रो भीमकाय क्रुजलाई देख्दा मानिसले गर्न नसक्ने के छ जस्तो लाग्यो। मानिसलाई जलसेवा दिने क्रुजले हजारौँ मानिसलाई लिएर हिँड्यो। १३ डेकको कारनिभल क्रुज ३६४६ प्यासेन्जर क्षमता भएको १००४ फिट लामो कारनिभल भित्र क्यासिनो ,कमेडी क्लब, डान्स क्लब, रेस्टुरेन्ट एन्ड बार, स्वीमिङ्ग पुल का सुविधा सहितको कारनिभल हिँड्यो त्यहाँबाट। गन्तव्य कहाँ हो थाहा भएन। हार्बर ब्रिज र प्यासिफिक ओसनलाई जोड्ने नाकाबाट बाहिर निस्क्यो र प्यासिफिक ओसनको अपार जलमाथि कुँदी रह्यो। क्रुज भित्र बसेर प्राप्त गर्न खोजेको आनन्द लिँदालिँदै कोशौको यात्रा पार गरिसके होलान् यात्रीहरूले पनि ,हेर्दा हेर्दै क्रुजको आकार पनि बिलायो। धेरै टाढा क्षितिजमा पुग्यो सबैलाई नियाँस्रो बनाएर गयो। उसले ओगटेको भागमा अहिले पानी टल्किरहेको छ, हल्लिरहेको छ। बिस्तारै पुरै हार्बर ब्रिजलाई रित्तो बनाएर गयो। पूर्व तिर लाग्यो। प्यासिफिक ओसनमाथि रमाउँदै गयो। अब कहिले फर्कन्छ थाहा छैन। पानी माथि खेल्दै खेल्दै गयो ,नदेखिने गरी गयो।मेरा आँखालाई दुःख दिएर गयो।ओपेरा हाउस र हार्बर ब्रिजलाई त्यही छोडेर गयो। फेरि फर्कने सम्झौता गरेर।
बोटानिकल गार्डेनका फूलहरू
त्यस पछि मैले मेरा आँखालाई अन्तै मोड्या।केही समयका लागि बोटानिकल गार्डेन तिर लागे। बोटानिकल गार्डेनको सुन्दरतामा दुई घण्टा बिताएछु। मौसम धुम्म थियो। कति वेला पानी पर्छ जस्तो मौसम थियो। मानिसहरू बोटानिकल गार्डेन भित्र भमरा सरी थिए। विभिन्न जात जातका फुलहरूसँग रमाइ रहेका थिए। भमरा र मौरीहरूको भूं भूं गरेको मन्द र मसिनो आवाजले मानिसलाई तनमय बनाइ रहेको थियो। म त्यही थिए। त्यस्तै परिवेशले रन्थनाइ रहेको थियो मलाइ पनि ।
बोटानिकल गार्डेनबाट निस्कन असजिलो भइरहेको थियो। फूलको आकर्षणले तानिरहेको थियो। फुलसँगको सम्बन्ध विच्छेद गर्न त्यति सजिलो थिएन। युवायुवतीको प्रगाढ प्रेमको सम्बन्ध जस्तै थियो, फूल सँग मेरो सम्बन्ध पनि। फूलको वैश नओइलाइन्जेल छोड्न मन लागेको थिएन। ती फुलहरूलाई कहिल्यै नभुल्ने गरी सँगै बसेर फोटो खिचे। मनलाई छुट्टाएर त्यहाँ बाट निस्किए। फुलसँगको अपार प्यारसँग छुट्टिँदा मन धमिलो भइरहेको थियो।
ओपेरा हाउस
म मा अर्को उत्सुकता बाँकी नै थियो।ओपेरा हाउस हेर्ने त्यतै तिर लागे। आज तेस्रो पटक ओपेरा हाउसलाई भेटिरहेको छु, पहिले भेट्दा सामान्य लाग्ने ओपेरा हाउस यस पटक देख्दा असामान्य लाग्यो। सुन्दर किन्नरी जस्तै लाग्यो। सबैलाई खेलाएको छ। नचाएको छ। घुमाएको छ। विभिन्न आकार दिएर जस लाई जस्तो मन पर्छ त्यही आस्वादन दिन सक्ने आकर्षण थियो। त्यसको आकृतिले मनलाई असहज बनाएको थियो। पानी माथि स्याखूको आकारमा बनाइएको एउटा घर जस्तै। जसलाई हेर्न हजारौँ मानिस पुगेका हुन्छन्। मैले पनि ओपेरा हाउसलाई तेस्रो पटक हेरे, अर्कै आँखाले हेरे। तर न मेरा आँखा फरक थिए न ओपेरा हाउस फरक थियो। फरक थियो केवल मेरो समय,सोच र हेराइ मात्र।
ओपेरा एउटा नाटक घर हो। बाहिर बाट हेर्नेहरूलाई पनि नाटक जस्तै लाग्छ। भित्र त नाटक नै आयोजना गरिएको हुन्छ। हरेक उत्सवमा यसले मानिसहरूको मन जितिरहेको हुन्छ। यो बिसौँ शताब्दीको एउटा नयाँ प्रसिद्ध आर्किटेक हो आर्किटेक्ट दुनियाँमा नयाँपन हो।जुन अत्यन्तै असाधारण इन्जिनियरको उपलब्धि हो ओपेरा को डिजाइन। सर्वथा नयाँ आर्किटेक डिजाइन हो। यो संसारमा नै नभएको प्रसिद्ध डिजाइनबाट बनेको बिल्डिङ हो। यसमा विभिन्न किसिमका म्युजिक पर्फरमेन्स हुने गर्छन्। ड्रामा सो गरिन्छ। बहूआयमिक परफर्मेन्सका लागि सुविधा सम्पन्न कन्सर्ट हल हो। ओपेराले हरेक नयाँवर्षलाई स्वागत गरिरहेको हुन्छ। हरेक वर्ष दश लाख मानिसलाई स्वागत गरिरहेको हुन्छ। सातौँ आश्चर्य भन्दा बाहिर पर्ने ओपेरा हाउस यूनेस्कोको मापदण्ड भित्र पर्ने हेरिटेज रहेछ।
संसारकै अविस्मरणीय ल्याण्डमार्कका रूपमा चिनिने सिड्नी ओपेरा हाउस निर्माणका लागि संसार भरका आर्किटेक इन्जिनियरसँग डिजाइन माग गरिएकोमा प्रतिस्पर्धामा सहभागी दुई सय तेत्तिस डिजाइन मध्येबाट डेनिस आर्किटेक्ट जोर्न उत्जोन (jorn utzon) को डिजाइन छनौट हुन सफल भयो १९५९ मा। जुन डिजाइनले अस्ट्रेलियालाई एउटा सिम्बोल दियो जसलाई संसारले सम्मान गर्यो। त्यति मात्र होइन। देसलाई छुट्टै चिनारी दियो। ओपेरा हाउस अस्ट्रेलियाको ल्याण्डमार्क बन्यो।
डेनिस आर्किटेक्ट जोर्न उत्जोनले भनेका छन् मैले यो डिजाइन प्रकृतिबाट उत्प्रेरित भएर गरेको हुँ। विशेष गरी चराहरू, बादल, वालनट(अखरोट) र रूखहरूको प्रभाव आफूलाई परेको बताएका छन्। जब उनको डिजाइनले संसारका अदभूत आर्किटेक्टहरूको डिजाइनलाई पछि पार्दै १९५९ उनले विजय प्राप्त गरेपछि २ मार्च १९५९ मा निर्माण प्रारम्भ गरिएको थियो।ओपेरा हाउसमा दश हजार कामदारहरूको प्रयोग भएको थियो। निर्माण सम्पन्न हुन विविध कारणले १४ वर्ष लागेको थियो भने १०.२ मिलियन डलर खर्च भएको ओपेरा हाउसको उद्घाटन २० अक्टोबर १९७३ मा बेलायतकी महारानी एलिजाबेथ द्धितियबाट भएको थियो।
हिँडियो त्यहाँबाट, चढियो रेल
दिन भरिको थकानले शिथिल बनाएको थियो। सिड्नी शहरको मुटुमा रहेको एउटा रिपुटेड एडुकेशन कन्सल्टेन्सी एम जी एसोसिएटले चिया र नास्ताको लागि निमन्त्रणा गरेको थियो। त्यहाँ पुगियो घण्टौँ घण्टाको थकाइलाई त्यही विश्राम दिने काम भयो। समयले कत्ति पनि पर्खेन। बिस्तारै उज्यालो हराउँदै थियो। शहरमा जुनकिरी झैँ पिल पिल गरी बत्तीहरू निस्कँदै थिए। बिस्तारै शहरले काँचुली फेर्यो। घाम डुब्यो। बत्तीको उज्यालोले शहरलाइ अरू उत्तेजित बनायो।
एक पटक पुन शहरको रमाइलो हेर्न र लिन मन लाग्यो र हार्बर बीज तिर लाग्यौ। त्यसै दिन अस्ट्रेलियन डे परेको रहेछ। हार्बर ब्रिज नजिक ओपेरा हाउसको छेउमा बडो रमाइलो म्युजिक कार्यक्रम रहेछ। अस्ट्रेलियन डे ब्रिटिसको कोलोनाइजबाट मुक्ति पाएको सम्झनामा रमाइलो गरी मनाइने रहेछ। हामी हार्बर ब्रिज पुग्यौ।ओपेरा हाउसलाई हेर्यौ। ओपेरा हाउसले त आफूलाई रङ्गिन बनाइ सकेको रहेछ। सबैको आकर्षणको केन्द्र बनिसकेको रहेछ। जीवनले प्राप्त गर्न चाहेको र खोजेको आनन्द त्यही पनि पाइँदो रहेछ। ओपेरा हाउसले त्यो आनन्द दिई रहेको थियो। त्यसको आश्वादन हामीले पनि लिने काम गर्यौ । समयले हामीलाई त्यही बसिरहने अनुमति दिएन। हिँडियो त्यहाँबाट, चढियो रेल।
र यो पनि..